
इरानमा फेरि विद्यार्थीहरूले प्रदर्शन शुरू गरेका छन् । केही इरानी विश्वविद्यालयका विद्यार्थीहरूले पुन: सरकारविरुद्ध प्रदर्शन गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । गत महिना अधिकारीहरूले हिंसात्मक कारबाही शुरू गरेपछि यो ठूलो प्रदर्शन हो ।
राजधानी तेहरानमा रहेको शरीफ युनिभर्सिटी अफ टेक्नोलोजीको क्याम्पसमा प्रदर्शनकारीहरूले मार्च गरेको बीबीसीले जनाएको छ। पछि प्रदर्शनकारीकारी र सरकार समर्थकहरूबीच झडप भएको देखिएको समाचारमा उल्लेख छ ।
तेहरानको अर्को विश्वविद्यालयमा धर्ना दिइएको थियो । उत्तरपूर्वी क्षेत्रमा पनि र्याली भएको रिपोर्ट गरिएको थियो। जनवरीमा भएको विशाल विरोध प्रदर्शनमा मारिएका हजारौंलाई विद्यार्थीहरूले श्रद्धाञ्जली अर्पण गरिरहेका थिए ।
संयुक्त राज्य अमेरिकाले इरान वरिपरि आफ्नो सैन्य उपस्थिति बढाइरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सीमित सैन्य कारबाहीबारे विचार गरिरहेको बताएका छन् ।
अमेरिका र यसका युरोपेली सहयोगीहरूले इरान आणविक हतियार विकास गर्ने दिशामा अघि बढिरहेको शंका गर्छन्, जुन इरानले निरन्तर अस्वीकार गर्दै आएको छ ।