
सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीमा स्वतन्त्रसहित ११ जना उम्मेदवार चुनावी मैदानमा छन् । उनीहरू अहिले चुनावी घरदैलोमा व्यस्त छन् ।
यहाँ उम्मेदवार धेरै भए पनि मुख्यत: नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बीच हुने देखिन्छ ।
पञ्चायतकालमा लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्रीका रूपमा पाइसकेको बैतडीमा एक मात्र निर्वाचन क्षेत्र छ । त्यसैले राप्रपाको पनि यो क्षेत्र पकड भित्रै पर्छ । यद्यपि राप्रपा चुनाव जित्ने दौडमा छैन । उसको मतले अन्य दलको नतिजा प्रभाव पार्न सक्छ । राप्रपाले यसपटक लोकेन्द्रबहादुर चन्दका छोरा भुपेनबहादुर चन्दलाई उम्मेदवार बनाएको छ ।
बैतडीबाट यसअघि लगातार तीनपटक नेकपा एमालेका दामोदर भण्डारीले चुनाव जितेका थिए । यो जिल्लाको मतदाता संख्या एक लाख ५६ हजार ३७२ छ । त्यसमध्ये पुरुष मतदाताको संख्या ७८ हजार ९८७ र महिला मतदाताको संख्या ७७ हजार ३८३ रहेको छ ।
जिल्लामा निर्वाचन आयोगले वर्गीकृत गरेको अन्य वर्गका मतदाताको संख्या पनि दुई जना रहेको छ । बैतडी जिल्लामा सबैभन्दा बढी मतदाता सदरमुकामसमेत रहेको दशरथ चन्द नगरपालिकामा छ । यो नगरपालिकामा २३ हजार आठ सयभन्दा बढी मतदाता छन् ।
बैतडी जिल्लामा १० वटा स्थानीय पालिका छन् । त्यसमध्ये चारवटा नगरपालिका र ६ वटा गाउँपालिका रहेका छन् । यी दश स्थानीय तहमा दशरथ चन्द नगरपालिका, पाटन नगरपालिका, पुर्चौडी नगरपालिका, मेलौली नगरपालिका, डिलासैनी गाउँपालिका, दोगडा केदार गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, शिवनाथ गाउँपालिका, सिगास गाउँपालिका र सुर्नया गाउँपालिका रहेका हुन् ।
हामीले बैतडीको विभिन्न पालिका अन्तर्गत पर्ने खोड्पे, पाटन, देहीमाण्डो, सतबाझ, पुर्चौडी हाट, गुरुखोला, ग्वालेक, मेलौली, गोठलापानीलगायतका स्थानमा पुगेर मतदातासँग कुराकानी गर्यौं । यसक्रममा नेपालको पश्चिम सिमाना भारतको झुलाघाट पुल वारीसम्म पुगेर पनि मतदातासँग कुराकानी गर्यौं ।

झुलाघाट वारीको भू–भाग दशरथ चन्द नगरपालिकाको वडा नम्बर ८ मा पर्छ । हामीले यहाँ एक सय ६५ मतदातासँग कुराकानी गर्यौं । हामीले कुराकानी गरेका मतदातामध्ये ३० प्रतिशतले नेपाली कांग्रेस, ३० प्रतिशतले नेकपा एमाले, ३० प्रतिशतले रास्वपा र पाँच प्रतिशतले नेकपाको पक्षमा खुलेरै आफ्नो अभिमत व्यक्त गरे । बाँकी पाँच प्रतिशतमध्ये केहीले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई मतदान गर्ने बताए भने केही मतदाता खुल्न चाहेनन् ।
नेपालको सबैभन्दा पश्चिम क्षेत्रको सिमाना महाकाली नदी यसै जिल्ला भएर बग्छ । महाकाली नदीको पारी भारतको झुलाघाट र वारी दशरथ चन्द नगरपालिकाको वडा नम्बर ८ पर्छ । यो क्षेत्रमा भेटिएका करिब ५० मतदातामध्ये ८० प्रतिशतले रास्वपालाई मतदान गर्ने बताए । यीमध्ये अधिकांश यातायातमा काम गर्ने व्यक्ति, भरिया, स्थानीय व्यापारी र सीमा क्षेत्रसँग जोडिएका भू–भागका मतदाता थिए ।
दशरथ चन्द नगरपालिका, पाटन नगरपालिकासहित बजार क्षेत्रका अधिकांश मतदाता भने नेपाली कांग्रेस, एमाले, नेकपालगायतका पुराना दलको पक्षमा उभिए । ग्रामीण क्षेत्रका अधिकांश मतदाताको रुझान पुरानै दलप्रति थियो ।
रास्वपाका उम्मेदवार हरि मोहन भण्डारी राप्रपा, कांग्रेस हुँदै रास्वपामा प्रदेश गरेका हुन् । उनी वर्तमान सरकारका मन्त्री राजेन्द्रसिंह भण्डारीका भाइ हुन् ।
उनले नेपाली कांग्रेसको मत काट्ने सम्भावना देखिन्छ । २०६४ मा राप्रपाबाट नेपाली कांग्रेस प्रवेश गरेका भण्डारी २०७४ मा कांग्रेसबाट करिब पाँच हजार मतले प्रदेश सभामा हारे । तत्कालीन समयमा एमाले र माओवादीबीच तालमेल थियो । २०७९ मा कांग्रेसले प्रदेश सभामा टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका उनी पराजित भए । तर, अहिले विगतमा भण्डारीलाई साथ दिएका कांग्रेसका क्रियाशील सदस्यहरू मत फेर्ने पक्षमा देखिँदैनन् ।
नेकपाका उम्मेदवार प्रमानन्द भट्टसँग एमालेबाट एकीकृत समाजवादी हुँदै नेकपामा पुगेको राजनीतिक इतिहास छ । उनी एमालेमा रहँदा दामोदर भण्डारीभन्दा सिनियर र स्थापित थिए । त्यसैले उनले एमालेको मतमा केही असर पुर्याउने देखिन्छ । तर, यहाँका मतदाताको राय बुझ्दा प्रतिस्पर्धा भने कांग्रेस र एमालेबीच नै देखिन्छ ।

कांग्रेसका उम्मेदवार चतुरबहादुर चन्द नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष पनि हुन् । त्यसैले उनले क्रिकेटको पछिल्लो क्रेजलाई उपयोग गरेर युवा मतदातालाई पनि तान्ने सम्भावना रहेको स्थानीय बताउँछन् ।
उम्मेदवारमध्ये अधिकांशले यो जिल्लालाई चुनावका दृष्टिकोणले हेर्दै आए पनि चन्दका परिवारले भने अझै पनि निरन्तर कार्यथलो बनाउँदै आएको स्थानीय बताउँछन् । यसअघि २०७४ र २०७९ सालको निर्वाचनमा समेत चतुरको नाम चर्चामा आए पनि अन्तिम समयमा आएर उनी उम्मेदवार बन्नबाट वञ्चित भएका थिए ।
२०७९ को निर्वाचनमा ५१ प्रतिशत मात्रै मत खसेको अभिलेख छ । तीन पटकसम्म जितेका भण्डारीप्रति यहाँका मतदाता असन्तुष्ट देखिन्छन् । अचम्म कुरा त ८ वर्षपछि मात्रै कांग्रेस चुनावी मैदानमा होमिँदै छ । २०७४ मा नरबहादुर चन्द रुख चिन्हबाट लडेका थिए ।
बैतडीका १० स्थानीय तह र ८४ वडामध्ये २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमालेका भण्डारीले नै जित हासिल गरेका थिए । त्यतिबेला कांग्रेसले माओवादीसँग गठबन्धन गरेको थियो । स्थानीय तहको निर्वाचनमा माओवादीसँग गठबन्धन गरेको कांग्रेसले स्थानीय तहको निर्वाचनमा पाँच पालिका र ४४ वडामा निर्वाचन जितेको थियो ।
कांग्रेसले चार स्थानीय तह र ३२ वडा तथा माओवादी केन्द्रले एक स्थानीय तह र १२ वडामा निर्वाचन जितेका थिए । एमालेले भने चार स्थानीय तह र ३६ वडामा स्थानीय तहको निर्वाचन जितेको थियो ।
विगतका निर्वाचनमा मिश्रित परिणाम दिएका बैतडीका मतादाता यसपटक भने रास्वपातिरै बढी ढल्किएका छन् । एमालेका भण्डारीले विकास नगरेको र मतदाताको अनुसार काम नगरेको भन्दै उनीप्रति मतदाता आक्रोशित बनेका छन् ।
दशरथचन्द– ४ का उत्तमराज जोशीका अनुसार एमालेका उम्मेदवार भण्डारी (बैतडीबाट तीन पटक विजेता)ले पछिल्ला वर्षमा खासै विकासमा ध्यान दिएका छैनन् । उनी भन्छन्, ‘हामीले तीन पटक लगातार जिताएर पठायौं, उहाँलाई जिल्ला टेक्न त परै जाओस्, यहाँका समस्या र आफ्ना जिल्लावासीको गुनासो सुन्ने फुर्सद देखिएन । अब उहाँलाई मत खसाल्दैनौं, बरु कांग्रेसले यस पटक प्रत्यक्षतर्फ चन्दलाई उठाएको छ, उहाँले खेलकुदसँगै यहाँका युवाको समस्या पनि समाधान गर्नुभएको छ, हामी विचार गर्दैछौं ।’
दशरथचन्द नगरपालिका–२ का विरेन्द्र धामी भने यस पटक नयाँ शक्ति (रास्वपा)लाई नै मत दिने बताउँछन् । ‘यसअघि कांग्रेस र एमाले हेरियो, केही गरेनन्, यो पटक प्रत्यक्ष र समानुपातिक दुवैमा घण्टीलाई भोट दिन्छु’, उनले भने, ‘पुराना दलले दिएका आश्वासन सुनेर हामी आजित भइसक्यौं, यहाँ बाटो र खानेपानीको समस्या छ, यसलाई रास्वपाले पूरा गर्छ भन्ने लाग्छ ।’

यही नगरपालिकाको वडा नम्बर ८ त्रिपुरासुन्दरीका नारायण थापाले पञ्चायतकालमा लोकेन्द्रबहादुर चन्दलाई जिताए पनि उनले प्रधानमन्त्री बन्दासम्म पनि यो क्षेत्रलाई प्राथमिकता नदिएका कारण रास्वपालाई अवसर दिने बताए ।
उनले लोकान्तरसँग भने,‘यहाँ बाली लगाउनै हुँदैन, भित्र्याउने बेलामा बाँदरले धेरै दु:ख दिन्छ, अब सुक्खा मौसम शुरू हुने बेला भयो, खानेपानीको हाहाकार हुन्छ, हामी तिर्खाले छट्पटाउँछौं । वर्षौं भयो खानेपानीको समस्याबारे कुनै पनि उम्मेदवारले हेरेनन्, यो पटक रास्वपालाई काम गर्न दिने भनेर उतै मत खसाल्ने योजनामा छु ।’
महाकालीसँग जोडिएको झुलाघाटमा रहेका नेपाली कामदार तथा व्यवसायीसँग पनि हामीले निर्वाचनका बारेमा केही कौतुहलता मेट्ने प्रयास गर्यौं । झुलाघाटमा व्यापार गर्दै आएका धनसिंह भाटले तीन पटकसम्म एमालेलाई हेर्दै आए पनि अब भने रास्वपालाई मतदान गर्ने बताए ।
उनले भने,‘दार्चुलासँग जोड्ने सडक बनाउन थालेको कति भइसक्यो, बनेको छैन । हामी मासिक चार हजारसम्म भाडा तिरेर बसेका छौं, व्यापार धान्न मुस्किल छ, विकास पूर्वाधारले पनि टाढिएको यो क्षेत्रमा सर्वसाधारणको आउजाउ पातलो छ । कम्तीमा सडक सञ्जाल पूरा भएको भए धेरै राम्रो हुन्थ्यो, अब यी सबै काम रास्वपालाई सुम्पने निर्णयसहित प्रत्यक्ष र समानुपातिक दुवैमा उसैलाई मत खसाल्ने प्रतीक्षामा छु ।’
महाकालीमा यातायात क्षेत्रमा लामो समयदेखि काम गरिरहेका सुशील क्षेत्रीले यो निर्वाचनमा बैतडीबाट रास्वपालाई नै जिताएर पठाउने बताए । उनले भने,‘२०६४ सालदेखि एमाले र माओवादीलाई भोट दिएँ, अब अरु दल हेर्दिनँ सिधै रास्वपालाई दिने हो, बालेनले देश बनाउँछु भनेको छ ।’
क्षेत्रीले आगामी पाँच वर्ष रास्वपालाई हेर्ने र उसले पनि केही गर्न नसके पुन: मत फेर्ने बताए ।
दशरथ चन्द नगरपालिका-३ दुर्गाभवानीका राजेन्द्र नाथ शारीरिक रूपमा अशक्त छन् । लौरो टेक्दै गरेको अवस्थामा गोठालापानीमा भेटिएका उनले भने,‘म शारीरिक रूपमा अपांग छु, मलाई सरकारले अपांग भत्ता दिँदैन, आँखा देख्ने र हिँड्न सक्नेलाई भत्ता दिन्छ, मैले विगतदेखि एमालेलाई हेर्दै आएँ, अब नयाँ शक्तिलाई हेर्ने हो ।’
उनले नयाँ शक्तिबारे भने खुलाउन चाहेनन् ।