
नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइराला र कांग्रेसका पूर्वसभापति स्व. गिरिजाप्रसाद कोइरालाको विरासत रहेको सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा यसपटक कडा प्रतिस्पर्धा देखिएको छ ।
कुनैबेला कांग्रेसको पकेट क्षेत्र मानिएको सुनसरीमा कांग्रेस रक्षात्मकजस्तो देखिएको हो । २०१५ सालको निर्वाचनमा कांग्रेस संस्थापक कोइराला सुनसरी–मोरङको यही क्षेत्र (तत्कालीन ३२ नम्बर क्षेत्र)बाट चुनाव जितेर प्रधानमन्त्री बनेका थिए ।
बीपी कोइरालाको सरकार अपदस्थ गरेर पञ्चायतले ७५ जिल्ला कायम गर्नुअघि झापा–मोरङ र सुनसरी एउटै जिल्ला थिए । सुनसरीका स्थानीयहरू अहिलेको ४ नम्बरलाई ‘कांग्रेसको रूखको नर्सरी’ भएको बताउँछन् ।
२०३६ सालको आन्दोलनमा सक्रिय सहभागी भाडाबापत् पञ्चायतबाट यातना पाएका भोक्राहा नरसिंह गाउँपालिकाका देवनारायण मण्डलले बीपी कोइराला र गिरिजाप्रसाद कोइराला पटक–पटक चुनाव जितेको क्षेत्रमा कांग्रेस कमजोर बनेको बताए । ‘बीपी कोइराला यहाँ आउनुभएको थियो, हाम्रो बुवाहरूले चुनाव जिताएर पठाउनुभएको हो,’ मंगलले भने ।
टाउको र खुट्टामा पञ्चायती व्यवस्थाले यातना दिँदा लागेको घाउको खत देखाउँदै उनले कांग्रेसले देशलाई सही निकास दिन नसक्दा आफूहरू नयाँ दललाई भोट दिने निष्कर्षमा पुगेको बताए ।
‘ह्याट्रिक’ गर्ने दाउमा रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीलाई रास्वपाका ई. दीपक साहले अवरोध सिर्जना गरेका छन् । पछिल्ला संसदीय निर्वाचनमा कार्की लगातार विजयी भएका थिए । उनी पूर्वअर्थमन्त्रीसमेत हुन् ।
‘यसपटक नयाँलाई मौका दिने’ भनेर मतदाताले देशभर आवाज गुञ्जाइरहेका बेला सुनसरीमा नयाँ उम्मेदवारले २ पटक जितेका नेतालाई हायलकायल बनाएका छन् । स्थानीय समाजसेवी एवं उद्यमी साहले माहोल तताउँदा कांग्रेस र दोस्रो प्रतिस्पर्धामा रहेको एमाले रक्षात्मक देखिएका छन् ।

सुनसरी ४ लाई कांग्रेसको आधारभूमि मानिँदै आएको थियो । ०४८, ०५१ र ०५६ सालको चुनावमा कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला विजयी भएका थिए । कोइरालाले जितेको त्यो बेलाको क्षेत्र नम्बर ५ अहिले निर्वाचन क्षेत्र निर्धारण हुँदा ४ मा परेको छ ।
‘एकबार बालेनलाई हेर्न घण्टीमा भोट दिने’
मधेश प्रदेश र अन्य तराईका जिल्लामा जस्तै सुनसरी ४ मा पनि रास्वपा वरिष्ठ नेता बालेन शाहप्रतिको क्रेज असाधारण छ । सुनसरीकै क्षेत्र नम्बर १ मा हर्क साम्पाङको चर्चा भए पनि ४ मा उनको प्रभाव न्यून छ । काठमाडौं नटेकेका कतिपय मतदाताले बालेनले आफ्नो क्षेत्रलाई पनि काठमाडौंजस्तै चम्काउने दाबी गरे ।

सुनसरी ४ का मतदाता राजु साहले धेरैको सल्लाह नै यसपटक नयाँलाई हेर्नुपर्छ भन्ने रहेको बताए । ‘मान्छेले नानाथरि कुरा गरेका छन् । सुनेको छु बालेन शाहले काठमाडौंमा विकास राम्रो गरेको छ रे ! त्यही भएर नयाँलाई हेर्ने,’ उनले भने ।
स्थानीय शिवेन्द्र साह गाउँकै उम्मेदवार भएकाले दीपक साहलाई भोट दिने योजनामा रहेको बताए । ‘एकचोटी त हामी पनि नयाँलाई हेर्छु, काम गरेनन् भने फेरि विचार गरौँला नि !’ साहले भने ।
अर्का मतदाता जितेन्द्र यादव चुनावमा कांग्रेस–एमालेलाई बारम्बार सबैले हेरेको र यसपटक नयाँलाई हेर्ने योजना रहेको उनले सुनाए । ‘गाउँघर सबैको चाहना छ । यसपटक बालेन साहलाई दिने । उनले राम्रो गर्छन् भन्ने भरविश्वास छ,’ यादवले भने ।
पूर्वपश्चिम राजमार्गबाट दक्षिणमा रहेको एउटा गाउँमा सानो पसल सञ्चालन गर्दै आएका शोभालाल मण्डल यसपटक नयाँलाई परीक्षण गर्ने योजनामा रहेको बताउँछन् ।
‘पालैपालो सबैको देख्यौँ, माओवादी, कांग्रेस, एमाले सबैलाई देख्यौँ । यसपटक नयाँ अनुहारलाई देखौँ भन्ने धेरैको कुरा छ,’ मण्डलले भने ।

यसअघि २ पटक चुनाव जिते पनि कांग्रेस उम्मेदवारसँग मतदाता टाढिएका छन् । कृषक सम्भुप्रसाद पोदार देशको राम्रो भविष्यमा लागि नयाँलाई भोट दिने विचार गरेको बताए । ‘बालेन प्रधानमन्त्री भएको हेर्ने चाहना छ, विकास भएन भने ५ वर्ष हेर्ने त्यसपछि अर्को हेर्ने,’ उनले भने ‘कांग्रेस एमाले र माओवादीले धेरैबार अवसर पाएर पनि जनताको भलाइको लागि काम गरेनन् ।’
प्रजातन्त्र स्थापनका लागि लडेका कांग्रेसका प्रतिबद्ध कार्यकर्ता देवनारायण महतो यसपटक बदलिएका छन् । ‘देश परिवर्तन गरौँ, बालेनलाई ल्याऔँ भनेका छन् । मानिसहरू पुरानासँग दिक्क भएका छन्, देउवाको घरका कति पैसा थियो । कहाँबाट ल्याएको थियो ?’
सिटी सफारी चलाउने सुनसरी ४ का अर्का मतदाता उपेन्द्र साहले यसपटक नयाँलाई हेर्ने इच्छा रहेको बताए । ‘सबैले घण्टीमा भोट दिने बालेनलाई प्रधानमन्त्री बनाउने भनिराखेको छ, नयाँ आयो भने विकास गर्छु भनेर बोलिराखेको छ,’ साहले भने ।
विश्वेश्वर मण्डलले पनि यसपटक नयाँलाई दिएर हेर्ने योजना रहेको बताए ।

भोक्राहा नरसिंह गाउँपालिका ४ का नेपाली कांग्रेस नगरसमितिका वडाअध्यक्ष सफुल अन्सारीले अन्तिममा कांग्रेसले चुनावको नतिजा पल्टाउने दाबी गरे । ‘देशमा प्रजातन्त्र ल्याउन नयाँको लगानी के छ ? यो देशको विकास गर्ने कांग्रेस पार्टी हो । गगन थापा सभापति भएपछि युवाहरूको आकर्षण बढेको छ । कांग्रेसले जितेमा देशमा राम्रो हुन्छ,’ उनले भने ।
मोहमद जफर आलमले पनि कांग्रेसकै पक्षमा माहोल रहेको बताए ।
सुनसरी ४ का अर्का मतदाता सदरुल अन्सारीले युवाहरूले परिवर्तन चाहिरहेको बताए । ‘सबैले भनिरहेको छ कि यसपटक नयाँलाई पनि हेर्नुपर्छ । यो जनताको मनको कुरा हो,’ अन्सारीले भने ।
इनरुवामा अटो रिक्सा चलाउने मुर्सिद अन्सारीले भने नेपाली कम्युनिस्ट पार्टीलाई भोट दिने बताए ।

पूर्वपश्चिम राजमार्गमा सानो पसल राखेका राजेश साह सबैले नयाँ नयाँ भनिरहेको सुन्दा आफैँलाई आश्चर्य लागिरहेको बताए । ‘किन हो सबैले बालेन र घण्टी घण्टी भनिरहेका छन्, नयाँ सरकार बन्यो भने देशको प्रगति हुन्छ भनेर होला,’ उनले भने ।
मोटरसाइकल सर्भिसिङ सेन्टरमा काम गर्ने सुनसरी ४ का मतदाता जयप्रकाश यादवले अन्य दलभन्दा नयाँको चर्चा चलिरहेको बताए । ‘बढी चाहिँ बालेनको देखेको छु । त्यसपछि कांग्रेस र फोरम (जसपा)को चर्चा देखिरहेको छु,’ यादवले भने ।
मजदुर राजकुमार मण्डलले घण्टी छापलाई भोट दिने आफ्नो योजना रहेको बताए । सुनसरी ४ का अर्का मतदाता देवाल मियाले आफू मत परिवर्तनको पक्षमा नरहेको बताए । ‘मान्छेले जेसुकै भनोस् म एमालेलाई नै भोट दिने हो,’ उनले भने ।

मतदाताको फेरिएको मन– यसपटक नयाँलाई
देशका अन्य भागमा जस्तै सुनसरी ४ मा पनि मतदाताले एकपटक नयाँलाई हेर्न र मौका दिन चाहेको बताए । लोकान्तर डट्कमको टीमले सुनसरी ४ अन्तर्गतका विभिन्न क्षेत्रमा कयौँ मतदातासँग कुराकानी गरेको थियो । पार्टीका प्रतिबद्ध कार्यकर्ताबाहेक सर्वसाधारण मतदाताले पुरानो पार्टीमा भोट नहाल्ने बताए ।
सुनसरी ४ मा नेपाली कांग्रेसको तर्फबाट ज्ञानेन्द्रबहादुर कार्की, नेकपा एमालेबाट जगदीशप्रसाद कुसियत, नेकपाबाट महमद महफुज अन्सारी, रास्वपाबाट दीपक साह, जसपाबाट सविता यादवलगायत उम्मेदवार छन् ।
२०७९ सालको चुनावमा कांग्रेसका कार्कीले एमालेका कुसियतलाई झिनो मतान्तरले पराजित गरेका थिए । कार्कीले ३० हजार ४ सय ८३ मत पाउँदा एमालेका कुसियतले ३० हजार ३ सय ७१ मत पाएका थिए ।

कांग्रेस–एमाले पुरानो मतलाई आधार मानेर जीत-हारको रणनीति बनाएका छन् । रास्वपाले भने पुरानो निर्वाचनको जग हल्लिएकाले त्यो गणितको कुनै औचित्य नहुने बताउँदै आएको छ ।
रामधुनी नगरपालिकाका विकास चौधरी राजनीतिक आस्थाको हिसाबले कांग्रेस समर्थित हुन्, तर अहिले युवाहरूले बालेन–बालेन भनेकाले नयाँको सम्भावना बढेको बताए । ‘पुराना राजनीतिक दलले आफ्ना भोट सुरक्षित राख्न सक्ने अवस्था छैन, यसपटक पुराना दललाई अफ्ठ्यारो देखिरहेको छु,’ चौधरीले भने ।
मतदानको समय नजिकिदै जाँदा राजनीतिक दलले प्रचार प्रसारको कामलाई तीव्र बनाएका छन् ।
के भन्छन् मतदाता ? हेर्नुहोस्, भिडियो
‘ब्लु प्रिन्ट’सहित सुनसरीको व्यवस्थित ढंगले विकास गर्छु
यसपटकको निर्वाचनमा सुनसरीमा रास्वपा उम्मेदवार दीपक साहले चुनावी रौनक बढाएका छन् । उम्मेदवार साहले सुनसरीका मतदाताको आग्रहमा आफू चुनाव लड्न आएको र जितेमा यो क्षेत्रलाई नमुना बनाउने बताए ।
‘मतदाता निकै उत्साही छन्, सामाजिक काममा सक्रिय भएको मलाई जनताले बोलाएर चुनाव लड्न आग्रह गरेका हुन् । जनताले परिवर्तन खोजेका छन्, बेथितिको अन्त्य गर्ने कुरा गरिरहेका छन्,’ साहले भने, ‘पुरानो नेताले बाचा गरे, झुटा आश्वासन पूरा गरेनन् । जितेर गए पनि नआउने कुरालाई जनताले धेरै चित्त दुखाएका छन् ।’

सुनसरी जिल्ला शैक्षिक रूपमा अझै पछाडि रहेकाले शैक्षिक विकास आफ्नो प्रमुख एजेन्डा रहेको उनले बताए । ‘भोक्राहा नसिंहा छात्रावास र प्राविधिक शिक्षा अध्ययन गर्ने नमूना विद्यालय बनाउने योजना बनाएको छु,’ उनले भने, ‘सुनसरी ४ को व्यवस्थित विकासका लागि ब्लु प्रिन्ट बनाएर काम गर्छु ।’
बराह क्षेत्र र रामधुनी नगरपालिकालाई रामायण सर्किटसँग जोडेर पर्यटनको सम्भावना खोज्ने र बन्द उद्योग खुलाउन पहल गर्ने साहले बताए ।
साहले जनताले परिवर्तन चाहेकाले आफूले फराकिलो मतान्तरले चुनाव जित्ने दाबी गरे । ‘सबै उम्मेदवारलाई मेरो सम्मान छ, यो क्षेत्रका भिजन भएको नेता दीपक साह हो भनेर जनताले बुझेका छन् । हरेक हिसाबले सक्षम उम्मेदवार म हुँ’ साहले भने ।
हेर्नुहोस्, भिडियो कुराकानी