
दिल्ली उच्च अदालतले अभिनेता राजपाल यादवलाई सुनाइएको सजायमा अन्तरिम रोक लगाएको छ । अदालतको आदेशसँगै उनी हालका लागि जेलमुक्त हुने भएका छन् ।
बार एन्ड बेन्चका अनुसार यस मुद्दाको अर्को सुनुवाइ आगामी १८ मार्चमा तोकिएको छ । सो अवधिसम्म राजपाल यादव जेलबाहिर रहनेछन् ।
अदालतले राहत दिँदै प्रतिवादीको बैंक खातामा १ करोड ५० लाख रूपैयाँ जम्मा भइसकेको तथ्यलाई ध्यानमा लिएको छ । त्यसै आधारमा अदालतले सजायमा अन्तरिम रोक लगाएको हो ।
अदालतले यादवलाई १ लाख रूपैयाँको निजी मुचल्का र सोही बराबरको रकमको एक जना जमानतदार पेस गर्ने सर्त तोकेको छ ।
९ करोड रूपैयाँ बक्यौता तथा चेक बाउन्स मुद्दामा उजुरीकर्ताको खातामा डेढ करोड रूपैयाँ जम्मा गरेपछि अदालतले यादवको जमानत निवेदन स्वीकार गर्दै उनलाई जमानतमा छाड्ने निर्णय गरेको हो ।
यसअघि चेक बाउन्स मुद्दामा तिहाड जेलमा रहेका बेला फिल्म उद्योगका विभिन्न कलाकारहरू राजपाल यादवको सहयोगका लागि अघि आएका थिए । यस क्रममा अभिनेता सलमान खान र अजय देवगनले पनि सहयोगको आश्वासन दिएका थिए ।
बीबीसी हिन्दीका सहयोगी पत्रकार रवि जैनसँग कुरा गर्दै यादवका म्यानेजर गोल्डी जैनले फिल्म उद्योगका थुप्रै ठूला कलाकार आर्थिक संकटमा परेका यादवलाई सहयोग गर्न तयार रहेको बताएका छन् ।
उनका अनुसार वरुण धवन, सोनू सूद लगायतका कलाकारहरूले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।