
हेटौंडा उपमहानगरपालिकास्थित यातायात व्यवस्था कार्यालयमा कार्यरत अधिकृत छैटौं अमृत भेटवाल र एक ‘बिचौलिया’ घुस रकमसहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडास्थित कार्यालयबाट गएको टोलीले उनीहरूलाई रङ्गेहात पक्राउ गरेको हो ।
सवारी सरुवा सहमति गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचना तथा उजुरीका आधारमा पुगेको आयोगको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।
उनका अनुसार बिचौलिया लेखापढी व्यवसायी खगेन्द्र पौडेलले सेवाग्राहीबाट ११ हजार पाँच सय घुस लिइसकेको अवस्थामा मंगलबार हेटौंडा उपमहानगरपालिका-११ स्थित यातायात व्यवस्था कार्यालय परिसरबाट अधिकृत भेटवाल र पौडेललाई पक्राउ गरिएको हो।
पक्राउ परेका दुवै जनाबाट तीन थान मोबाइल सेटसमेत बरामद गरिएको आयोगका प्रवक्ता न्यौपानेले बताए । उनीहरूमाथि थप अनुसन्धान भइरहेको न्यौपानेले जानकारी दिएका छन् ।