२२ असार २०८३, सोमबार

सडकमै ल्यान्ड गर्‍यो मोदी चढेको विमान

फागुन ३, २०८२
काठमाडौं
सडकमै ल्यान्ड गर्‍यो मोदी चढेको विमान

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी चढेको विमान आसाम राज्यको डिब्रुगढस्थित सडकमै ल्यान्ड गरेको छ । मोदी चढेको भारतीय वायुसेनाको सी–१३०जे सुपर हरक्यूलिस विमान शुक्रबार सडकमा अवतरण गरेको हो।

यसलाई भारतीय मिडियाहरूले ‘ऐतिहासिक क्षण’ भनेका छन् । पूर्वोत्तर भारतमा हवाई जहाज उत्रिने सुविधायुक्त राजमार्ग बनेको पहिलोपटक हो । यस विशेष खालको राजमार्गमा राफेललगायत अन्य लडाकु विमानहरू पनि सहजै अवतरण र उडान गर्न सक्ने समाचारमा उल्लेख छ । 

प्रधानमन्त्री मोदी १४ फेब्रुअरीमा चाबुवा हवाई अड्डाबाट उडान भरेर आसामको डिब्रुगढस्थित मोरान बाइपास सडकमा अवतरण गरेका थिए ।

करिब १०० करोड रुपैयाँ लागतमा निर्माण गरिएको इमरजेन्सी ल्यान्डिङ फेसिलिटी (ईएलएफ)युक्त सडक करिब साढे चार किलोमिटर लामो छ । यसले भारतीय वायुसेनाका लडाकु र यातायात विमानका लागि रणनीतिक तथा बहुउद्देश्यीय सडकका रूपमा उपयोगमा आउने बताइएको छ ।

इमरजेन्सी ल्यान्डिङ फेसिलिटी भनेको कुनै राज्य वा राष्ट्रिय राजमार्गमा बनाइने विशेष खालको एयरस्ट्रिप हो, जहाँ आपत्कालीन अवस्थामा वायुसेनाका लडाकु अन्य हवाई जहाज पनि उडान गर्न सक्छन् । सामान्य समयमा त्यहाँ गाडीहरू चल्छन्, तर आवश्यक परेमा त्यो सडकलाई विमानस्थलको रन–वेको रूपमा प्रयोग गर्न सकिन्छ । अर्थात् आपत्कालीन अवस्थामा यसले वैकल्पिक विमानस्थलको काम गर्न सक्छ ।

salt training

कमेन्ट गर्नुहोस्