२९ जेठ २०८३, शुक्रबार

भदौ २३/२४ को घटनाले निजी क्षेत्रको आत्मविश्वास फर्काउने विषय चुनौतीपूर्ण

फागुन १०, २०८२
काठमाडौं
भदौ २३/२४ को घटनाले निजी क्षेत्रको आत्मविश्वास फर्काउने विषय चुनौतीपूर्ण

यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अधिकांश राजनीतिक दलले घोषणापत्र सार्वजनिक गरिसकेका छन् । 

उनीहरूको घोषणापत्रमा निजी क्षेत्रलाई अर्थतन्त्रको मुख्य इञ्जिन मानिएको छ र व्यावसायिक जगतको आत्मविश्वास बढाउन आफूहरूले नीतिगत सुधार गर्ने दाबी पनि गरेका छन् ।

लगानीकर्तालाई विश्वास दिलाउन करका दर स्थिर राख्ने, राज्य केवल सहजकर्ता वा नियामकमात्र रहने, भयरहित वातावरण बनाउने, स्वदेशी उत्पादन र नयाँ उद्यमीलाई प्रोत्साहन गर्ने, एकाधिकार हटाउने, कानून संशोधन गरी अवरोध हटाउने, लगानीलाई व्यापारभन्दा उत्पादनशील क्षेत्रमा केन्द्रित गर्न प्रोत्साहन गर्नेजस्ता विषय घोषणापत्रमा समेटिएका छन् । 

यद्यपि, गत भदौ २३/२४ को जेनजी आन्दोलनका क्रममा आफ्नो सम्पत्ति र भौतिक संरचनामाथि भएको आक्रमणका कारण निजी क्षेत्रको मनमा लागेको घाउ अझै पनि आलै छ । तसर्थ, जोसुकै दल आए पनि आसन्न प्रतिनिधिसभा निर्वाचनपछि गठन हुने सरकारले व्यावसायिक जगतको मनमा लागेको ठेस निको पार्न यथेष्ट प्रयास गर्नुपर्ने देखिन्छ । 

अनलाइन समाचार पोर्टल ‘क्लिकमाण्डु डट कम’ले हालै सार्वजनिक गरेको ‘जेनजी विद्रोहपछि लगानीकर्ताको आत्मविश्वास र व्यावसायिक वातावरण, २०८२’ शीर्षकको अध्ययन प्रतिवेदनले पनि निजी क्षेत्रको आत्मविश्वास इतिहासकै कमजोर बिन्दुमा पुगेको देखाएको छ । 

प्रतिवेदनअनुसार ९८ प्रतिशत लगानीकर्ताको मनोबल कुनै न कुनै स्तरमा कमजोर भएको देखिएको छ भने ९७ प्रतिशत व्यवसायीले लगानीको वातावरण कमजोर भएको महसुस गर्नु भएको छ । यसैगरी ७० प्रतिशत व्यवसायी थप लगानीका निमित्त ‘पर्ख र हेर’को अवस्थामा रहेको प्रतिवेदनको ठहर छ ।  

भौतिक तथा आर्थिक क्षति र लगानीकर्ता व्यवसायीको मनोबल मापन गर्ने तथा व्यावसायिक वातावरण जाँच गर्ने उद्देश्यका साथ गरिएको सो अध्ययनले नेपालका स्थापित र ठूला व्यवसायीमा गहिरो मनोवैज्ञानिक र आर्थिक चोट पुर्‍याएको देखाएको छ । खासगरी भौतिक क्षतिको तुलनामा विश्वास र मनोबलको क्षति निकै डरलाग्दो देखिएको छ ।  

मुलुकको कूल गार्हस्थ्य उत्पादन, पुँजी निर्माण, रोजगारी सिर्जना तथा सरकारी राजस्व परिचालनमा निजी क्षेत्रको योगदान उल्लेखनीय छ । तर दुई दिनको गतिविधिले निजी क्षेत्रको भौतिक संरचना, उत्पादन प्रणाली, सेवा प्रवाहमा गम्भीर क्षति पुर्‍याउनुका साथै उद्यमीहरूको मनोबलमा निकै नराम्रो असर पुर्‍याएको प्रतिवेदनको ठहर छ । 

अर्बौं रूपैयाँ बराबरको प्रत्यक्ष भौतिक क्षति, उत्पादन र बिक्रीमा आएको अवरोध, आपूर्ति शृङ्खलाको विच्छेद र लाखौं नेपालीको रोजगारी गुम्ने अवस्था जेनजी विद्रोहका प्रत्यक्ष नतिजा भएको विषय अध्ययनमा सहभागी लगानीकर्ता व्यवसायीले उठाएका छन् । 

जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न व्यावसायिक प्रतिष्ठानमा भौतिक तथा आर्थिक क्षति भएको छ भने धेरै व्यवसायीको व्यावसायिक गतिविधिमा मात्र नभई व्यक्तिगत घर र गाडीमा आक्रमण भएको छ । जेनजी प्रदर्शनका कारण व्यवसायीले भोगेको क्षतिको प्रकृति विश्लेषण गर्दा भौतिक क्षतिभन्दा ठूलो असर मनोबलमा परेको पाइएको हो । 

प्रतिवेदनमा प्रमुख सूचनादाताका रूपमा सहभागी नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले भनेका छन्, ‘दशकौंको मेहनत र अर्बौंको लगानीबाट खडा गरिएका उद्योग र व्यावसायिक प्रतिष्ठानमा तोडफोड र लुटपाट हुँदा त्यसले भौतिक क्षति मात्र गर्दैन, एउटा उद्यमीको आत्मविश्वासको जग नै हल्लाइदिन्छ । आफ्नो लगानी र सम्पत्ति सुरक्षित छ त ? भन्ने त्रासमा बाँच्नुपर्ने अवस्था कुनै पनि व्यवसायीका लागि सबैभन्दा ठूलो पीडा हो ।’

उनका अनुसार अंकमा मापन गर्नै नसकिने ‘मनोवैज्ञानिक क्षति’ भौतिक क्षतिभन्दा निकै बढी छ । लगानीकर्ताको मनोबल टुट्नु र असुरक्षाको भावना बढ्नु मुलुकको दीर्घकालीन विकासका लागि निकै महँगो साबित हुने उनको भनाइ छ । 

महासंघका पूर्वअध्यक्ष शेखर गोल्छाले भनेका छन्, ‘प्रदर्शनपछि आर्थिक क्षतिका विवरण आइरहेकै छन् । तर, आर्थिकभन्दा मानसिक क्षति बढी भएको महसुस मैले गरेको छु । रोजगारी सिर्जना गर्ने, कर तिर्ने र जोखिम मोलेर सम्पत्ति सिर्जना गर्ने वर्गमाथि ईर्ष्या र रिसइबीका कारण प्रहार हुनु असह्य छ ।’     

salt training

कमेन्ट गर्नुहोस्