
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्ले उम्मेदवार बनेको तनहुँ क्षेत्र नम्बर १ मा प्रतिस्पर्धा निकै रोचक बन्दै गएको पाइएको छ । अघिल्लोपटक (२०८० को उपनिर्वाचन) भारी मतान्तरले जितेका वाग्लेलाई यसपटक पहिलेकै प्रतिस्पर्धी गोविन्द भट्टराई (नेपाली कांग्रेस)ले कडा चुनौती खडा गरेको पाइएको हो ।
तनहुँको व्यास नगरपालिका, भानु नगरपालिका र बन्दीपुर गाउँपालिकाका विभिन्न स्थानमा पुगेर ३०० भन्दा बढी मतदाताहरूसँग कुराकानी गर्दा स्वर्णिमभन्दा गोविन्द भट्टराईको नाम लिने बढी भेटिए ।
स्वर्णिमलाई 'अघिल्लोपटक जितेपछि फर्किएर नआएको, हिन्दू धर्म भन्नेलाई पार्टीमा ठाउँ छैन भनेर अभिव्यक्ति दिएको, निर्वाचित भएपछि तनहुँसँग गोरु बेचेको साइनो समेत नभएको भनेर बोलेको' लगायत विषय उठाएर मतदाताले प्रश्न गरिरहेको हामीले भेट्यौं ।
तनहुँको व्यास नगरपालिका १ चारकुनेकी एक महिलाले स्वर्णिम जितेर गएपछि फर्किएर नआएको विषयमा प्रश्न उठिरहेको बताइन् । 'जितेर जानुभयो, तर फर्किएर आउनुभएन । त्यसैले उहाँलाई गाह्रो छ,' नाम बताउन अस्वीकार गर्दै ती महिलाले भनिन् ।

सोही वडाका मदन पण्डितले यसपटक कांग्रेसका गोविन्द भट्टराईले जित्ने दाबी गरे । 'अघिल्लोपटक स्वर्णिमले जिते । एमाले उम्मेदवार स्थानीय नभएकाले एमालेको भोट पनि उहाँतिर गयो । कांग्रेसकै पनि कतिपयले रिसाएर मत दिए,' पण्डितले भने, 'यसपटक एमालेले आफ्नो मत होल्ड गर्ने देखिएको छ । साथै, रिसाएर घण्टीमा भोट हालेका कांग्रेसहरू पनि फर्किएका छन् ।'
गोविन्दलाई पानी मान्छेको संज्ञा दिँदै पण्डितले विभिन्न ठाउँमा खानेपानी पुर्याएर गोविन्दले महिलाहरूको थाप्लोबाट नाम्लो छुटाएको जिकिर गरे । आफ्नै गाउँ-ठाउँको, अहिलेसम्म खासै अवसर नपाएको र अघिल्लोपटक पराजित भएकाले यसपटक गोविन्दलाई सहानुभूतिको मत समेत आउने जिकिर उनले गरे ।
व्यास ४ साँखरका ७० वर्षीय एक वृद्ध शीतल छहारीमा बसिरहेको अवस्थामा भेटिए । उनी कांग्रेसका क्रियाशील सदस्यसमेत रहेछन् । स्वर्णिमलाई पहिलेजस्तो सहज नरहेको बताएका उनले स्वतन्त्र उठेका गोविन्दराज जोशीका छोरा दीपकराज जोशीलाई पनि समेटेर अगाडि बढ्नुपर्ने मत राखे । दीपक कैँची चिह्न लिएर चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
'विश्वप्रकाश पनि यहाँ आएका थिए । दीपकलाई समेट्न सकेको भए राम्रो म्यासेज जान्थ्यो,' उनले भने, 'अझै पनि समय छ । पार्टीले मिलाउन सकेन भने मेरो भोट दीपकराज जोशीलाई जान्छ ।'

व्यास २ गणेशमानचोकका झलकमान श्रेष्ठले घण्टीमा भोट हाल्ने बताए । 'यसपटक भन्न सकिने अवस्था छैन । कांग्रेसको पनि राम्रो छ । शहरले भनेर मात्रै हुँदैन, गाउँतिर कत्तिको माहोल छ,' श्रेष्ठले भने, 'यो पहिलेदेखि नै कांग्रेसको गढ हो ।'
व्यास ११ पोल्याङका वामदेव मिश्रले किसानका समस्याबारे धारणा राखे । 'किसानले गरेको उत्पादनको बजार छैन । लगानी उठ्दैन । बिउ, मलको सहज उपलब्धता छैन । राज्यले ल्याएको अनुदान सीमित व्यक्तिलाई मात्र हुन्छ, हामीलाई पाइँदैन,' मिश्रले भने ।

२०६८ देखि नै फार्म खोलेर दूध तथा तरकारी उत्पादन गर्दै आएको उनको भनाइ थियो ।
मिश्रले पनि स्वर्णिमलाई पहिलेजस्तो सहज नरहेको बताए । गोविन्दलाई गाउँ-ठाउँमा टेलिकम (फोनको टावर) र पानी ल्याउने मान्छेको रूपमा चिन्ने गरेको उनको भनाइ छ ।
उनले आफ्नो मत कता जान्छ भन्ने अहिले खुलाउन चाहेनन् ।
व्यास ११ मूलपानीका अर्का एक मतदाताले स्वर्णिम र गोविन्दबीच प्रतिस्पर्धा हुने विश्लेषण गरे । 'गोविन्द र स्वर्णिमकै कम्पिटिसन हो । अघिल्लोपटक जिताइयो, तर काम गर्न सकेनन् भन्ने छ । गोविन्द राम्रो मान्छे हुन् । बजेट पनि पार्दिएका छन्,' उनले भने ।
व्यास २ मालपोत लाइनका अरुणकुमार श्रेष्ठले यसपटक केही भन्न नसकिने बताए । 'यसपटक केही भन्नै सकिन्न, बजार क्षेत्रमा रूख भन्ने नै बढी देख्छु,' उनले भने ।
उनले पनि गोविन्दलाई 'खानेपानी मान्छे' भनेर सम्बोधन गरे । जिल्लाका विभिन्न स्थानमा खानेपानी पुर्याउन पहल गरेको भनेर अधिकांशले गोविन्दलाई 'पानी मान्छे' भन्ने रहेछन् ।

व्यास १ रतौलीका मीनबहादुर दराईले स्वर्णिमप्रति गुनासो गरे । 'पहिले धेरै कांग्रेसले घण्टीमा भोट हाले । दु:ख परे हेरौंला भन्थे, केही काम गरेनन्,' उनले भने ।
व्यास ४ स्थित संगमटोल सुधार समिति अध्यक्ष निर्मला चापागाईंले रास्वपा र कांग्रेसबीच प्रतिस्पर्धा हुने बताइन् ।
'स्वर्णिमले एकपटक जित्नुभएको हो, तर काम गर्नुभएन । मौका पाउनुभएन कि,' चापागाईंले भनिन्,'गोविन्द भट्टराई पनि राम्रो मान्छे हुनुहुन्छ ।'
व्यास ४ कै जलदेवी टोल (ख)का कालु गुरुङले त्रिपक्षीय प्रतिस्पर्धा हुने विश्लेषण गरे ।
'चहलपहल त कांग्रेस र रास्वपा दुवैको देखिन्छ । कांग्रेसको पहिलेभन्दा सुधारिएको छ । स्वर्णिम र गोविन्द दुवै राम्रा हुन् । एमाले पनि छ,' उनले भने, 'कतिपय ठाउँमा स्वर्णिमप्रति असन्तुष्टि रहेछ । आफ्नो कुरा राख्न खोज्दा गाडी नै रोकेनन् भन्ने पनि सुनेको थिएँ ।'

व्यास ४ जलदेवी टोलका जुननारायण नेवारले घण्टी, रूख र सूर्यबीच प्रतिस्पर्धा हुने बताए ।
'कतिपय पुराना देखेर वाक्क भएका छन् । कतिपयले एक कार्यकाल जितेर जाँदा के गरे भनेका छन् । तनहुँसँग गोरु बेचेको साइनो छैन भन्ने पनि सुनेको हो,' उनले भने ।
बन्दीपुर गाउँपालिका १ पिप्लेका पूर्णबहादुर अधिकारीले मुख्य प्रतिस्पर्धा घण्टी र रूखबीच हुने बताए । नेकपा (तारा)को पनि राम्रो रहेको उनको विश्लेषण छ । 'अर्थविद् भएकाले स्वर्णिमले केही गर्छन् कि भन्ने पनि छन्,' उनले भने ।

बन्दीपुरकै भोजबहादुर थापाले अघिल्लोपटक कसलाई दिऊँ भन्ने हुँदा धेरैले स्वर्णिमलाई मत दिएको भन्दै जितेर गएपछि फर्किएर नआएको बताए । 'जितेर गएपछि देखा पर्नुभएन । सबै उस्तै त हुन्, पुलुक्क नहेर्ने रहेछन्,' थापाले भने ।
बन्दीपुर २ थापाथरकी माया विश्वकर्माले आफूहरू कांग्रेस भएको बताइन् ।
जमानामा खुलेको जापानी बोर्डिङमा काम गर्ने बेला बाध्यताले कांग्रेस बनेको कथा सुनाएकी उनले कांग्रेस भएकै कारण अन्य पार्टीका मान्छेले आफूहरूका कतिपय काम नगरिदिएको गुनासो गरिन् ।
बन्दीपुर २ कै दिलबहादुर अछामीले अघिल्लोपटक अरूले भोट हालिदिएर जिते पनि यसपटक स्वर्णिमको केही नलाग्ने विश्लेषण सुनाए । 'अहिले स्वर्णिमलाई गाह्रो छ । अघिल्लोपटक अरू पार्टीले भोट हालिदिएर जित्नुभएको हो । यसपटक गोविन्दप्रति धेरैको आकर्षण छ । उहाँ पानी मान्छे पनि हो,' अछामीले भने ।

बन्दीपुर १ प्युघरकी दिलमाया मगरले जुन पार्टीले जितेर गए पनि केही नहुने बताइन् । 'पोहोर (अघिल्लोपटक) जिताएर पठाएको मान्छे नै देखा परेनन् । जो आए पनि उही त हो नि, हामीले राहत समेत पाएका छैनौं,' मगरले भनिन् ।

माथि उनीहरू (रास्वपा)को शासन नभएर काम नभएको भन्ने आफूले सुनेको समेत उनले बताइन् ।
तनहुँकै भानु नगरपालिका वडा नम्बर १ साजबोटेका ८१ वर्षीय यजुर्नाथ न्यौपानेले घण्टीको माहोल रहेको बताए । 'काम गरेको त खासै थाहा पाइनँ । जितेर गएपछि फर्किएनन् भन्ने पनि छ । तर, माहोल घण्टीकै छ,' न्यौपानेले भने ।
सँगै रहेका उनका नाति (जेनजी उमेर समूहका) सुशन न्यौपानेले गोविन्द स्थानीय स्तरका लागि राम्रो भए पनि समग्र देशका लागि स्वर्णिम वाग्लेले जित्नुपर्ने बताए ।
भानु १ भन्सारका शंकर न्यौपाने पेशाले शिक्षक रहेछन् । उनले देशका लागि स्वर्णिम र तनहुँ लागि गोविन्द ठीक हुने बताए । 'यो वार्डमा अघिल्लोपटक घण्टीले धेरै भोट ल्याएको थियो, यसपटक भन्न सकिन्न,' उनले भने ।
भानु नगरपालिकाकै बाबुलाल पाण्डेले यसपटक स्वर्णिमलाई गाह्रो रहेको बताए ।

'स्वर्णिमलाई यसपालि गाह्रो छ,' पाण्डेले भने, 'गोविन्द यहीँको माटोका हुन् । नतिजा एमालेको हातमा छ । एमालेले घण्टीमा भोट हालिदिएन भने कांग्रेसले जित्छ ।'
भानु २ अम्बोटेका भक्तबहादुर कुँवरले पहिलेजस्तो एकपक्षीय चुनाव नहुने विश्लेषण सुनाए । 'पुराना दलका शीर्ष नेताका कारण एकपटक नयाँलाई हेरौं भन्या छन् । बौद्धिक हेर्दा स्वर्णिम, यहाँका लागि हेर्दा गोविन्द ठीक हुन्,' उनले भने ।

भानु ३ खहरेका विष्णुकुमार श्रेष्ठले आफूहरू गोविन्द भट्टराईलाई जिताउने अभियानमा रहेको बताए ।
सोही ठाउँका ६१ वर्षीय टीकाराम श्रेष्ठले नेकपा (तारा चिह्न)लाई मत दिने बताए ।

भानु २ कै शिवबहादुर खड्काले सकेसम्म देशैभर रास्वपालाई हराउनुपर्ने बताए ।
'स्वर्णिमले यसपटक जित्नुहुन्न । उहाँले पहिले हिन्दू धर्मको विरोध गर्नुभयो । अहिले मन्दिर गएर ढोंगी कुरा गरिरहनुभएको छ,' खड्काले भने, 'यो छेपारे प्रवृत्तिले हार्नुपर्छ ।'

यो क्षेत्रमा व्यास नगरपालिकाका ५ र ६ बाहेक सम्पूर्ण वडा, भानु नगरपालिका तथा बन्दिपुर, आँबुखैरेनी र देवघाट गाउँपालिका पर्छन् । हामीले कुरा गरेकामध्ये अधिकांशले कि गोविन्द भट्टराई कि त स्वर्णिम वाग्लेको नाम लिए ।
एमालेलाई मत दिन्छु भन्ने केही व्यक्ति भेटिए पनि खुलेर बोल्न चाहेनन् ।
चुनावी गणित
२०७९ मा यस क्षेत्रबाट निर्वाचित नेपाली कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि २०८० मा भएको उपनिर्वाचनमा रास्वपाका स्वर्णिम वाग्लेले भारी मतान्तरले जीत हात पारेका थिए ।
स्वर्णिमले ३४ हजार ९१९ मत प्राप्त गर्दा कांग्रेसका गोविन्द भट्टराईले २० हजार १२२ मत प्राप्त गरेका थिए । नेकपा एमालेका सर्वेन्द्र खनालले मात्र ८ हजार ४८८ मत पाएका थिए ।

२०७९ को प्रतिनिधिसभामा एमालेले पाएको १६ हजार ६८६ मतमध्ये आधा मत त्यतिबेला गायब भएको थियो । त्यो अधिकांश मत स्वर्णिमतर्फ गएको विश्लेषण तनहुँमा हुने गरेको छ ।
त्यतिबेला कांग्रेसको समानुपातिक मत २० हजार १५४ थियो भने रास्वपाले १२ हजार ७७३ र नेकपाले ७ हजार ३२६ मत ल्याएका थिए ।
यो क्षेत्रबाट कांग्रेसका पुराना नेता गोविन्दराज जोशी कैँची चिह्न लिएर प्रतिस्पर्धामा उत्रिएका थिए ।
उनले ६ हजार ८८६ मत पाएका थिए । यसपटक उनकै छोरा दीपकराज जोशी प्रतिस्पर्धामा उत्रिएका छन् । उनले ल्याउने मत र एमालेको चिह्नमा खस्ने मतले यस क्षेत्रको जीतहारको गणित निर्धारण गर्नेछ ।
कैँचीमा धेरै मत जानबाट रोक्न सके र एमालेको मत स्वर्णिमतिर डाइभर्ट नभएमा यहाँ गोविन्दले जित्न सक्ने सम्भावना छ ।