२२ जेठ २०८३, शुक्रबार
उम्मेदवारसँग संवाद

विकास निर्माणका नमूना काम गरेको छु, यसपल्ट पनि चुनाव जित्छु- किरण साह [भिडियो]

फागुन ४, २०८२
रौतहट
विकास निर्माणका नमूना काम गरेको छु, यसपल्ट पनि चुनाव जित्छु- किरण साह [भिडियो]

नेपाली कांग्रेसको गढको रूपमा परिचित रौतहट क्षेत्र नम्बर २ मा गएको निर्वाचन किरण साहले जिते । स्वतन्त्र चुनाव लडेका साहले कांग्रेसका प्रभावशाली नेता अफताब आलमका छोरा डा. फिरदोस आलमलाई पराजित गरेका थिए ।

यसपटक ०८४ मा हुनुपर्ने चुनाव जेनजी विद्रोहका कारण दुई वर्षअघि सरेर यही २१ फागुनमा हुँदैछ । उक्त निर्वाचनमा पुन: किरण साह चुनाव लड्दैछन् । तर फरक के भने यसपटक साह स्वतन्त्र होइन; नेपाली कम्युनिस्ट पार्टीको तारा चुनाव चिह्नमा चुनाव लड्दैछन् । उनले यसपटक पनि प्रतिस्पर्धी नेपाली कांग्रेसलाई देखेका छन् । संयोग के छ भने कांग्रेसबाट उनै फिरदोस चुनावी मैदानमा छन् । 

साहले आफ्नो क्षेत्रमा गरिरहेको चुनावी तयारी, उनका वाचा र चुनावी अंकगणितका विषयमा रौतहटस्थित उनकै घरमा पुगेर गरिएको कुराकानी :

निर्वाचन लागिसक्यो कि छैन? माहोल कस्तो पाइरहनुभएको छ ?

चुनावी माहोल पूर्ण रूपमा लागेको अवस्था छैन । तर, निर्वाचन आयोगको सर्कुलर अनुसार ४ गतेदेखि पूर्ण रूपमा सक्रिय ढंगले जनतामा उमंग छाउने विश्वास छ । हिन्दू सनातन सभ्यताका मानिस पूजा, वैवाहिक तथा धार्मिक कार्यक्रममा पनि व्यस्त छन् । त्यसैले माहोल लागिसकेको छैन । ४ गतेबाट चुनावी माहोल बन्छ ।

तपाईंको घर छिर्दै गर्दा टोलमा आचारसंहिता विपरीत नै हुनेगरि पोस्टर पम्प्लेट देखियो नि सबै दलको ?

मेरो त देख्नुभएन होला ! मैले एकदमै कम गरेको छु । ब्यानर मैले छाप्ने काम गरेकै छैन । मलाई आमजनताले दबाब दिइरहेको छ ।

इरिक्सामा तपाईंको काफिला नै थियो...

उहाँहरूले आफूखुसी गर्नुभएको हो । मेरो नेता गरिब हो भनेर उहाँहरूले आफैं स्वतस्फूर्त रूपमा गर्नुभएको हो । चारैतिर प्रचार प्रसारमा उहाँहरू लाग्नुभएको हो । मलाई प्रचार गराउनुपर्‍यो भने एउटा रिक्सामा राखेर गराउँछु । हिजो अस्तिदेखि एउटा रिक्सावालाहरूको समूहले गरेको हो, हामी हाम्रो हिसाबले किन गर्न पाउँदैनौं भन्नुभयो । मैले नगर्नुस् भन्दा पनि मानेको छैन ।

null

२०७९ मा स्वतन्त्र जित्नुभयो र एमालेमा जानुभयो । महिला, बालबालिका समितिको सभापति पनि बन्नुभयो । अहिले चुनाव तपाईं नेपाली कम्युनिस्ट पार्टीबाट लड्दै हुनुहुन्छ । यो स्थिति किन आयो ?

दलभन्दा माथि व्यक्तिको पहिचानको माहोल छ यहाँ । यहाँ किरण साह पहिचानको व्यक्ति हो । किरण शाह जता गयो त्यतै माहोल बन्छ । किनभने म कुशासन, भ्रष्टाचार र तानाशाहीको विरुद्धमा जहिले पनि आवाज उठाउने मान्छे हो । त्यसकारण भगवानरूपी जनताले साथ समर्थन दिएको अवस्था छ ।

एमालेबाट तपाईंले सुविधा पाउनुभयो, लिनुभयो...

मैले सुविधा भोग्नुभन्दा पनि एमालेले मबाट एउटा सिट लिएको थियो । मैले स्वतन्त्र जितेर सांसदको संख्या बढाइदिएकोले एउटा समितिको सभापति बनाउनुभयो । मैले समर्थन एमालेलाई दिएँ तर पार्टीको कुनै सदस्यता लिएको थिएन । म एमालेमै गएको भए त्यसैबाट चुनाव लड्न सक्ने थिएँ नि । मैले समर्थन मात्र गरेको थिएँ, सक्रिय सदस्यता लिएको थिइनँ । 

अहिले पनि म स्वतन्त्र लड्न चाहन्थेँ तर यहाँका जनताले स्वतन्त्र नलड्नु कुनै पार्टीमा जानु भनेपश्चात् नेकपामा गएको हो ।

एमालेले टिकट दिएन अनि नेकपामा जानुभयो हैन त ?

हैन । त्यो गलत कुरा हो । एमालेको टिकट मलाई वरिपरि घुमिरहेको थियो यसपटक । मलाई अरु दलले पनि टिकटको अफर गरेकै थियो ।

हामी (शेख इन्द्रिस गेटबाट)तपाईंको क्षेत्र प्रवेश गर्दा बाटोको कालोपत्रे पनि उप्किसकेको देखियो । तपाईंले यहाँबाट चुनाव जिते पनि विकास त खासै भएको रहेनछ हगि ?

त्यो गेटबाट फतुवा पुलसम्म एक करोड बजेट मैले नै हालेको हो । वोधीमाइको वडा नम्बर १ मा, वडा नम्बर २ मा कालोपत्रेका लागि तीन करोड पैसा मैले राखेको थिएँ । वडा नम्बर ३ मा श्री प्रावि स्कूलको भवनमा डेढ करोड बजेट राखेको छु । अन्तर्यमा विकास निर्माणको मैले धेरै नमूना नमूना काम गरेको छु । नेपालको तेस्रो ठूलो विद्युतीय शवदाह गृह मेरै घर छेउमा बनाएको छु । नमूनाका लागि हेर्न सक्नुहुन्छ । जलवायु परिवर्तनका कारण पानीको समस्या छ , मौलापुरको पाँच वडामा बजेट राखेको छु । विकास निर्माणको काम गरेको छु ।

सुशासन के कायम भयो त ?

हिजोको दिनमा यहाँ तानाशाही र राणाशाही थियो । हिजो कोही बोल्न सक्दैनथियो , आज जनताले स्वःस्फूर्त रूपमा बोल्न सक्ने भएको छ । प्रतिवाद गरिरहेको छ । लोकतन्त्र भएको महसुस गरिरहेको छ ।

शेख इद्रिस र अफताब आलमलाई तानाशाही भन्नुभएको हो ?

एकदम तानाशाही राणाशाही थियो । २०६४ को संविधानसभा निर्वाचनमा २२ जनालाई नरसंहार गरेको क्षेत्र यही हो । इँटाभट्टामा जलाएको यही हो नि ।

त्यो त अदालतले बोलिसक्यो हैन र ?

अदालतको कुरा आफ्नो ठाउँमा छ ।

उहाँलाई निर्दोष भनेर सफाइ दिएपश्चात् उहाँको मृत्यु भएको छ । अहिले उहाँको छोरा फिरदोस आलम उम्मेदवार हुनुहुन्छ । कस्तो सम्बन्ध छ?

यो क्षेत्रमा उहाँहरूको सोचमा यहाँ कहिले पनि सद्‌भावको हिसाबमा चल्दैन । उहाँहरू शत्रुको नजरले हेर्नुहुन्छ । तर हामी सम्मान र सद्‌भावको हिसाबले अघि बढेका छौं । तर उहाँहरूको त्यस्तो छैन ।

राजपुर नगरपालिकामा एउटा कार्यक्रम थियो । म सांसद थिए, उहाँहरूले मलाई स्वीकार्न सक्नुभएन । म त्यो कार्यक्रममा गएँ उहाँहरूले झडपको स्थिति सिर्जना गर्नुभयो । यहाँ सामाजिक सद्‌भाव नै हुँदैन ।

बहुसंख्यक हिन्दू मतदाता छन् । हिन्दू-मुस्लिम गरेर तपाईंले निर्वाचन जितिरहनुभएको छ । कट्टर हिन्दूवादी मुभमेन्ट देखिरहेको छ नि?

तपाईंहरूलाई कसले यस्तो भनिरहेको छ थाहा भएन । नेपाली कांग्रेसबाट जितेका पूर्वमेयर शकिर अख्तर उहाँकै खानदान मसँग हुनुहुन्छ । वडाध्यक्ष धेरै हामीसँग हुनुहुन्छ । म भेदभाव गर्छु नारा लगाउँछु भने मुस्लिम अनुहारहरू मसँग किन आउनु हुन्छ । मैले समाजमा सामाजिक सद्‌भाव कायम गर्ने हो । समाजलाई जोडेर अघि बढ्ने हो तोडेर होइन । हरेक जाति भाषा धर्म समुदायको आफ्नो आफ्नो अधिकार हुन्छ । हाम्रो समाज र क्षेत्रमा कुनै बेला चुनाव बाहेक पनि सामाजिक सद्‌भाव भड्कने गर्छ । त्यसलाई पनि हामीले कन्ट्रोल गरेर अघि बढ्नुपर्छ ।

null

२०७९ को निर्वाचनताका तपाईंले भय त्रासको वातावरण छ भन्नुभएको थियो । अहिले अवस्था कस्तो छ ?

भय त्रासको अहिले वातावरण छैन । जनता घुमेका छन्, प्रचारप्रसारमा लागेका छन् । त्यस्तै वातावरण बने जनता प्रतिकारमा उत्रन तयार छन् । त्यो पहिला जस्तो लुकेर छिपेर हिँड्ने माहोल छैन । अझै पनि तानाशाही व्यवस्था गर्न चाहिँ खोजिरहेको छ ।

अहिले त तपाईंको तानाशाह छ होला नि ? सत्तामा तपाईं पुग्नुभयो !

म कसरी तानाशाह भएँ ? सत्तामा जाँदैमा तानाशाह हुन्छ ? म सेवक भएर काम गरेको छु । उहाँहरूले दर्जनौं झुटा मुद्दा लगाएर सत्ता र सरकारको बलमिच्याइँ गरेर अन्यय पूर्ण तरिकाले पेल्नुभयो । अनि मलाई तपाईंले कुन हिसाबले तानाशाही भन्नुभयो ? तानाशाही भन्ने प्रमाण हुनुपर्‍यो नि । म त जनताको सेवक हो र जनताको बीचमा जान्छु । जनताको सेवक हो जनताको न्यानो माया पाएको छु । अनि तपाईंले कुन रूपमा तानाशाही भन्नुभयो?

हामीले भनेको होइन, तपाईंका प्रतिस्पर्धीहरूले भनिरहेका छन्...

सत्तामा हुँदैमा तानाशाही हुँदैन । सांसद जितेपश्चात् र सत्तामा गएपश्चात् भोट दिने र नदिने दुवैको अभिभावकीय भूमिकामा हुन्छ । त्यसकारण म तानाशाही राणाशाही होइन, त्यसलाई तोड्ने मान्छे हो । जताको सेवक हो । त्यही भएर म जहाँ गए जनता त्यहीँ गएको अवस्था छ ।

जनताले त अहिले परिवर्तन भनिरहेका छन् । यसलाई कसरी लिनुहुन्छ ?

कुरीति र भ्रष्टचारको विरोधमा जेनजी युवा भाइहरूले आन्दोलन गर्‍यो र त्यो बलमा स्वाभाविक रूपमा बालेजीको क्रेज देखेर मात्रै लागेको छ । यो क्रेज रवि लामिछानेको होइन । उहाँ कस्तो मान्छे हो हामीले देखिसकेका छौं ।

तर रविजीले बालेनजीलाई ठग्यो । बालेनजी रास्वपामा आएपश्चात् माहोल बढेर आयो  नभए यो भन्दा अघि क्रेज थिएन । सुमना श्रेष्ठ, सन्तोष परियारहरूले छोडेर गएको थियो । अर्थात् रास्वपा टुक्रा टुक्रा भइसकेको थियो । बालेनजी आएर रास्वपाको शाख बचाइदिएको हो ।

बालेनको नाममा भए पनि घण्टी घण्टी भनेको छ नि ?

भनेका छन् । तर युवाहरूले मलाई बढी माया गर्नुहुन्छ । किनभने जेनजी आन्दोलन हुँदा समिति सभापति र सांसदबाट राजीनामा दिएको हो । तर जेनजीका भाइहरू हामीले यो संसद् विघटन गर्नलाई आन्दोलन गरेको होइन भनेर अनसनमा छ नि । मेरो प्रतिप्रश्न छ मधेशको ३२ मध्ये कति सिटमा घण्टी जित्न गइरहेको छ ? पुरानै दलका मानिसलाई टिकट दिएर घण्टी जित्छ त ? युवा जमात र स्वच्छ छविको ल्याएर दिए पो जित्ने थियो होला ।

तपाईंले नेकपाको टिकट मात्र लिएको कि अब यसैको राजनीति गर्ने हो ?

नेकपाबाट टिकट लिएर अघि बढेको छु । प्रचण्डजी, माधव नेपालजीसँग कुरा भएको छ । केही डिल भएको छैन । माओवादीबाट पनि यसअघि चुनाव लडिसकेको छु । अब पार्टीमा बाँधिएको छु, पार्टीको विधान, नियम कानून अनुसार नै अघि बढ्ने छु । चल्ने छु ।

प्रतिस्पर्धा कोसँग हुन्छ ?

नेपाली कांग्रेससँग हुन्छ । घण्टीसँग प्रतिस्पर्धा छैन ।

 

salt training

कमेन्ट गर्नुहोस्