०६ असार २०८३, शनिबार

प्रहरीमाथि ढुंगामुढा र सवारी साधनमा आगजनी गरेको आरोपमा १३ जना पक्राउ

फागुन ९, २०८२
काठमाडौं
प्रहरीमाथि ढुंगामुढा र सवारी साधनमा आगजनी गरेको आरोपमा १३ जना पक्राउ

काभ्रेपलाञ्चोकमा प्रहरीमाथि ढुंगामुढा र सवारी साधनमा आगजनी गरेको आरोपमा १३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका-२ का २६ वर्षीय विदुर बुढाथोकी, तेमाल गाउँपालिका-८ का २३ वर्षीय विकास राय, बनेपा नगरपालिका-८ का ३२ वर्षीय श्याम मानन्धर, चौरीदेउराली गाउँपालिका-९ का २८ वर्षीय नवीन तामाङ रहेका छन्  ।

यसैगरी, बनेपा नगरपालिका-१३ का ४० वर्षीय उमेश खत्री, बनेपा नगरपालिका-४ का २१ वर्षीय सिजन श्रेष्ठ, सिन्धुपाल्चोकको बलेफी गाउँपालिका-६ का १९ वर्षीय सुदर्शन तिमिल्सिना, काभ्रेको भुम्लु गाउँपालिका-६ का ३२ वर्षीय राम बहादुर माझी पनि पक्राउ परेका काभ्रेका डीएसपी रविन विष्टले बताए ।

काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका-७ का २२ वर्षीया रेनुशा मोक्तान, रोशी गाउँपालिका-६ का २९ वर्षीया कविता रसाइली, मण्डन देउपुर गाउँपालिका-१२ का २५ वर्षीय सरोज पराजुली, रोशी गाउँपालिका-२ का २१ वर्षीय रवि थापा र बारा घर बताउने ३९ वर्षीय नगेन्द्र शाह समेत पक्राउ परेका डीएसपी विष्टले बताए ।

फागुन ६ गते बिहान बनेपाबाट साँगातर्फ गइरहेको बा.प्र.०१-००४ क ३४२३ नम्बरको ट्रिपरले सोही दिशातर्फ गइरहेको बा.प्र.०२-०६३ प ९१८९ नम्बरको स्कुटरलाई चाँदनी चोकमा ठक्कर दिएको थियो । 

दुर्घटनामा स्कुटर चालक ३० वर्षीय ओमन प्रधान सख्त घाइते भई उपचारका लागि शीर मेमोरियल अस्पताल बनेपा लगेकोमा उपचारका क्रममा मृत्यु भएको थियो ।

त्यसपछि आवश्यक अनुसन्धानका लागि खटिएको प्रहरी टोलीमाथि ढुंगामुढा गरी अनुसन्धान कार्यमा अवरोध गर्नुका साथै उक्त ट्रिपरमा आगजनी गरी क्षति पुर्‍याएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ परेका सबैमाथि फागुन ६ गतेबाटै लागू हुनेगरि काभ्रे जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको डीएसपी विष्टले बताए । 

salt training

कमेन्ट गर्नुहोस्