२४ जेठ २०८३, आइतबार

कांग्रेसको नेतृत्वमा सरकार बन्छ, जेनजीका माग पूरा गर्छ- देव प्रसाद तिमल्सिना [भिडियो]

जेनजी आन्दोलनपछि रूपान्तरित भएर आएको कांग्रेस नै सबैभन्दा नयाँ दल हो
फागुन २, २०८२
रौतहट
कांग्रेसको नेतृत्वमा सरकार बन्छ, जेनजीका माग पूरा गर्छ- देव प्रसाद तिमल्सिना [भिडियो]

रौतहट क्षेत्र नम्बर ४ मा तेस्रो जितको खोजी गर्दै नेपाली कांग्रेसका देव प्रसाद तिमल्सिना चुनावी मैदानमा छन् । दुई पटक यहाँबाट जनप्रतिनिधि बनिसकेका तिमल्सिना २१ फागुनमा हुने निर्वाचनबाट समेत जित निकालेर संसद् छिर्ने तयारी गरिरहेका छन् । यसका लागि उनी अहिले घरदैलो कार्यक्रममा व्यस्त छन् ।

देशका अन्य क्षेत्रजस्तै यहाँ पनि मतदाताहरूले मत परिवर्तन गर्नुपर्छ भनिरहेका छन् । तर उनी यसलाई गम्भीर भन्दा पनि सामान्य विषयमा रूपमा लिन्छन् । उसो भए तेस्रोपटक संसद् छिर्ने उनको रणनीति के छ ? प्रस्तुत छ लोकान्तरले गरेको कुराकानी :

घरदैलो गर्दै मत मागिरहनुभएको छ । कस्तो छ अवस्था ?

घरदैलो गरिरहँदा जनताले मलाई ०८४ मा हुने चुनाव ०८२ मा किन भयो भनेर सोधिरहेका छन् । पाँच वर्षका लागि भोट दिएका थियौं के को कमीले यस्तो भयो भन्ने मतदाताको कुरा छ । देशको परिस्थिति, हाम्रो पनि कमिकमजोरी थियो होला त्यसकारणले तपाईंहरूकोमा फेरि भोट माग्न आएको छु, तपाईंहरूले पाँच वर्षकै लागि दिनुभएको हो भनेर भनिरहेको छु । पाँच वर्षको म्यान्डेट दिँदादिँदै तीन वर्ष नपुग्दै संसद् विघटन भयो त्यसकारण पुन: तपाईंहरूको घरदैलोमा आएको छु, यसभन्दा अघि पनि निर्वाचित थिएँ, तपाईंहरूको घरदैलोसँग जोडिएको पनि छु, विकास निर्माण, पूर्वाधारमा पनि काम धेरै गरेको थिएँ, केही काम गर्न बाँकी छ, त्यसका लागि मैले उम्मेदवारी दिएको हुँ भनिरहेको छु । 

स्वास्थ्यमा आमूल परिवर्तन गर्नुछ । यहाँ सुविधा सम्पन्न अस्पताल वा मेडिकल कलेज बनाउनुछ । शिक्षामा आमूल परिवर्तन गर्नुछ । खानेपानीमा आरसनिक पानीका कारण मानिसहरूलाई रोग लागेर मर्न बाध्य छन् र केही ठाउँमा समाधान भयो केही ठाउँमा गर्न बाँकी छ । किसानका समस्या छन् । मलखाद नपाउने, अनुदान पनि सुकिला मुकिलाले पाउने अवस्था छ । यसलाई पनि अन्त्य गरेर किसानको हकहित अधिकार स्थापित गर्नु छ ।

जनता भनेको मालिक हो, म भनेको नोकर हो । यो कुरा मैले जनतालाई बुझाइरहेको छु । त्यसकारण मलाई मत दिएर विजयी गराउनुहुन्छ भनेर म आशावादी छु । 

null

पछिल्लो समय परिवर्तनका लागि मत, नयाँ दलप्रति मत भन्ने पनि सुनिन्छ । यसलाई तपाईंले कत्तिको चुनौतीका रूपमा लिनुभएको छ ?

घण्टी भनिरहन्छन् । तर उहाँहरूसँग ग्रासरुटमा संगठन छैन । आम मतदाता चाहिँ उहाँहरूको पक्षमा छैनन् । रवि भन्ने देखिसक्नुभयो कस्तो नेता हुनुहुँदो रहेछ भनेर । अहिले बालेन पनि कस्तो रहेछ भन्ने देखेकै छ । त्यसैले अलिअलि ह्वीम चलेको छ तर, त्यसले कूनै अप्ठ्यारो पार्दैन । उहाँहरूले विस्तारै संगठन बनाउनुहोला तर अहिले कुनै समस्या छैन ।

पुराना दलप्रति वितृष्णा देखिन्छ । अब नयाँ दललाई हेरौं भन्ने मनोविज्ञान मतदातामा हाबी जस्तो देखिन्छ । यसलाई कसरी चिर्नुहुन्छ ?

नयाँ दल, नयाँ दल भनेको छ । तर भदौ २३ र २४ को जेनजी विद्रोहपश्चात् नयाँ दल भनेको विशेष महाधिवेशनबाट बनेको दल नेपाली कांग्रेस नै हो । २०१४ सालमा विशेष महाधिवेशन भएको थियो । त्यसबेला जननायक बीपी कोइराला सभापति बन्नुभएको थियो । २०१५ सालमा निर्वाचन भयो दुई तिहाइ बहुमत आयो । 

अहिले हामीले २०८२ सालमा विशेष महाधिवेशन गरेर श्रद्धेय नेता गगन थापालाई सभापति बनाएका छौं । नयाँ दल हाम्रो हो । हाम्रो दलका सभापतिलाई भावी प्रधानमन्त्रीको रूपमा प्रस्तुत गरेका छौं । विज्ञदेखि लिएर देशका आम जनताले गगन थापालाई भावी प्रधानमन्त्रीका रूपमा हेरेका छन् । देशले गगन थापाकै नेतृत्वमा आमूल परिवर्तन गर्छ भन्ने विश्वास भइसकेको छ । पुरानो दल होइन नयाँ दल हाम्रो भएकाले सम्पूर्ण नेपाली जनताले हामीलाई बहुमत दिएर कांग्रेसको नेतृत्वमा सरकार बन्छ र जेनजीको माग पनि कांग्रेसले पूरा गर्छ । हामीले ७८ प्रतिशत नयाँ पुस्तालाई टिकट दिएका छौं ।

कांग्रेस बदलिएको मान्न सकिन्छ र अहिले ?

कांग्रेस धेरै बदलिएको छ नि ! किन बदलिएको छैन ? कांग्रेसको नेतृत्व बदलिएको छ, कांग्रेस सुध्रिएको छ । कांग्रेसले विचार परिवर्तन गरेको छ । कांग्रेस नसुध्रिएको भए जनलहर हेर्नुहोस् देशभरि नै ।

क्रेज बालेनको पनि छ नि ? तपाईंकै जिल्लामा पनि उस्तै छ...

बालेन हिँडेको देखेको छु । तपाईंले पनि देख्नुभएकै होला, को थियो त्यहाँ कसले अघि बढाइरहेको छ भनेर । गगनजी आउँदा पनि हेर्नुभएकै होला । गगनजी र बालेनजीलाई तुलना गरेर हेर्नुहोस् । विज्ञहरूले गरेको तुलना हेरेकै छौं नि ! गगन आउँदा कति भिड थियो, जनमानस कति थियो, बालेन आउँदा कति थियो ? हेर्नुहोस्, तुलना गर्नुहोस् । लेखाजोखा थाहा भइहाल्छ नि ! तस्वीर आफैं बोल्छ ।

तपाईं निर्वतमान सांसद पनि हो । पटक-पटक जितेर समेत काम गर्नुभएन भन्ने आरोप छ नि ?

मैले गर्न सक्ने धेरै काम गरेको छु । म सरकारमा कहिल्यै पनि गइनँ । २०७४ मा जित्दा कांग्रेसले २३ सिट जितेको थियो, बहुमत एमालेको थियो । त्यसबेला आफ्ना कुरा, जनताको कुरा राखेको हो सदनमा । हामीले काम गर्ने भन्दा पनि कानून बनाउने, यो जिल्ला क्षेत्रको जनताको समस्याबारे सदनमा कुरा राख्ने हो ।

null

झापामा भ्यूटावर बनाउँदै गर्दा त्यहाँ नबनाउन सभामुखज्यूलाई सम्बोधन गरेर भनेको थिएँ । रौतहटमा मेडिकल कलेज बनाइदिनुहोस् भनेर भनेको थिएँ । सबैभन्दा पछाडि परेको जिल्ला छ भन्दा पनि सुनुवाइ भएन । मैले प्रस्ताव राखेको थिएँ ।  अन्तर्राष्ट्रिय विमानस्थल पोखरा र भैरहवा ब्रेक डाउन गरेर निजगढमा बनाउन भनेको थिएँ । फास्ट ट्रयाक बनाऔं देशले कायापलट गर्छ भन्दा सुनुवाइ भएन । अनुत्पादक क्षेत्रमा लगानी गरेबापत भदौ २३ र २४ गतेको जेनजी आन्दोलन भयो ।

पछिल्लो सरकारमा त तपाईंहरूको पार्टी पनि सहभागी थियो...

जसको नेतृत्व हुनुपर्ने थियो, जसरी सरकार सञ्चालन हुनुपर्ने थियो त्यो भएन । सन्तुलित विकास नभएका कारणले त्यो आन्दोलन भएको हो । अब त्यो हुँदैन । देशले कायापलट गर्छ । विदेशमा भएका युवालाई नेपालमै ल्याउनेगरी रोजगारी सिर्जना गर्छौं । हाम्रो श्रद्धेय सभापतिको पृष्ठभूमि हेर्नुहोस् र अरूको हेर्नुहोस् कि कहाँबाट आउनुभएको छ ।

जसरी रास्वपाले बालेनको नाममा भोट मागेको छ, त्यसरी नै तपाईंहरूले पनि गगनको नाममा भोट मागिरहनुभएको छ, हैन ?

गगन थापालाई हामीले भावी प्रधानमन्त्री बनाउन भोट मागिरहेका छौं ।

किसुनजीपश्चात् गगनजीलाई प्रधानमन्त्री घोषणा गरियो । कस्तो पाउनुभएको छ जनताको प्रतिक्रिया ?

हामी बहुमतमा आउँछौं । सय पार हुन्छ, गगन थापा प्रधानमन्त्री बन्नुहुन्छ । जनता गगन थापाको नेतृत्वमा सरकार बनेको हेर्न आतुर छन् । २१ फागुनको निर्वाचनपश्चात् गगन थापा प्रधानमन्त्री बनेको हेर्न जनता आतुर छन् । यहाँ नेपाली जनता मालिक हो, नोकरको रूपमा गगन थापालाई त्यहाँ लैजान उनीहरू आतुर छन् । 

सभापति थापा मधेश झर्नुभएको छ । त्यसको प्रभाव कस्तो परेको छ यहाँ ? 

मधेशमा जति विकास हुनुपर्ने थियो सन्तुलित विकास भएन । मधेश र कर्णाली प्रदेशलाई पहिलो एजेन्डामा लगेर हामी कानून संशोधन गरेर हुन्छ वा केही गरेर पछाडि परेको जिल्लालाई अगाडि कसरी लान सकिन्छ भनेर हामी जान्छौं । संविधान, संघीयताजस्ता सबै मुद्दालाई पार्टीले निर्णय गर्छ । म एक्लै केही भन्न सक्दिनँ । पार्टीको जे निर्णय हुन्छ मेरो निर्णय त्यही हो । मलाई यहाँको जनताले निर्वाचित गरिसकेपश्चात् संसदीय दलमा जुन निर्णय हुन्छ त्यो अक्षरश: पालना गरेर अघि बढ्छु ।

पछिल्लो समय संघीयता विरोधी स्वर बढेको छ । खारेज गर्नुपर्छ भन्छन् नि ?

म यस विषयमा अहिले केही भन्न चाहन्नँ । शासन व्यक्तिको होइन विधिको हुनुपर्छ, जनताको चाहना जे हुन्छ हामी त्यही गर्छौं ।

अहिले कांग्रेस, एमाले, रास्वपा प्रधानमन्त्री घोषणा गरेर चुनावमा होमिएका छन् । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखतर्फ देश अघि बढेको हो ?

बालेनजी काठमाडौंको मेयर हुँदा कता जनताले भेट्न वा देख्न पायो ? आम जनताले देख्न पायो ? त्यसैले यो संसदीय व्यवस्था उत्कृष्ट व्यवस्था हो । प्रधानमन्त्री संसद्प्रति उत्तरदायी भएन भने निरंकुशता आउँछ । विश्वको इतिहास हेर्नुहोस् । यो भन्दा राम्रो व्यवस्था अर्को छैन । दायाँ बायाँ सबैले बुझेका छन् केही मानिसले प्रत्यक्ष निर्वाचित भन्दैमा त्यो हुँदैन ।

null

परिवर्तनको वेग बगेको छ, त्यसको वेगलाई कसरी थाम्नुहुन्छ ?

हामीले सबैभन्दा धेरै युवालाई उम्मेदवार बनाएका छौं । सभापतिज्यूले छाडेको क्षेत्रमा कति वर्षको युवा हुनुहुन्छ हेर्नुहोस् न । ७८ प्रतिशत उम्मेदवार नयाँ दिएका छौं । उहाँहरूले कुरा बुझिसक्नुभएको छ । अन्तिममा सबै कुरा बुझेर मतदान गर्नुहुन्छ । त्यसकारण कांग्रेसलाई मत दिएर विजयी गराउनुहुन्छ भन्नेमा ढुक्क छु ।

आउने संसद् पूरै पाँच वर्ष चल्ने समीकरण बन्ला ?

पाँच वर्ष चलोस् भन्ने हाम्रो शुभकामना हो । आममतादातालाई आग्रह छ कि कांग्रेसलाई बहुमत दिएर हाम्रो सभापतिलाई सरकार चलाउन दिनुहोस् । देशमा के कायापलट हुन्छ, कस्तो अवस्थामा चल्छ प्रमाणित गर्छौं ।

तपाईंको प्रतिस्पर्धा कोसँग देखिरहनुभएको छ ? ऋषि धमला कि अरु कोही  ?

३७ जना उम्मेदवार हुनुहुन्छ । ऋषिजी, घण्टी, तारा, सूर्य सबै दलसँग प्रतिस्पर्धा हो । सानो कसैलाई देखेको छैन ।

जित्नुभयो भने के के गर्नुहुन्छ यहाँका लागि ?

यहाँ एउटा सम्पन्न अस्पताल बनाउन चाहन्छु । प्रत्येक वडामा एक नमूना विद्यालय बनाउने चाहना छ । किसानले समयमा मल-बिउ नपाउने समस्या निराकरण गर्नेछु । स्वच्छ पानी खान पाउने व्यवस्था गर्नेछु । सम्पूर्ण जनतालाई सुरक्षित आवास निर्माण गरेर रोजगार सिर्जना गर्न निरन्तर लाग्छु । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन पहल र फास्ट ट्रयाक छिटो भन्दा छिटो सम्पन्न गराउन पहल गर्ने छु ।

निजगढ विमानस्थल त अदालतले रोकेको होइन र ?

सदनबाट पनि आग्रह गरेको थिएँ, यहाँबाट पनि सम्मानित अदालतलाई आग्रह गर्छु कि निजगढमा विमानस्थल बनाउनुपर्छ । न्यायालयले विवेक पुर्‍याएर निर्णय गर्छ भन्ने लागेको छ ।

 

salt training

कमेन्ट गर्नुहोस्