१० साउन २०८३, आइतबार
दोधारा चाँदनीबासीको पीडा

वर्षामा महाकाली र जोगबुढाको बाढीले तर्साउँछ, हिउँदमा जंगली जनावरले

दोधारा चाँदनीमा छैन चुनावी रौनक, खेतबारीकै काममा व्यस्त छन् मतदाता
फागुन ३, २०८२
कञ्चनपुर
वर्षामा महाकाली र जोगबुढाको बाढीले तर्साउँछ, हिउँदमा जंगली जनावरले

नेपालको भूगोलमा छुट्टै परिचय बोकेको स्थान हो, दोधारा चाँदनी । नेपाल र भारतबीचको सीमा नदी महाकालीभन्दा पारी रहेको नेपालको एकमात्र स्थानीय तह भएकाले पनि दोधारा चाँदनी नगरपालिकाले विशेष महत्त्व बोकेको छ ।

फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन आउन केवल २० दिन बाँकी रहँदा (फागुन २ गते हामी पुग्दा) सुदूरपश्चिम प्रदेशअन्तर्गत कञ्चनपुर जिल्लामा पर्ने महाकाली नदी पारीका दोधारा चाँदनीबासीलाई भने चुनावी माहोलले फिटिक्कै छोएको देखिँदैन ।

न नगरका मुख्य चोकमा दलका चुनावी ब्यानर देखिन्छन् न त उम्मेदवार नै मतदाताको घर–दैलोमा धाइरहेको पाइन्छ । विभिन्न राजनीतिक दलका कार्यालयमा राखिएका झण्डा र ब्यानरले मात्र देश चुनावी रंगमा रंगिएको हो कि भन्ने झिनो संकेत दिन्छ ।

लोकान्तरकर्मी दोधारा चाँदनी पुग्दा स्थानीयहरू कोही आफ्नो खेत–बारीमा लगाइएको तोरी उखेल्न व्यस्त थिए भने कोही उखु काट्न । केही मजदुर नयाँ घरको जग हाल्न व्यस्त थिए भने अधिकांश आ-आफ्नै पेशा व्यवसायमा अल्झिएका थिए ।

null

‘दोधारा चाँदनीमा खासै चुनावी चहल–पहल छैन । पाखुरा नघोटी खान पुग्दैन । सबै आ–आफ्नै काममा व्यस्त छन्,’ दोधारा चाँदनी–४ मा चिया–खाजाको पसल गरेर बसेका धर्मानन्द भट्ट भन्छन्, ‘उम्मेदवार पनि खासै भोट माग्न आएका छैनन् ।’

दोधारा चाँदनी कञ्चनपुर जिल्ला निर्वाचन क्षेत्र ३ अन्तर्गत पर्छ । करिब ४३ हजार जनसंख्या रहेको दोधारा चाँदनीको मत क्षेत्र नम्बर ३ को निर्वाचनमा सधैं निर्णायक बन्ने गरेको स्थानीय बताउँछन् ।

‘क्षेत्र नम्बर ३ को हार–जितमा दोधारा चाँदनीबासीको मत सधैं निर्णायक बन्ने गरेको छ । त्यसैले उम्मेदवारका लागि यो नगरपालिका निकै महत्त्वपूर्ण छ । तर, यसपटक खासै चुनावी रौनक देखिएको छैन । विस्तारै चहल–पहद बढ्दै जाला,’ धर्मानन्दन भन्छन् ।

यसपटक कञ्चनपुरको क्षेत्र नम्बर ३ मा कांग्रेसले हरिप्रसाद बोहरा, एमालेले डा. दीपकप्रकाश भट्ट, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले मानबहादुर सुनार र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले  ज्ञानेन्द्रसिंह महतालाई उम्मेदवार बनाएको छ ।

null

भट्टले २०७४ सालको चुनावमा कांग्रेसका चर्चित नेता रमेश लेखकलाई हराएका थिए । २०७९ सालको निर्वाचनमा कांग्रेसका लेखकले एमालेकी निरु पाललाई पराजित गरेका थिए । खासगरी यो निर्वाचन क्षेत्र विगतमा कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा हुने गरेको देखिन्छ । तर, यसपटक रास्वपाका ज्ञानेन्द्र र नेकपामा मानबहादुरले पनि आफ्नो बलियो उपस्थिति दर्ता गराएका छन् ।

नेकपाका उम्मेदवार मानबहादुरको त घर पनि दोधारा चाँदनीमै हो । उनी नेकपाबाट सुदूरपश्चिम सरकारका पूर्वराज्यमन्त्री पनि हुन् । दोधारा चाँदनीमा यसअघि कांग्रेसको राम्रो पकड रहँदै आएको भए पनि यसपटक रमेश लेखकलाई उम्मेदवार नबनाएपछि कांग्रेसभित्र चर्को असन्तुष्टि देखिन्छ । लेखकले टिकट नपाएपछि दोधारा चाँदनीका कांग्रेस कार्यकर्ताले सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माको पुत्लासमेत जलाएका थिए ।

त्यसैले यसपटक दोधारा चाँदनीवासीको मत कसलाई जान्छ सहजै भन्ने सकिने अवस्था छैन । मतदाता पनि सहजै खुल्न चाहँदैनन् । ‘यो नगरपालिकामा कांग्रेसको राम्रो पकड छ । एमालेको अवस्था पनि राम्रै छ । तर, यसपटक सहजै भन्न सकिन्न,’ स्थानीय वेदप्रकाश रोकाया भन्छन् ।

null

उनका अनुसार, यसपटक दोधारा चाँदनीको मत विभिन्न उम्मेदवारमा विभाजित हुने अवस्था छ । ‘नेकपाका उम्मेदवार यही नगरपालिकाका हुन् । लेखकले टिकट नपाएपछि कांग्रेसमा असन्तुष्टि छ । एमालेका उम्मेदवार पनि पुरानै अनुहार हुन् । अधिकांश युवा परिवर्तनको पक्षमा छन् । उनीहरूको मत नयाँ दललाई जानसक्छ । त्यसैले यसपटकको अवस्था विगतको भन्दा फरक छ,’ उनी भन्छन् ।

दोधारा चाँदनी–१० का नरेन्द्र खड्का भने यसअघिका जनप्रतिनिधि नगरको सबैभन्दा ठूलो समस्याप्रति उदासिन बनेको आरोप लगाउँछन् । उनका अनुसार, दोधारा चाँदनीवासीको आयको सबैभन्दा महत्त्वपूर्ण स्रोत कृषि कर्म हो । तर, यहाँका कृषक वर्षौंदेखि वन्यजन्तुको आतंक र बाढी–कटानबाट पीडित हुँदै आएका छन् ।

‘बाढी–कटान र वन्यजन्तुको आक्रमण हाम्रो सबैभन्दा ठूलो समस्या हो । निर्वाचनको समयमा उम्मेदवारबाट आश्वासन पाउँछौं तर, समस्या कहिल्यै समाधान हुँदैन । दिनभर पसिना बगाएर बाली लगायो, रातभर पहरा दियो, तैपनि जंगली जनावरले बाली सखाप पार्छन् । जंगली हात्तीको ठूलो आतंक छ,’ उनी दु:खेसो पोख्छन् ।

null

नगरपालिकाको वडा नम्बर ९ र १० बाढी–कटानबाट सबैभन्दा बढी प्रभावित छ । जंगली जनावरको आतंक भने सबै वडामा उत्तिकै छ । दोधारा चाँदनी नगरपालिकाको पूर्वमा भीमदत्त नगरपालिका र शुक्लाफाँटा वन्यजन्तु आरक्ष पर्छ भने उत्तर, पश्चिम र दक्षिणमा भारतीय सिमाना पर्छ ।

‘शुक्लाफाँटा आरक्षबाट हुल बाँधेर हात्ती आउँछन् । भारततर्फ पनि बाक्लो जंगल छ । जंगली जनावर भारततिरबाट पनि आउँछन् । क्षणभरमै बाली सखाप पारेर जान्छन् । बाढीको अर्को समस्या छ । बर्खामा त टापुजस्तै बन्छ,’ खेतमा उखु काट्न व्यस्त नरेन्द्र गुनासो गर्छन् ।

यसैगरी, दोधारा चाँदनीको एकातिर महाकाली नदी पर्छ भने अर्कोतिर, जोगबुढा नदी पर्छ । जोगबुढा नदी पनि दोधारा चाँदनीकै सिमानामा आएर महाकालीमा मिसिन्छ । यस्तो स्थितिमा बर्खा याममा नगरपालिकाका केही वडा सधैं डुबानमा पर्ने गर्छन् ।

‘हामी बाली त लगाउँछौं तर, आफूले लगाएको बाली भित्र्याउन पाउँछौं कि पाउँदैनौं थाहा हुँदैन । एकातिर, जंगली जनावरको आतंक अर्कोतिर, बाढीको जोखिम । लगाएको बाली सबै बाढीले बगाएर लैजान्छ । ठूलो जन–धनको क्षत्ति पनि गर्छ । बाढीका कारण धेरैले ज्यान पनि गुमाएका छन्,’ बारीमा तोरी उखेल्दै गरेकी वडा नम्बर १० की खिमा खत्री भन्छिन् ।

null

जंगलबाट बाघसमेत बेला–बेलामा बस्तीमा पस्ने गरेको उनी बताउँछिन् । ‘हाम्रो पीडा बुझ्ने जनप्रतिनिधि चाहियो । उम्मेदवार आउँछन्, भोट माग्छन्, जितेर जान्छन् तर, हाम्रो समस्या हामीसँगै रहन्छ । हामी किसानले मुठ्ठी नबजारी खान पुग्दैन । लगाएको बाली भित्र्याउन पनि पाउँदैनौं । क्षत्तिपूर्ति पनि कतैबाट पाउँदैनौं । त्यसैले यसपटक हाम्रोभन्दा पनि राम्रो जनप्रतिनिधि रोज्ने योजना बनाएका छौं,’ उनी भन्छिन् ।

दोधारा चाँदनी–१ का रामदत्त पन्त खासगरी नगरका कुतियाकभर, शान्ति टोल, वैधी फाँटजस्ता स्थान बढी बाढीको जोखिममा रहेको बताउँछन् । कुतियाकभर त अझ महाकाली र जोगबुढा नदीको दोभानमै पर्छ । जोगबुढा भारतको पहाडी क्षेत्र हुँदै बगेर आउने नदी हो ।

भारतले शारदा नहरको पानी जोगबुढा नदीमा छोड्दा यो क्षेत्र बढी डुबानमा पर्छ । रामदत्तका अनुसार, जंगली जनावरको आतंक भने सबैतिर उत्तिकै छ । उनी पनि नगरवासीले उम्मेदवारसँग यी समस्याकै बारेमा स्पष्ट प्रतिबद्धता खोज्ने बताउँछन् ।

‘मेरो घर वडा नम्बर १ मा पर्छ । गत माघमा मेरै गहुँ बारीमा बाघ पस्यो । साँझतिर शुक्लाफाँटा आरक्षबाट दुईवटा तालिमप्राप्त हात्तीसहित कर्मचारी आए । बाघ खोज्न राति हात्तीलाई बारीमा पसाइयो । बाघ त भेटिएन तर, बाघ खोज्न आएका दुई हात्तीले मेरो खेतमा लगाइएको सबै बाली तहस–नहस पारिदिए । क्षत्तिपूर्तिको त कुरै हुँदैन,’ रामदत्त भन्छन् ।

null

धर्मानन्दका अनुसार, २०१८ सालदेखि नै छिटफुट रूपमा दोधारा चाँदनीमा बसोबास शुरू भएको हो । त्यसपछि २०२२ सालदेखि यहाँ व्यवस्थित रूपमै बस्ती बस्न थाल्यो । अहिले यो नगरपालिकामा देशका विभिन्न भागबाट बसाइँसराइ गरे आएका व्यक्ति बसोबास गर्छन् । उनी आफैं पनि आजभन्दा २४ वर्षअघि बैतडीको पुर्चौडी हाटबाट यो स्थानमा बसाइँ सरेर आएका हुन् ।

सबैभन्दा ठूलो संख्या भने सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाबाट बसाइँसराइ गरेर आएकाहरूको छ । ‘सुदूरपश्चिमको पहाडी जिल्लाका बढी भए पनि यो नगरपालिकामा ७७ वटै जिल्लाबाट बसाइँसराइ गरेर आएका मान्छे भेट्टाउनु हुन्छ । अनेकतामा एकताको राम्रो उदाहरण हो यो नगरपालिका,’ दोधारा चाँदनीको चर्चित झोलुङ्गे पुलनजिकै पसल थापेर बसेका धर्मानन्द भन्छन् ।

उनका अनुसार, पहिले महाकाली पारी दोधारा र चाँदनी गरी नेपालका दुईवटा गाउँ विकास समिति (गाविस) थिए । नेपाल सरकारको २०७१ साल पुस २८ गतेको निर्णय अनुसार साविकका दोधारा र चाँदनी गाविसलाई समावेश गरि १० वडासहितको दोधारा चाँदनी नगरपालिका घोषणा गरिएको हो ।

null

५६.८४ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको यो नगरपालिकाको नाम भने पटक–पटक परिवर्तन हुँदै आएको छ । शुरूमा २०७१ सालमा नगरपालिकाको नाम दोधारा चाँदनी राखिएको थियो । त्यसपछि, २०७३ मा नगरपालिकाको नाम परिवर्तन गरी महाकाली नगरपालिका राखियो । फेरि, २०७७ सालमा पुरानै नाम दोधारा चाँदनी नगरपालिका कायम गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्