
सुर्खेत बजारबाट करिब २७ किलोमिटर उत्तरतर्फ गएपछि पुगिन्छ गुराँस गाउँपालिका वडा नम्बर ४। पक्की तर, साँघुरो पहाडी बाटो छिचोल्दै दैलेखको गुराँस गाउँपालिकामा रहेको गेट पश्चात् भेट भयो ३३ वर्षीया कृष्णा ओलीसँग।
आफूसँगै २ सन्तान लिएर सुर्खेत जाँदै गरेकी ओलीलाई हाम्रो पहिलो प्रश्न रह्यो, 'तपाईँको गाउँमा चुनाव कस्तो लाग्दैछ? माहोल कत्तिको छ?' 'भोट माग्न कोही पनि आएको छैन,' उनले जवाफ फर्काइन्।
२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको माहोल बुझ्न दैलेख क्षेत्र नम्बर १ पुग्दा बाटो, चोक चौतारा, घरका भित्ता कतै पनि चुनावी रौनक देखिएन। मतदाताले पनि कसलाई मत दिने भन्ने निर्णय गरिसकेका छैनन्।
'निर्वाचनको माहोल नै छैन। आजसम्म एउटा पार्टीका उम्मेदवार पनि हामीकहाँ भोट माग्न आएका छैनन्,' सोही वडाको रानीमत्तामा किराना पसल सञ्चालन गर्दै आएका एक मतदाताले भने।
करिब दुई किलोमिटर अघि बढेपछि प्रेम होटल एन्ड लज सञ्चालन गर्दै आएका ४० वर्षीय रोकप्रसाद सापकोटा भेटिए। उनले पनि उम्मेदवारहरू भोट माग्न नआएको सुनाए।
दैलेखको १ नम्बर क्षेत्रमा गुराँस गाउँपालिका, डुङ्गेश्वर गाउँपालिका, भगवतीमाई गाउँपालिका, नारायण नगरपालिका, नौमूले गाउँपालिका, महावै गाउँपालिका पर्छन्। यसै पनि पहाडी जिल्ला, त्यसमाथि कठिन भौगोलिक अवस्थाका कारण उम्मेदवारलाई प्रचारप्रसारमा घरघर पुग्न सकस परेको हुनसक्ने स्थानीयको बुझाइ छ।

ग्रामीण इलाकामा मात्रै होइन, सदरमुकाम रहेको नारायण नगरपालिकामा पनि चुनावी रौनक देखिएन। नारायण नगरपालिकामा पनि कुनै पर्चा, पम्प्लेट तथा अन्य प्रचार सामग्री देखिएन।
पातलो बस्ती तथा अधिकांश मतदाता रोजगारीका लागि खोज्दै छिमेकी देश भारत र अन्य तेस्रो मुलुक गएका छन्। गाउँघरमा युवा पुस्ताका मानिस प्रायः भेटिँदैनन्। भएका केही युवाहरू पनि सदरमुकाम तथा हाइवे केन्द्रित छन्। त्यसैले पनि उम्मेदवारहरू घरदैलोमा नगएका पाइएको हो।
साँझतिर सदरमुकाममा भेटिएका नारायण नगरपालिका प्रमुख लोमन शर्माले अप्ठ्यारो भूगोल र मतदाताको ठेगान नहुँदा चुनावी रौनक नदेखिएको बताए। विगतमा पनि यसरी नै तामझामविहीन चुनाव हुने गरेको उनले सुनाए। 'गाउँघरमा मतदाता कम छन्। कोही इन्डिया त कोही अन्य देश काम गर्न गएका छन्। भूगोल अप्ठ्यारो छ। शहरजस्तो हुँदैन,' लोकान्तरसँग उनले भने।

एमालेबाट टाढिँदै मतदाता
यहाँ रवीन्द्रराज शर्मा (एमाले), बासना थापा (नेपाली कांग्रेस), अम्मरबहादुर थापा (नेकपा), नन्दकिशोर बस्नेत (रास्वपा), रणबहादुर सिंह (राप्रपा), जगतबहादुर ओली (नेमकिपा), नरबहादुर सिंह (राजमो), रामलाल विश्वकर्मा (नेपाल कम्युनिष्ट पार्टी माओवादी), मेनका श्रेष्ठ (आजपा), लोगबहादुर बोगटी (स्वतन्त्र) उम्मेदवार छन्।
२०७९ को निर्वाचन यहाँबाट तत्कालीन नेकपा (एकीकृत समाजवादी) का अम्मरबहादुर थापाले चुनाव जितेका थिए। कांग्रेसको धेरै तथा केही हदसम्म तत्कालीन नेकपा (माओवादी केन्द्र) को भोटलाई टेको बनाएर उनले चुनाव जितेका थिए। पाँच दलीय गठबन्धनलाई कडा चुनौती दिँदै एमाले उम्मेदवार रवीन्द्रराज शर्मा झिनो मतान्तरले हार्नुपरेको थियो।

तर, यसपटक परिस्थिति फेरिएको पाइयो। विगतमा जस्तै यसपटक एमाले टक्कर दिने अवस्थामा देखिएन। कट्टर एमाले समर्थकहरू पार्टीलाई भोट नै नदिने परिस्थितिमा पुगेको पाइयो। यहाँ पनि यसपटक 'नयाँलाई' भन्ने लहर चलेको पाइयो।
गुराँस गाउँपालिका वडा नम्बर ४ स्थायी ठेगाना भएकी कृष्णा ओलीको घरमा सात भोट छ। विगतमा यो भोट एमालेलाई प्राप्त हुने गर्दथ्यो। अब यो सात भोट एमालेले नपाउने उनले बताइन्। पालिका अध्यक्ष र वडाध्यक्ष एमालेले जिते पनि आफूहरूको समस्यामा अलिकति पनि सहयोग प्राप्त नभएको उनको गुनासो छ। 'त्यसैले भोट परिवर्तन हुन्छ। घण्टीमा भोट हाल्ने सोच छ,' उनले भनिन्, 'सासू-ससुरा बुढो हुनुहुन्छ र उहाँहरूको भोट पनि मैले नै हाल्ने हो।'
गुराँस गाउँपालिकामा केही होटल सञ्चालकहरूसँग कुरा गर्दा उनीहरू विगतमा एमालेका भोटर रहेछन्। उनीहरू पनि यसपटक एमालेलाई भोट हाल्ने मुडमा रहेको पाइएन। एमालेले कार्यक्रम गरे झण्डा बोकेर जाने, सहयोग गरेजस्तो पनि गर्ने तर भोट भने नहाल्ने होटल सञ्चालकहरूले बताए।

गत स्थानीय निर्वाचनमा गुराँस गाउँपालिका अध्यक्ष उपाध्यक्षसहित ६ वटा वडा एमालेले जितेको हो। २ वडा भने कांग्रेसले जितेको छ। १० हजार भन्दा बढी मतदाता रहेको यो पालिका एमालेको गढ नै हो।
डुङ्गेश्वर गाउँपालिका वडा नम्बर ५ डाँडापराजुलकी मैनकला विक उमेरले ५२ वर्षकी पुगिन्। शरीरमा अनेक समस्याले जेलिएकी उनले यसअघि एमालेलाई नै मतदान गरेको बताइन्। परिवारमा ५ भोट रहेको दाबी गर्दै उनले यी भोट एकै ठाउँमा जाने तर विगतकै निरन्तरता नहुने बताइन्।
तर, एमालेलाई मत हाल्छु भन्ने मानिसहरू पनि नभेटिएका होइनन्। उमेरले ३४ पुगेका थिरबहादुर शाहीको घरमा चार भोट रहेछन्। गुराँस नगरपालिका ५ घर भए पनि चार नम्बर वडामा रहेको घोडाबासमा उनको पसल छ। उनले नयाँ दलमा विश्वास गर्न नसक्ने भन्दै सबै भोट एमालेलाई नै हाल्ने उल्लेख गरे। 'नयाँको विश्वास छैन। घण्टीमा भोट हाल्न सकिन्न, एमालेमै जान्छ भोट,' उनले भने। यस्तै डुङ्गेश्वर गाउँपालिकाका ४६ वर्षीय नेत्रबहादुर कार्कीले पनि आफूले एमालेलाई नै भोट दिने बताए।
भोट हाल्न परदेशबाटै श्रीमान्को निर्देशन
देशभर जस्तै दैलेख १ मा पनि नयाँको माहोल छ। सुर्खेतसँगको निकटताले पनि यहाँ रास्वपाको माहोल बढेको स्थानीय बताउँछन्। केही मतदाता रवि र बालेनको नाममा मत हाल्छु भन्ने भेटिए।
विशेष गरेर भारत तथा वैदेशिक रोजगारमा गएका मानिसहरूले घर-घरमा फोन गरेर घण्टीमा मत हाल्न निर्देशन दिइरहेको एमालेबाट निर्वाचित नारायण नगरपालिकाका मेयर लोमन शर्माले स्वीकारे। 'तर यो नगन्य सङ्ख्यामा छ। यसले हामीलाई केही फरक पार्दैन,' मेयर शर्माले भने।
क्षेत्र नम्बर १ मै पर्छ २५ वर्षीया इन्द्रा शाहीको घर। उनको श्रीमान् विदेश छन्। निर्वाचनको समय नजिकिएसँगै इन्द्राका श्रीमान्ले विदेशबाट फोन गरेर घण्टीमा भोट हाल्न निर्देशन दिइरहेका छन्। लोकान्तरसँग कुरा गर्दै उनले सुनाइन्, 'बुढाले विदेशबाट फोन गरेर घण्टीमा भोट हाल्नु भनेपछि घण्टीमै भोट हाल्ने हो।'

सँगै रहेकी २७ वर्षीया नविना र २५ वर्षीया दुर्गा शाहीले पनि इन्द्राको कुरामा सही थपे। 'दुई घण्टा हिँडेर बच्चाहरू स्कुल आउँछन्। विकास चाहिएको छ र बालेन-रविको मुख हेरेर भोट दिने हो,' उनीहरूले थपे।
डुङ्गेश्वर गाउँपालिका वडा नम्बर ६ का ६८ वर्षीय भवानीप्रसाद न्यौपाने पनि अब मत बदल्नुपर्छ भन्ने मनस्थितिमा पुगेका छन्। ४० वर्षसम्म एउटालाई मतदान गर्दा आफूले केही नपाएको गुनासो उनको सुनियो। 'भोट घण्टीलाई दिन्छु। एमाले पार्टी भने मरिकाट्यै छोड्दिन,' उनले गर्वका साथ भने, 'पाँच वर्षपछि फेरि एमाले नै बलियो भइहाल्छ। किन पार्टी छोड्नु?'
कसको चर्चा कति?
यो क्षेत्रमा कांग्रेसले बासना थापालाई उम्मेदवार बनाएको छ। पार्टी महासमिति सदस्य थापा २०७४ को स्थानीय तह निर्वाचनमा नारायण नगरपालिका उपप्रमुखमा पराजित भएकी थिइन्। यसपटक भने उनले प्रतिनिधिसभा निर्वाचनका लागि टिकट पाएकी छन्। उनको स्थिति खराब नभएको र प्रतिस्पर्धामा आउने अनुमान मतदाताहरूको छ।
सदरमुकामस्थित एनएमबि चोक, नयाँ बजारमा भेटिएका मतदाताहरू गणेशप्रसाद शर्मा र चन्द्र बिसीले बासना थापाले अरू उम्मेदवारलाई कडा टक्कर दिने बताए। आफूले कसलाई मतदान गर्ने भन्ने उनीहरूले खुलाउन नचाहे पनि कांग्रेस र रास्वपाका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने आकलन सुनाए। तर कांग्रेसभित्र अन्तर्घात हुन नहुने उनीहरूको भनाइ थियो।

'युवा महिला भएकाले पनि उहाँको सम्भावना राम्रो छ। अन्तर्घात नभए कांग्रेसले कडै चुनौती प्रस्तुत गर्छ,' चन्द्रले भने, 'कुनै बेला कांग्रेसको गढ थियो, अहिले पनि राम्रै छ।'
विगतमा रुखमा भोट हाल्दै आए पनि गएको निर्वाचनमा एमालेलाई मतदान गरेकी डुङ्गेश्वर पाँच नम्बर वडाकी मैनकला विकले पनि बासनालाई भोट हाल्ने बताइन्। जसमा लक्ष्मी विक र गगनरा विक पनि सहमत देखिए।
क्षेत्र नम्बर १ कै मतदाता ३० वर्षीय गणेश शाही र ५९ वर्षीय तुलबहादुर थापाले पनि आफूसहित परिवार सबैको भोट रुखमै हाल्ने पक्षमा उभिरहेको बताए। 'नयाँ भन्दैमा भिजन केही छ र? लहरको पछि किन लाग्ने?,' शाहीले भने।
फरक-फरक पालिका र वडामा गएर मतदातासँग संवाद गर्दा 'तारा' चुनाव चिह्नमा मत हाल्ने मान्छे पाउनै मुस्किल भयो। धेरैको मुखमा घण्टी, रुख र सूर्यबाहेक चुनावी बहस नै सुनिएन। नेकपाबाट यहाँ अम्मरबहादुर थापा उम्मेदवार छन्।

निवर्तमान सांसद तथा शिक्षा समिति सभापति भएर समेत काम गरेका थापा अनुभवी नेता हुन्। एमाले राजनीतिको पृष्ठभूमि, पटक-पटक सांसद बनेका अनुभवी नेता थापालाई यसपालि चुनाव जित्न सहज हुने देखिएन। एकदमै मेहेनत र व्यक्तिगत प्रभाव पार्न सके मात्र यहाँ उनले चुनाव जित्ने छन्। उनको मत घण्टी र एमालेले काट्ने देखिन्छ। रास्वपामा उम्मेदवार बन्न गएका एनके पनि अघिल्लो महिनासम्म एमाले नै थिए। एमालेमा टिकट नपाएपछि उनी अवसर खोज्दै रास्वपा पुगेका हुन्। उनै एनकेले वामपन्थी दलको भोट काट्ने देखिन्छ।
मतदाताको अपेक्षा
मतदानको दिन आउन धेरै समय बाँकी छैन। उम्मेदवारहरू भने मत माग्न पुगेकै छैनन्। त्यसैले जनताले को कस्तो उम्मेदवार भनेर थाहा पाउन सकेका छैनन्। आफ्नो गुनासो सुनाउन सकेका छैनन्।
मतदाता मैनकला विकलाई आँखा नदेख्ने समस्या छ। उनी कान पनि खासै सुन्दिनन्। उनलाई राज्यले दिने सामाजिक सुरक्षा भत्ता चाहिएको छ। अघिल्लोपटक एमालेले भत्ता दिलाउँछु भनेर भोट हाले पनि आफूले भत्ता नपाएको गुनासो उनले गरिन्। उनले अब भत्ता पाइने आशा रहेको बताइन्।

कोभिडको समयमा डुङ्गेश्वर निवासी सुकमाया टेलरको १७ वर्षीय छोरा बित्यो। सुकमायाका समस्या अनगिन्ती रहेछन्। उनले घर बनाएकी छन् र त्यो घरका लागि अनुदानमा जस्तापाता चाहिएको रहेछ।
अघिल्लोपटक जस्तापाता किनिदिन्छु भनेर उनले भोट हालिन्। तर वडा वा पालिकामा जाँदा पनि उनले जस्तापाता पाइनन्। घर जसोतसो बनाइन्, पुनः ट्वाइलेट र धारा बनाउने बेला उनले जस्तापाता पाइनन्। त्यसैले यसपटक उनलाई भोट हाल्नै मन छैन।
'नेताले सधैँ ढाँट्यो। यसपटक भोट हाल्ने मन छैन,' उनले सुनाइन्। साथै उनले आफू बस्ने दलित बस्तीमा भोट माग्न कोही नआएको समेत सुनाइन्।

यहाँ विकास, रोजगारी, खानेपानीजस्ता विषय चुनावी एजेन्डा छैनन्। हुनेखाने जति सबै सुर्खेत वा अन्य विकसित शहर बसाइँसरेका छन् । आर्थिक रूपमा मध्यम र निम्न आय भएकाहरू मात्रै गाउँमा भेटिए।
नेताहरूले दिक्क बनाएका कारण कसैले विकासको कुरै गर्दैनन्। सदरमुकाममा भेटिएका गणेशप्रसाद शर्माका अनुसार यहाँ एजेन्डाको मतलब हुँदैन। 'यहाँ जसले व्यक्तिगत सम्बन्ध राम्रो बनाउन सक्छ, उसैले चुनाव जित्छ,' उनले निष्कर्ष सुनाए।