३० जेठ २०८३, शनिबार

सुपर-८ को दोस्रो खेलमा श्रीलंका र इङ्गल्याण्ड भिड्दै, वर्षाको खतरा

फागुन १०, २०८२
काठमाडौं
सुपर-८ को दोस्रो खेलमा श्रीलंका र इङ्गल्याण्ड भिड्दै, वर्षाको खतरा

टी-२० विश्वकपको सुपर–८ चरण अन्तर्गत आज दोस्रो खेलमा आयोजक श्रीलंका र इङ्गल्याण्डबीच रोमाञ्चक प्रतिस्पर्धा हुँदैछ। 

श्रीलंकाको क्यान्डीस्थित पाल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा दिउँसो ३:१५ बजे सुरु हुने यस खेल दुवै टोलीका लागि महत्वपूर्ण छ। समूह चरणमा दुवै टोलीले चारमध्ये तीन खेलमा जित र एक खेलमा हार बेहोर्दै सुपर–८ को यात्रा तय गरेका हुन्।

 श्रीलंका आफ्नो अन्तिम समूह खेलमा जिम्बाब्वेसँग पराजित भएको थियो भने इङ्गल्याण्डलाई वेस्टइन्डिजले स्तब्ध पारेको थियो।
खेलाडीहरूको व्यक्तिगत प्रदर्शनलाई हेर्दा श्रीलंकाका पाथुम निसांका निकै उत्कृष्ट लयमा देखिन्छन्। उनी चार खेलमा १९९ रन बनाउँदै जारी प्रतियोगितामा टोलीका लागि सर्वाधिक रनकर्ता बनेका छन्। 

बलिङतर्फ दुषन हेमन्थ ६ विकेटका साथ श्रीलंकाका मुख्य बलर रहेका छन् । अर्कोतर्फ, इङ्गल्याण्डका लागि ज्याकब बेथेलले सानदार ब्याटिङ गर्दै १४३ रन जोडेका छन् भने तीव्र गतिका बलर जोफ्रा आर्चरले ६ विकेटका साथ बलिङ आक्रमणको नेतृत्व गरिरहेका छन् । 

पाल्लेकेलेको पिच विशेषगरी स्पिनरहरूका लागि सहयोगी मानिन्छ। सुरुवाती ओभरमा तीव्र गतिका बलरलाई केही स्विङ प्राप्त भए तापनि मध्य ओभरमा स्पिनरहरू हाबी हुने सम्भावना छ। यो मैदानमा पहिले ब्याटिङ गर्ने टोलीले १७० रनसम्म बनाउन सके त्यसलाई बलियो योगफल मानिनेछ। यद्यपि, आजको खेलमा मौसमले मुख्य चुनौती खडा गर्न सक्ने देखिएको छ। 

क्यान्डीमा आज वर्षा हुने सम्भावना ६० देखि ८० प्रतिशतसम्म रहेकाले खेल अवरुद्ध हुन सक्ने वा ओभर छोट्याइन सक्ने अनुमान गरिएको छ।
 

salt training

कमेन्ट गर्नुहोस्