
लुम्बिनी प्रदेशका १२ जिल्लामा कूल प्रतिनिधिसभाका २६ निर्वाचन क्षेत्र छन् । लुम्बिनी प्रदेशको धेरै (५ वटा) निर्वाचन क्षेत्र रहेको रूपन्देहीबाट निरन्तर चुनाव जित्दै आएका नेता हुन् एमाले उपाध्यक्ष विष्णु प्रसाद पौडेल ।
यही फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि उनी रूपन्देही क्षेत्र नम्बर–२ बाट उम्मेदवार छन् । पूर्व उपप्रधानमन्त्री एवं अर्थमन्त्रीसमेत रहेका पौडेल लुम्बिनी प्रदेशबाट २०६४ यताका सबै संसदीय चुनाव जित्ने एक्ला नेतामा पर्छन् ।
उनै पौडेल यतिबेला पाँचौं जित निकाल्ने तयारीका साथ चुनावी मैदानमा छन् । के पौडेलले आउँदो निर्वाचनमा आफ्नो पुरानो विरासत जोगाउलान् ? भन्ने चर्चा यस क्षेत्रमा छ ।
पौडेलको संसदीय यात्रा भने, २०५१ मा तत्कालीन पाल्पा–३ बाट जित हासिल गरेर भएको थियो । त्यसपछि रूपन्देही झरेर २०५६ मा चुनाव लडे पनि उनी कांग्रेसका सूर्यप्रसाद प्रधानसँग (हाल दिवंगत) पराजित हुने पुगेका थिए । त्यसपछिका सबै निर्वाचनमा पौडेलको संसदीय यात्रामा ‘ब्रेक’ लागेको छैन ।
मुलुक शान्ति प्रक्रियामा आएपछि तत्कालीन नेकपा माओवादीको प्रभाव हुँदा पनि पौडेल २०६४ मा तत्कालीन रुपन्देही–४ बाट माओवादी नेता भक्ति पाण्डेलाई (हाल दिवंगत) पराजित गरी रुपन्देहीबाट आफ्नो संसदीय यात्रामा अघि बढे । २०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा पौडेलले तत्कालीन माओवादीका प्रभावशाली नेता तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई ८ हजार मतान्तरले पराजित गरी चर्चामा आएका थिए ।
२०७४ मा तत्कालीन माओवादी र एमालेबीच तालमेल गरी भएको निर्वाचनमा पौडेलले कांग्रेसका उम्मेदवार युवराज गिरीलाई दोब्बर मतान्तरले पराजित गरे । २०७९ को निर्वाचनमा पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार गणेश पौडेललाई १ हजार ३६६ मतान्तरले जित निकालेका थिए ।
अबको निर्वाचनमा पनि आफूलाई यही भूगोल र माटोका जनताले विजयी गराउने पौडेल बताउँछन् । ‘मैदानमा उत्रिएपछि प्रतिस्पर्धा त होला, तर परिणामको हिसाबले नेकपा एमालेको अग्रतालाई चुनौती दिने हुन्छ भन्ने मलाई लाग्दैन’, पौडेलले भने, ‘म आउँदो निर्वाचनबाट पनि जित हासिल गर्नेमा ढुक्क छु । बुटवलका जनताको माया, विश्वास र सद्भाव सधैँ पाएको छु, पाउनेछु ।’
पौडेलले रुपन्देहीका जनताले आफूलाई विजयी गराएर पश्चताप गर्नुपर्ने अवस्था आउन नदिएको बताए । आगामी दिनमा पनि यस्तो अवस्था आउन नदिने उनको प्रतिबद्धता छ ।
पौडेलले यस क्षेत्रबाट निर्वाचित भएर पार्टी र सरकारको भूमिकामा प्रभावकारी नेतृत्व गरे । जिल्लामा विकासका ठूला आयोजना भित्र्याएको विषयमा जनताका बीचमा चर्चा हुन्छ । यो क्षेत्रमा बुटवल उपमहानगरपालिकाका १ देखि १३ नम्बर वडासम्म, तिलोत्तमा नगरपालिकाका १ देखि ६ नम्बर वडा र सैनामैना नगरपालिकाका १ देखि ४ नम्बर वडासम्म पर्छन् ।
‘लगातार चार संसदीय चुनाव जित्नु कुनै सामान्य उपलब्धि होइन, यो सफलताले उहाँको जनआधार, रणनीतिक क्षमता र राजनीतिक अनुभवलाई स्पष्ट देखाउँछ’, एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरेले भने ।
हरेक निर्वाचनमा मतदातासँग प्रत्यक्ष सम्पर्क, स्थानीय मुद्दामा चासो र संगठन सुदृढीकरण पौडेलको जितेको आधार मानिन्छ । पौडेलसँग युवा तथा खेलकुद, जलस्रोत, तीन पटक अर्थमन्त्री, रक्षामन्त्रीको नेतृत्व गरेको बलियो अनुभव छ ।
तीन दशक बढी राष्ट्रिय राजनीतिमा प्रभावशाली भूमिका निभाइरहेका पौडेलको सरकार र पार्टीको सफल नेतृत्व गर्ने राजनीतिज्ञका रूपमा चर्चा हुन्छ ।
युवा राजनीतिक विश्लेषक रामचन्द्र श्रेष्ठले रुपन्देहीको भौतिक र पूर्वाधार विकासमा विष्णु पौडेलको बढी योगदान रहेको बताउँछन् ।
‘पूर्वाधार पहिलो प्राथमिकता हो, त्यसले अरू व्यापार व्यवसाय सृजना गर्नुपर्ने हुन्छ’, श्रेष्ठ भन्छन्, ‘उहाँको (पौडेलको) कामले नागरिकमा सकारात्मक प्रभाव पारेको देखिन्छ । त्यो मनोविज्ञानले निर्वाचनमा काम गरिरहेको जस्तो देखिन्छ ।’
श्रेष्ठले यस क्षेत्रका उद्योगी र व्यवसायीले पनि विष्णु पौडेललाई खोजिरहने बताए । ‘किनभने, केन्द्रीयस्तरको नेता भयो भने, उद्योगी व्यवसायीलाई पनि सहज हुन्छ भन्ने मनोविज्ञान छ ।’
नीतिगत आर्थिक स्पष्टता, पार्टी संगठनको खम्बा, दक्ष कूटनीति सञ्चालन, लगानी प्रवर्द्धनको पक्षपाति उम्मेदवार पौडेलका थप पहिचान हुन् ।
यो निर्वाचनमा पौडेलसँग नेपाली कांग्रेसका चुन्न पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुलभ खरेल, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का विश्वदीप पाण्डे र उज्यालो नेपाल पार्टीका सुरज पाण्डे प्रतिस्पर्धामा छन् । मूलत: यहाँ एमाले, कांग्रेस र रास्वपाबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ ।
नेकपाका उम्मेदवार पाण्डे अहिलेको निर्वाचनमा बुटवलबाट आफूले निकाल्ने दाबी गर्छन् । यस पटक रुपन्देही–२ ले युवा खोजीमा रहेको बताउँदै त्यसका लागि आफू उपयुक्त पात्र रहेको पाण्डेको भनाइ छ ।
रास्वपा रुपन्देही सचिवालय सदस्य मधु अर्याल यो पटक रास्वपाले राम्रो मतान्तरले जित्ने निकाल्ने दाबी गर्छन् । ‘जनताले ‘यो पटक तपाईंलाई’ भन्ने मत घरदैलोमा पाएका छौं’, अर्यालले भने, ‘घरदैलोमा राम्रो उत्साह पाएका छौं ।’
कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँण भने यो पटक रुपन्देही–२ कांग्रेसले जित्ने दाबी गर्छन् । ‘एक्लाएक्लै लड्दा रुपन्देहीका सबै क्षेत्रमा कांग्रेस सबैभन्दा बलियो छ’, सभापति खाँणले भने, ‘हामीले आफ्नो भोट जोगाएर यो पटक क्षेत्र नम्बर २ मा जित निकाल्नेमा विश्वस्त छौं ।’