
सुदूरपश्चिम प्रदेश अन्तर्गत कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको सरगर्मी बढेको छ । अहिले उम्मेदवारहरू मतदाताको घरदैलो पुगेर मत माग्ने काम गरिरहेका छन् ।
बदलिएको परिवेशमा यसपटक पुराना दलका उम्मेदवारमाथि आफ्नै दलका युवा कार्यकर्तालाई फकाउनुपर्ने बाध्यता पनि थपिएको देखिन्छ । निर्वाचनको मिति नजिकिँदै जाँदा कैलालीमा चुनावी चहल–पहल ह्वात्तै बढेको बताउँछन् स्थानीय ।
क्षेत्र नम्बर ४ मा नेकपा एमालेले उपमहासचिव लेखराज भट्टलाई उम्मेदवार बनाएको छ । यसैगरी, नेपाली कांग्रेसले गोरखबहादुर बिष्ट, नेपाली कम्युनिस्ट पार्टी (नकेपा)ले हरिराम चौधरी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले खेमराज कोइरालालाई उम्मेदवार बनाएको छ । दल र स्वतन्त्र गरि १६ जना उम्मेदवार रहेको यो निर्वाचन क्षेत्रमा मुख्य गरी चार दलबीच प्रतिस्पर्धा हुने देखिन्छ ।
२०६४ सालको संविधानसभा र २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा यो निर्वाचन क्षेत्रबाट जित हासिल गरेका भट्ट २०७९ सालको चुनावमा भने नेपाली कांग्रेसका वीरबहादुर बलायरसँग पराजित भएका थिए । योपटक भने उनी जसरी पनि चुनाव जित्ने अभियानमा लागेका छन् ।

भट्ट उठेको क्षेत्रमा गोदावरी नगरपालिकाका १२, गौरीगंगा नगरपालिकाका ११, चुरे गाउँपालिकाका ६ र मोहन्याल गाउँपालिकाको एउटा वडा पर्छन् । कूल एक लाख १५ हजार एक सय ४३ मतदाता रहेको यस क्षेत्रमा कुन उम्मेदवारले जित्छ भन्ने तय गौरीगंगा र गोदावरी नगरपालिकाका मतदाताले गर्ने देखिन्छ ।
गौरीगंगामा मात्रै करिब २५ हजार मतदाता छन् । त्यसमा पनि थारू समुदायका १२ हजार मत निर्णायक हुने देखिन्छ । एमाले उम्मेदवार भट्ट गौरीगंगा र गोदावरीका मतदातालाई फकाउने कोसिसमा छन् । उनी स्थानीयसँग भेटघाटमा व्यस्त छन् । दुई नगरपालिका र दुई गाउँपालिका गरी चारवटा पालिकाका कूल ३० वडामध्ये भट्टले २८ वटामा स्थानीयसँग भेटघाट गरिसकेका छन् ।
विगतमा सांसददेखि मन्त्रीसम्म हुँदा उनले केन्द्रीय सरकारबाट ल्याएका बजेटले केही काम भएका छन् । त्यही काम देखाएर उनले मत माग्दै आएका छन् । सुदूरपश्चिम प्रदेशमा ठूला परियोजनाहरू क्रमशः औद्योगिक ग्राम, ड्राइपोर्ट, खुटिया–दिपायल फास्ट ट्रयाक, सेती लोकमार्ग, सुदूरपश्चिम विश्वविद्यालयको स्तरोन्नति, दशरथ चन्द मेडिकल कलेज र पश्चिम सेती अहिले पनि निर्माणाधीन अवस्थामा छन् ।
यी परियोजना ल्याउने मुख्य श्रेय आफूले पाउनुपर्ने दाबी गर्दै आएका भट्टले मतदातासँग कुनै ठूला वाचा भने गरेका छैनन् । ‘कृषिमा आत्मनिर्भरतासँगै निर्यातमा जोड’ दिने नारासहित भट्ट चुनावमा होमिएका छन् ।

‘सुदूरपश्चिमममा अब अभिभावकत्व ग्रहण गर्ने नेता छैनन्, शेरबहादुर दाइ र रमेश लेखकले टिकट पाएनन् । भीम रावलको पनि के हो के हो । अब संसद्मा कैलाली मात्रै नभएर सुदूरपश्चिमकै आवाज बोल्ने नेता चाहिएको छ । त्यो मैले पूरा गर्नसक्छु,’ भट्टले लोकान्तरसँग भने, ‘यहाँ रोजगारी सिर्जना गर्नसक्ने केही परियोजनाका काम भइरहेका छन् । मैले यो भूगोल पनि राम्ररी बुझेको छु । यहाँका जनताका आवश्यकता पनि बुझेको छु ।’ उनले कैलालीका जनताले पुन: आफूलाई मत दिएर संसद्मा पुर्याउने विश्वास व्यक्त गरे ।
एमाले नेता भट्टसँग प्रतिस्पर्धामा रहेका नेपाली कांग्रेसका नेता गोरखबहादुर बिष्ट पहिलो पटक चुनावमा होमिँदैछन् । लामो समय अमेरिका बसाइँपछि उनी अहिले चुनावी तयारीमा सक्रिय भएका हुन् । उनले पनि सुशासन र विकासको एजेन्डालाई प्रमुख मुद्दा बनाएका छन् ।
२०७९ सालको चुनावमा जितेका बलायरले अन्तिम समयमा चुनाव नलड्ने घोषणा गरेपछि कांग्रेसले विष्टलाई टिकट दिएको हो । विष्ट कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा निकट मानिन्छन् । रोचक पक्ष विष्ट र भट्ट दुवै डोटेली हुन् । उनीहरू दुवैको पुर्ख्यौली थलो डोटीको जोरायल–५ गडसेरा हो । कैलाली–४ मा पनि डोटीबाट बसाइँ सरेर आएका धेरै मतदाता छन् । योसँगै अछाम, डडेल्धुरा, बैतडी र बझाङ पुर्ख्यौली घर भएका मतदाता पनि यो क्षेत्रमा ठूलो संख्यामा छन् ।
डोटी जोरायल घर भएर गोदावरी नगरपालिका–७ बस्ने लक्ष्मण विष्टका अनुसार, विगतझैं अहिलेको चुनावमा पनि डोटेलीहरूको मत विभाजन नहुने हो भने भट्टको जित सुनिश्चित हुन्छ । तर, उनले थारू समुदायलाई ‘कन्भिन्स’ गर्न सक्नुपर्छ ।
‘कैलाली–४ मा सुदूरपश्चिमका डोटीदेखि बझाङसम्मका मानिस आएर बसेका छौं, विगतका तीनवटा निर्वाचनमा हामीले मत खसालिसक्यौं,’ विष्टले भने, ‘एमालेका भट्ट माओवादी पृष्ठभूमिबाट आएका हुन् । कांग्रेसका विष्टले राजनीति त्यति बुझेजस्तो लाग्दैन । उनी चुनाव लड्नकै लागि अमेरिकाबाट आएका हुन् भन्ने सुनेको छु । उनीहरूबीच रोचक प्रतिस्पर्धा हुने देखिन्छ ।’

भट्ट र विष्टको भौगोलिक पृष्ठभूमि मेल खाए पनि राजनीतिक विचारधारा फरक छ । कम्युनिस्ट विचारधाराका भट्ट र लोकतान्त्रिक विचारधाराका विष्टले नयाँ उदाएको पार्टी रास्वपासँगै पूर्वमाओवादी र पूर्वएमालेसहितको नेकपाका उम्मेदवारसँग चर्को प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ ।
थारू समुदायको मत आफ्नो पोल्टामा पार्न नेकपाले चौधरीलाई उम्मेदवार बनाएको छ । रोचक पक्ष त के भने, माओवादी पृष्ठभूमिका चौधरीले विगतमा भट्ट (हाल एमाले उम्मेदवार)कै सहयोगीको रूपमा काम गरेका थिए । नेकपाको सुदूरपश्चिम प्रदेश अध्यक्षसमेत रहिसकेका चौधरी राष्ट्रियसभाका पनि पूर्वसदस्य समेत हुन् ।
चौधरीले भ्रष्टाचारको अन्त्य, सुशासन, रोजगारी र भूमिहीन तथा मुक्त कमैयाको समस्या समाधान गर्ने भन्दै मतदातासँग मत मागिरहेका छन् ।
अर्का प्रतिस्पर्धी रास्वपाका उम्मेदवार खेमराज कोइराला पनि पहिलोपटक चुनावी मैदानमा उत्रिएका हुन् । युवा जमातले ‘घण्टी’ भनेर परिवर्तन खोजिरहेको बेला कोइरालाले सुशासन, भ्रष्टाचारको अन्त्य, स्वदेशमै रोजगारीको सुनिश्चितता लगायतको मुद्दा उठाएर मतदातासँग मत माग्दै आएका छन् ।
कैलालीको गौरीगंगा नगरपालिका–१ का स्थायी बासिन्दा कोइराला लामो समय शिक्षण, उद्यम र सामाजिक सेवामा लागेका व्यक्ति हुन् ।
रास्वपाको कैलाली जिल्ला सचिवसमेत रहेका उनी शिक्षा क्षेत्र र सामाजिक सेवामा गरेको अनुभवबाट नै आफ्नो राजनीतिक आधार तय भएको बताउँछन् । कोइराला आफू कैलाली क्षेत्र नम्बर ४ कै स्थायी बासिन्दा भएकाले यहाँको विकास र समृद्धिका लागि मतदाताले आफूलाई अमूल्य मत दिएर जिताउने दाबी गर्छन् ।

‘हाम्रो स्थानीय घोषणापत्र तयार हुँदैछ । संघीय संसद् भनेको नीति निर्माण तहमा काम गर्ने हो । कानून बनाउने हो । अझ हामी त आवश्यक परे संविधान संशोधन नै गर्नुपर्छ भनिरहेका छौं’, कोइरालाले लोकान्तरसँग भने, ‘देशमा सुशासन चाहिएको छ । भ्रष्टाचार नगर्नेमात्र होइन, भ्रष्टाचारीलाई कानूनी दायरमा ल्याउनुपर्छ, हस्तक्षेपकारी न्यायप्रणालीको अन्त्य हुनुपर्छ भनेर नै मैले उम्मेदवारी दिएको हो ।’
उनले आफूले कैलाली–४ को मात्रै नभई सुदूरपश्चिमकै विकासका लागि के गर्न सकिन्छ भनेर विज्ञसँग बसेर काम गरिरहेको बताए ।
विगतमा माओवादी, कांग्रेस र एमालेको गढ रहँदै आएको कैलाली निर्वाचन क्षेत्र नम्बर ४ का युवा मतदाताले भने, ‘पुरानालाई धेरै हेरियो, अब नयाँ हेर्ने कि’ भन्ने धारणा बनाएको देखिन्छ ।
गौरीगंगा–७ स्थित मसुरियाका कृष्णराम डगौरा थारू भन्छन्, ‘हामीले माओवादीलाई पनि भोट खसाल्यौं, एमाले र कांग्रेसलाई पनि भोट दियौं । विगतमै बनाएको बाटो र पुल देखाएर अब हुँदैन । नयाँलाई पनि मौका दिनुपर्छ भन्ने छ । युवा जमात सबै घण्टी भनिरहेका छन्, तर म सोच विचार गरेर मात्र मत खसाल्छु ।’
थारूका अनुसार कांग्रेसभित्र अन्तर्घात हुने देखिन्छ । बलायरले किन चुनाव नलड्ने घोषणा गरे भन्नेमा उनी आश्चर्यचकित छन् । ‘पहिला यो क्षेत्रबाट जितेर गएका बलायरले किन चुनाव लड्न मानेनन्, उनै बलायरसँग हारेका भट्ट फेरि उठ्दै छन् । मलाई के लाग्छ भने कांग्रेसको किचलोको फाइदा भट्टले उठाउने दाउ हेरिरहेका छन्,’ थारूले भने, ‘तर, रास्वपा पनि चुप लागेर बसेजस्तो लाग्दैन ।’
कैलाली–५ मा कांग्रेसको आन्तरिक कलहबीच जित निकाल्ने दाउमा आले
कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ मा यसपटक दलहरूले अधिकांश नयाँ अनुहारलाई अगाडि सारेका छन् । कांग्रेसले नरनारायण शाह, एमालेले यज्ञराज ढुंगाना, नेकपाले प्रेम आले र रास्वपाले आनन्द बहादुर चन्दलाई उम्मेदवार बनाएको छ ।

शाह र ढुंगाना कैलाली धनगढीका स्थायी बासिन्दा हुन् । आले डोटी र चन्द बैतडीका हुन् । संसदीय राजनीतिमा आले पुरानै अनुहार भए पनि कैलालीका लागि भने नयाँ हुन् ।
यो क्षेत्रमा विगतमा भएको चुनावी अंकगणित हेर्दा २०७४ सालमा कांग्रेस र एमालेबीच नै मुख्य प्रतिस्पर्धा भएको देखिन्छ । त्यसबेला कांग्रेसले आरजु देउवा र एमालेले नारदमुनि रानालाई प्रतिस्पर्धामा उभ्याएको थियो । त्यतिबेला रानाले २७ हजार २०२ मत ल्याएर जित हासिल गर्दा देउवा २२ हजार तीन सय २२ मतमा सीमित हुन पुगेकी थिइन् । २०७४ सालको चुनावमा देउवालाई तीन हजार ८८० मतान्तरले हराएका रानालाई एमालेले २०७९ सालको निर्वाचनमा पनि कैलाली ५ बाटै दोहोर्याएको थियो ।
कांग्रेसले भने २०७९ को निर्वाचनमा डिल्लीराज पन्तलाई उभ्याएको थियो । दुई मुख्य प्रतिस्पर्धीलाई मतदाताले रोज्दा राना नभई पन्तलाई जिताएका थिए । पन्तले २१ हजार तीन सय ९२ मत ल्याउँदा राना भने २० हजार ३१८ मै सीमित भएका थिए ।
२०७४ सालको चुनावमा भन्दा झण्डै सात हजार मत कम ल्याएका रानाले अहिलेको चुनावमा टिकट पाएका छैनन् । कांग्रेसले नै जित्दा पनि पन्तविरुद्ध बागी उठेका कांग्रेसका पुष्करनाथ ओझाले ८ हजार ३४९ मत ल्याएका थिए ।

विगतका दुई निर्वाचनको परिणामकै कारण यसपटक भने एमाले, कांग्रेस र नेकपाले नयाँ उम्मेदवार उठाएको देखिन्छ । अहिले चारैजना प्रतिस्पर्धी उपमहानगरपालिकालाई महानगरपालिका बनाउन पहल गर्ने, सडक–पुललगायत पूर्वाधारको विकासमा जोड दिने, धनगढी विमानस्थललाई विस्तार गर्ने, धनगढी प्रादेशिक अस्पतालमा शय्या थपदेखि स्तरोन्नति गर्ने, फाप्ला क्रिकेट मैदानको कामलाई तीब्रताका साथ अगाडि बढाउने, थारू समुदायको उत्थान विशेष पहल गर्नेजस्ता वाचासहित मतदाताको घरदैलो धाइरहेका छन् ।
प्रतिस्पर्धीमध्येका शाहको राजनीतिक पृष्ठभूमि कांग्रेस नै हो । उनी कांग्रेस सुदूरपश्चिम प्रदेश समितिका महामन्त्रीसमेत हुन् । उनी खेलकुद क्षेत्रसँग जोडिएका व्यक्ति पनि हुन् । उनी टेबलटेनिस र क्रिकेटका पूर्वराष्ट्रिय खेलाडी हुन् । पहिलो पटक संसदीय चुनाव लडिरहेका उनले मतदातासामु बेरोजगारी, दलित, महिला, अल्पसंख्यक र निम्न आय भएकाको समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन । उनले व्यक्ति नभई पार्टी हेरेर मत दिन आग्रह गरिरहेका छन् ।
एमालेका ढुंगाना पनि कांग्रेसका उम्मेदवार शाहजस्तै प्रतिबद्धता व्यक्त गर्दै घरदैलोमा व्यस्त छन् । अनेरास्ववियुको राजनीतिबाट उदाएका उनले प्रादेशिक अस्पतालको स्तरोन्नतिसँगै खानेपानी र ढल निकासको उचित प्रबन्ध मिलाउने बताएका छन् ।
अर्का प्रतिस्पर्धी प्रेम आले भने विगतमा कांग्रेस र एमालेको दबदबा रहेको यो निर्वाचन क्षेत्रबाट आफू अगाडि आउने दाउमा देखिन्छन् । २०७० सालयता तीन पटक डोटीबाट संसदीय निर्वाचन जितेका आलेले यसपटक कैलाली-५ किन रोजे भन्नेमा कांग्रेस र एमालेका उम्मेदवार आश्चर्यमा छन् ।

तर, उनको चुनावी प्रतिबद्धता अरू उम्मेदवारभन्दा नयाँ छैन । आलेले धनगढी विमानस्थल र सेती प्रादेशिक अस्पतालको स्तरोन्नतिको लागि आफूले सक्दो प्रयास गर्ने वाचा गरेका छन् । उनले मतदातालाई ‘कांग्रेस र एमालेलाई धेरै पटक हेर्नुभयो यो पटक नेकपालाई हेर्नस्’ भन्दै मत मागिरहेका छन् । आलेले धनगढी जिरो प्वाइन्टबाट खुटिया, दिपायल हुँदै बझाङको उरै भञ्जाङसम्म सडक निर्माण गर्न आफूले पहल थाल्ने प्रतिबद्धता पनि मतदातासामु गरेका छन् ।
मतदाता तान्ने दाउमा चन्द
रास्वपाका उम्मेदवार आनन्द चन्द पनि कैलाली-५ का मुख्य दलका उम्मेदवारजस्तै पहिलो पटक चुनाव लड्दै छन् । उनले जनेजी आन्दोलनका मुद्दालाई व्यवस्थित पार्दै लैजाने र सरकारका काम कारबाहीलाई प्रभावकारी बनाउन आफूले पहल गर्ने आश्वासन मतदातालाई दिएका छन् ।
चन्दले ‘पुराना दलबाट विकास, समृद्धि, सुशासन र भ्रष्टाचारको अन्य हुँदैन, रास्वपाबाट मात्रै सम्भव छ’ भन्दै मतदातालाई अरु दलमा मत खसालेर खेर नफाल्न आग्रह गरिरहेका छन् ।

प्रादेशिक अस्पताललाई दुई सय शय्याको बनाउने, गेटा मेडिकल कलेज, फाप्ला क्रिकेट स्टेडियमलाई नयाँ मोडेलमा बनाउने गरी आफूले काम गर्ने उनको भनाइ छ ।
चन्दले शिक्षा नीतिलाई बदलिँदो परिवेशमा फेर्नुपर्ने र उत्पादनमुखी बनाउनुपर्ने कार्यमा आफू लागिपर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
कैलाली-५ मा करिब ८ हजार थारू मतदाता रहेका छन् । कैलाली-४ मा जस्तै यहाँ पनि थारू मतदाता नै निर्णायक हुने देखिन्छ ।