
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले देशमा भएको आम चुनावलाई छल र कपटको चुनाव भनेकी छन् । शेख हसिनाको पार्टी अवामी लिगले सामाजिक सञ्जालमा लामो विज्ञप्ति जारी गरेको छ ।
विज्ञप्ति अनुसार शेख हसिनाले चुनावको बारेमा भनिन्,‘मतदान केन्द्रहरूमा मतदाता थिएनन्, तैपनि मतगणनामा मत थिए ।’
उनले फेब्रुअरी १२ मा देशले पूर्वनियोजित, धाँधलीपूर्ण र कपटी चुनावको साक्षी बनाएका बताइन् । यो चुनाव बंगलादेशको लोकतान्त्रिक इतिहासमा लज्जास्पद अध्यायको रूपमा रेकर्ड भएको उनले बताइन् ।
शेख हसिनाले चुनावी तथ्याङ्कमाथि प्रश्न उठाउँदै गम्भीर अनियमितता भएको आरोप लगाएकी थिइन् । उनले धेरै तथ्याङ्क असंगत र गलत देखिएको बताइन् ।
उनले भनिन्,‘बिहानको समयमा मतदान दर सामान्यतया सबैभन्दा छिटो हुन्छ, विशेष गरी ११ बजे अघि । तैपनि, त्यस समयमा केवल १४.९६५ मतदान रेकर्ड गरिएको थियो र दिउँसोसम्म यो अचानक बढेर ३२.८८ प्रतिशत पुग्यो । एक घण्टामा यो उछाल असामान्य छ ।’
उनले निर्वाचन आयोगले रिपोर्ट गरेको कुल मत संख्या देशभरको वास्तविकतासँग मेल नखाने बताइन् । खाली मतदान केन्द्र, निष्क्रिय बुथ र मतदाताको अनुपस्थिति देखिएको पनि बताइन् ।
पूर्वप्रधानमन्त्री शेख हसिनाले जनमत संग्रह प्रक्रिया र यसको नतिजा जारी गर्न ढिलाइमाथि पनि प्रश्न उठाइन् ।