२४ जेठ २०८३, आइतबार
चुनावी ग्राउन्ड जिरो- जाजरकोट

तीनपटक चुनाव जितेका शक्ति बस्नेतलाई कांग्रेस-एमालेको कडा टक्कर

शक्तिको वास्तविक शक्ति परीक्षण हुँदै, युवाको रोजाइमा कांग्रेसका खडक
फागुन १३, २०८२
जाजरकोट
तीनपटक चुनाव जितेका शक्ति बस्नेतलाई कांग्रेस-एमालेको कडा टक्कर
पृष्ठभूमिमा जाजरकोट सदरमुकाम खलंगा र शक्तिबहादुर बस्नेत (नेकपा), खडकबहादुर बुढा (कांग्रेस), डम्बरबहादुर सिंह (एमाले) र राघव कार्की (रास्वपा) गोलो घेरामा क्रमश: बायाँबाट ।

ठूलो भूगोल । पातलो बस्ती । १ लाख ७ हजार भन्दा बढी मतदाता । १४६ मतदान केन्द्र र ११ उम्मेदवार । यो निर्वाचनको चित्र हो जाजरकोट जिल्लाको ।

एक मात्र निर्वाचन क्षेत्र भएको कर्णाली प्रदेशको जिल्ला जाजरकोटमा चुनावी माहोल विस्तारै तात्दैछ । भौगोलिक अवस्थितिले हुनसक्छ उम्मेदवारहरू प्रत्येक मतदाताको घरदैलोसम्म पुग्नै सकेका छैनन् ।

दैलेखको सदरमुकामबाट मध्यपहाडी लोकमार्ग हुँदै करिब ४० किलोमिटर बढी यात्रा गरेपश्चात् लोकान्तर टोलीले जाजरकोटको छेडागाड नगरपालिकामा कदम राख्यो । पालिका प्रवेश गर्नेबित्तिकै चुनावी ज्वरो ह्वात्तै बढ्यो भन्ने खालका कुनै पर्चा पम्प्लेट तथा अन्य प्रचार सामाग्री केही देखिएनन् ।

पालिकाको वडा नम्बर २ मा पर्ने डेटकुला गाउँमा सोमबार भेटिएका ५२ वर्षीय गणेशबहादुर थापालाई हामीले निर्वाचनको माहोलबारे सोध्यौं । इन्द्रज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक समेत रहेका थापाले पनि खासै चुनावी माहोलको अनुभूति गर्न नपाएको हामीलाई सुनाए ।

‘चुनावी माहोल खासै देखिएको छैन । भोट माग्न साना दलहरू त आइपुगे तर माहोल भने आइसकेको छैन,’ उनले भने ।

null

२१ फागुनमा देशभर प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० गरेर २७५ जना प्रतिनिधि छान्नका लागि नेपाली जनताले मतदान गर्दैछन् । सोही चुनाव आफ्नो पक्षमा पार्न र ‘माननीय’ बन्ने दाउमा जाजरकोटमा ११ उम्मेदवार चुनावी मैदानमा छन् । जसमा निवर्तमान सांसद तथा पटक-पटक मन्त्री बनेका शक्तिबहादुर बस्नेत नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट उम्मेदवार छन् । 

नेपाली कांग्रेसबाट खडकबहादुर बुढा, नेकपा एमालेमाबाट डम्बरबहादुर सिंह, रास्वपाबाट राघव कार्की, राप्रपाबाट कृष्ण विक्रम शाह, नेमकिपाबाट धनी राम जैसी, राष्ट्रिय जनमोर्चाबाट रत्नबहादुर खड्का, प्रलोपाबाट मेघबहादुर आले, नेकपा माओदीबाट बलबहादुर मल्ल, मंगोल नेशनल अर्गनाइजेसनबाट कमान बुढा मगर र उज्यालो नेपाल पार्टीबाट कर्णबहादुर नेपाली उम्मेदवार छन् । 

त्रिपक्षीय भिडन्त

११ उम्मेदवार चुनावी मैदानमा भए पनि जाजरकोटमा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ । विशेषगरी विगतदेखि नै प्रतिस्पर्धा गर्दै आएका दलहरू साबिक नेकपा माओवादी केन्द्र हाल नेपाली कम्युनिस्ट पार्टी, नेपाली कांग्रेस र नेकपा एमालेबीच प्रतिस्पर्धा हुने लोकान्तरले जाजरकोटका विभिन्न पालिकाका १६० मतदातासँग गरेको संवादबाट विश्लेषण गर्न सकिन्छ ।

प्रधानाध्यापक थापाले हामीसँग संवादको क्रममा बताए अनुसार यहाँ नयाँ शक्तिको भन्दै उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले टक्कर दिन सक्ने अवस्था छैन । यद्यपि, रास्वपाले राप्रपा, नेमकिपा लगायत अन्य दलको तुलनामा बढी नै भोट ल्याउने उनले सुनाए ।

null

‘यहाँ नयाँ जेनेरेसन एकातिर तथा पुराना एकातिर छन् । घरभित्र बच्चाबच्ची नयाँ दल भन्छन् भने अभिभावक साबिकको दल भनिरहेका छन्,’ शिक्षक थापाले भने । 

विगतमा जस्तो यसपटक कुनै पनि दलले गठबन्धनको वैशाखी टेकेका छैनन् । खासगरी नेकपाका उम्मेदवार शक्ति बस्नेतले पछिल्लो दुई निर्वाचनमा गठबन्धनको सहयोगमा जीत निकालेका थिए । २०७४ मा एमाले र २०७९ मा कांग्रेससँग गठबन्धन थियो । गठबन्धनको मर्म अनुसार यहाँ एमाले, कांग्रेसले आफ्नो मत खन्याएका थिए । २०७० को संविधानसभा निर्वाचनमा जाजरकोट क्षेत्र नम्बर १ मा बस्नेत एमाले उम्मेदवार डम्बर सिंहसँग झिनो मतान्तरले विजयी भएका थिए । जाजरकोट क्षेत्र नम्बर २ मा कांग्रेसका राजीव विक्रम शाह निर्वाचित भएका थिए । संविधान जारी भएपछि जाजरकोटमा प्रतिनिधिसभातर्फ एउटा क्षेत्र बनाइएको छ भने त्यसपछि दुवै निर्वाचनमा बस्नेत निर्वाचित भए । 

जाजरकोटमा यसपटकको निर्वाचनमा रास्वपाले कसको कति मत चोर्छ भन्ने यकिन छैन । सबै विषयलाई हिसाब गर्दा यहाँ कुन दलले चुनाव जित्छ भन्ने अहिले नै प्रस्ट चित्र देखिएन । यद्यपि चुनावमा त्रिपक्षीय भिडन्त हुने लगभग निश्चित नै छ । 

छेडागाडा-५ थलह बजारमा भेटिएका नेकपा एमालेका पूर्वजिल्ला अध्यक्ष तथा २०७९ मा प्रदेशसभा सदस्यको चुनाव लडेका खिमबहादुर शाहीले पनि सोही विश्लेषण सुनाए ।

‘गठबन्धन छैन । सबै दल आफ्नो संगठनको दममा चुनाव लड्दैछन्,’ शाहीले भने, ‘मैले एमालेले जित्छ भनेर दाबी गर्नु स्वाभाविक भए पनि चुनावमा त्रिपक्षीय भिडन्त हुने पक्का छ।’

शक्तिको बल्ल शक्ति परीक्षण  

२०७२ मा संविधान जारी भएपश्चात् २०७४ मा पहिलोपटक संघीय संरचनाको निर्वाचन क्षेत्रमा चुनाव भयो । जिल्लाबाट तत्कालीन नेकपा माओवादी केन्द्रका तर्फबाट शक्तिबहादुर बस्नेत उम्मेदवार बने । उनले शानदार जित निकाले ।

बिर्सन नहुने विषय उनले यहाँ गठबन्धन गरेर चुनाव जितेका थिए । त्यसबेला उनलाई नेकपा एमालेले काँध हालेको थियो । निर्वाचन आयोगको तथ्यांक अनुसार २०७४ मा बस्नेतले ३२ हजार २८१ मत ल्याउँदा नेपाली कांग्रेसका उम्मेदवार राजीवविक्रम शाहले २३ हजार २८९ मत पाएका थिए ।

शक्तिबहादुर बस्नेत ।

त्यसको पाँच वर्षपछि पश्चात् अर्थात् २०७९ मा भएको निर्वाचनमा पनि बस्नेतले यहीँबाट चुनाव लडे । त्यसबेला नेपाली कांग्रेससँग गठबन्धन भएको थियो । गठबन्धनबाट उम्मेदवार बनेका उनले ३४ हजार १५१ मत ल्याउँदा दोस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार निरजप्रसाद आचार्यले २५ हजार १२० मत ल्याएका थिए ।

तथ्यांकमा हेर्दा शक्तिले दुई पटक गठबन्धनको वैशाखी टेकेर निर्वाचनमुखी खोला तरेका छन् । त्यसअघिको संविधानसभा निर्वाचनमा भने उनी माओवादीको एकल भोटमा निर्वाचित भएका थिए । उनलाई चौंथो जित निकाल्न सहज नरहेको हामीले स्थलगत अध्ययनका क्रममा बुझ्यौं । 

छेडागाड नगरपालिका वडा नम्बर ३ का ४८ वर्षीय वीरबहादुर थापाको घरमा ६ भोट छ । यस्तै, तुलबहादुर थापाको घरमा पनि कम्तीमा चार भोट छ । यी सबै भोट सूर्यमा जाने उनीहरूले हामीलाई सुनाए । सोही वडाको १२ नम्बर वडाका यज्ञबहादुर खत्रीका अनुसार यसपटक नेकपाबाट उम्मेदवार बनेका शक्ति बस्नेतलाई चुनाव जित्न सहज छैन ।

‘पहिला जस्तो माहोल छैन । सबै प्रतिस्पर्धामा छन् । शक्तिलाई गाह्रो छ,’ उनले लोकान्तरसँग सुनाए ।

शिवालय गाउँपालिका-१ मा भेटिएका लालबहादुर महताराको घरमा पाँच भोट रहेछ । उनले कसलाई मत दिने निर्णय गरिसकेका छैनन् । उनी बस्नेतलाई मत दिने मनस्थितिमा पनि देखिएनन् । अघिल्लो निर्वाचनमा भने उनले शक्तिलाई मत दिएका रहेछन् । 

‘यसपटक मुस्किल होला शक्तिलाई । पहिला गठबन्धनबाट उठेका थिए, अहिले एक्लै लड्दै छन्,’ उनले लोकान्तरलाई सुनाए ।

२०७९ को निर्वाचनमा प्रतिनिधिसभाको समानुपातिकतर्फ माओवादी केन्द्रले १४ हजार ४१२ मत पाएर तेस्रो बनेको थियो । नेपाली कांग्रेसले २२ हजार ९३४ मत ल्याएर पहिलो बन्दा नेकपा एमाले १९ हजार ७४९ मतसहित दोस्रो स्थानमा रह्यो । मतदाताले यही तथ्य र तीन पटक जिताउँदा पनि शक्तिले जनअपेक्षा अनुसार काम नगरेको गुनासो सुनाउँदै यसपटक उनको ‘खास शक्ति परीक्षण’ हुने बताए ।

null

‘शक्तिलाई एकपटक उनको बुताले जिते दोस्रो पटक हामीले र तेस्रो पटक कांग्रेसले जिताएको हो । कति पटक शक्तिलाई भोट दिने ? यसपटक उनको शक्ति परीक्षण हुन्छ । माहोल ०७० भन्दा धेरै फेरबदल भइसकेको छ,’ एमाले पूर्वजिल्ला अध्यक्ष खिमबहादुर शाही भन्छन् ।

भेरी नगरपालिका-३ का वडाध्यक्ष लिलाबहादुर शाह पनि यसपटक कांग्रेस मतदाताले एक ढिक्का भएर रूखमा मत हाले खडकबहादुर बुढाले  जिन्त गाह्रो नरहेको दाबी गर्छन् । 

भेरी नगरपालिकाका कार्यपालिका सदस्य तथा नेकपा नेता मनिराम परियार भने ताराले (शक्ति बस्नेतले) चुनाव जित्ने दाबी गरे । 

चुनाव जित्ने कांग्रेस-एमालेको दाबी

जुनीचाँदे गाउँपालिका निवासी पृथ्वीबहादुर शाहीले यसपटक घण्टी अर्थात् राष्ट्रिय स्वतन्त्र पार्टीमा मत हाल्ने योजना बनाएका रहेछन् । यता, भेरी नगरपालिकाका वीरेन्द्र थापाले भने आफू विगतदेखि नै माओवादीलाई मत हाल्दै आएकाले यसपटक तारामा भोट हाल्ने जानकारी दिए ।

जिल्लाका ३२ वर्षीय दीपक बुढाको रोजाइ भने नेपाली कांग्रेस परेको छ । अर्की मतदाता कला बुढाको घरको २ मत सूर्य अर्थात् एमालेमा जाँदैछ । छेडागाड-५ का २७ वर्षीय सुवास शाही, डम्बरबहादुर विष्ट, ५५ वर्षीय कैले बुढा र वीरवहादुर सिंहले कांग्रेसलाई मतदान गर्ने बताए । 

‘यहाँ कांग्रेस चुनाव जित्दै छ । सबैभन्दा युवा उम्मेदवार कांग्रेसकै छन् । युवाले अवसर पाएनन् भन्ने अनि युवा उम्मेदवार उठेको बेला मत नदिने भन्ने कुरै हुँदैन’, उनीहरूको मत छ ।

कांग्रेस नेता एवं कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले पनि यसपटक कांग्रेसले नै जित्ने दाबी गरे । ‘विगतमा गठबन्धन गरेर हामीले यहाँ गुमाएका थियौं । यसपटक शानदार मतका साथ चुनाव जित्छौं,’ शाहले भने । 

यता, नेकपा एमाले पनि चुनाव आफैंले जित्ने दाबी गर्दै चुनावी मैदानमा छ । एमाले पूर्वअध्यक्ष शाहीका अनुसार २०७९ को निर्वाचनमा प्रतिनिधिसभातर्फ एमालेले समानुपातिकमा दोस्रो स्थानमा मत ल्याए पनि प्रदेश १ र प्रदेश २ मा भने पहिलो नम्बरमा मत ल्याएको बताउँछन् । त्यसमाथि घण्टी चिह्नका उम्मेदवारले कांग्रेसको भोट काट्ने भएकाले आफूहरूले चुनाव जित्ने शाहीको हिसाब छ । 

null

‘कांग्रेसभित्र विशेष महाधिवेशनको तुष तलसम्म छ । टिकट वितरणमा असन्तुष्टि छ । कांग्रेसका उम्मेदवार युवा र नयाँ अनुहार भए पनि हाइट भएको नेता होइन,’ शाहीले भने, ‘यसअघि प्रदेशको समानुपातिकतर्फ एमाले पहिलो, दोस्रो कांग्रेस र माओवादी तेस्रो भएकाले हामी चुनाव जित्छौं ।’

शाहीले यसो भने पनि नेपाली कांग्रेस जाजरकोटका कार्यवाहक सभापति समेत रहेका बुढाले युवा मतदाताको मत तान्ने देखिन्छ । हामीसँग कुराकानी गरेका अधिकांश युवाले प्रत्यक्षमा रुख र समानुपातिकमा घण्टी चुनाव चिह्नमा मत दिने सुनाए । 

अहिलेको निर्वाचनमा मुख्य प्रतिस्पर्धामा रहेका उम्मेदवारमध्ये कांग्रेस बुढा सबैभन्दा युवा उम्मेदवार हुन् । जिल्लामा स्वच्छ छविको परिचय बनाएका उनी २०६४ को स्ववियु निर्वाचनमा जाजरकोट सदरमुकाम खलंगामा रहेको पुरानो क्याम्पस भेरी ज्ञानोदयमा नेविसंघका तर्फबाट सभापति निर्वाचित भएका थिए ।

बस्नेत चुनाव जितेर गएपछि चुनावका बेलामा मात्र जिल्ला आउने, जनतासँग सहज एक्सेस नबनाउने गरेको मदाताताको गुनासो छ । 

‘उहाँ ठूलो नेता हो । जिल्लाले ठूलो नेता पाएको छ । हामीलाई ठूलो नेता भन्दा काम गर्ने, जनताको सुखदुःखमा साथ दिने नेता चाहिएको हो’, छेडागाड नगरपालिकाको सुयाडा नजिकै भेटिएका एक मतदाताले भने, ‘उहाँ (शक्ति बस्नेत) चुनाव जितेर गएपछि अर्को चुनावमा मात्र आउनुहुन्छ । हामी काठमाडौं गएका बेला भेट्न पनि मुस्किल पर्छ । यसपालि मत फेर्ने विचार तर कसलाई दिने भन्ने निर्णय गरिसकेको छैन ।’

अघिल्ला चुनावहरूमा गरेका वाचा नै शक्तिका लागि भारी पर्ने देखिएको छ । साथै भूकम्प पीडितका लागि केही गर्न नसकेको गुनासो पनि हामीले पायौं । बस्नेतले आफूले जितेपछि जिल्लाभर विद्युतीकरण गर्ने बताए पनि हुन सकेको छैन । यसैगरी उनले बनाउने भनेका बाटोघाटो पनि नबनेको शिवालयकी एक महिला मतदाताले बताइन् ।

null

‘२०७४ को चुनावमा आउँदा यो बाटो (छेडा-कचाली सडक) पिच गर्छु भन्नुभएको थियो । अहिलेसम्म पिच भएको छैन । यो बाटो हिँड्दा हामीलाई ज्वरो आउँछ’, भनिन् । 

बस्नेत आफैं ऊर्जामन्त्री हुँदा समेत जिल्लाको भविष्यसँग जोडिएको नलगाड जलविद्युत आयोजनाको काम नगरेको मतदाता रुष्ट रहेको पायौं । 

‘चुनाव जित्यो कि उहाँ (शक्ति बस्नेत) मन्त्री हुनुभयो । पहिला पनि समानुपातिक सांसद भएर मन्त्री हुनुभयो । तर जिल्लाका लागि के गर्नुभयो ?, छेडागाडका नरबहादुर बिसीले भने, ‘आफैं ऊर्जा मन्त्री भएका बेला नलगाड जलविद्युतको काम अघि बढाउन सक्नुभएन । हामीले अब पनि कसरी विश्वास गर्ने !’ 

कस्तो छ स्थानीय तहको अवस्था ?

२०७९ को स्थानीय तह निर्वाचनमा यहाँ रहेका विभिन्न पालिका फरक-फरक दलले जितेका छन् ।

कुशे गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष नेपाली कांग्रेसले जितेको थियो । यस्तै, छेडागाड नगरपालिका प्रमुख कांग्रेसले तथा उपप्रमुख माओवादी केन्द्रले जितेको थियो । निर्वाचनको आयोगको तथ्यांक अनुसार जुनीचाँदे गाउँपालिका अध्यक्षमा नेकपा एमाले विजयी हुँदा उपाध्यक्ष भने नेपाली कांग्रेसले जितेको थियो । नलगाड नगरपालिकामा माओवादीले प्रमुख जित्दा उपप्रमुख भने कांग्रेसले जितेको थियो । यहाँकी उपप्रमुखको २०८० को भूकम्पमा परेर निधन भएपछि भएको उपनिर्वाचनमा भने माओवादीले जितेको छ । 

बारेकोट गाउँपालिका प्रमुख नेकपा एमाले तथा उपप्रमुख माओवादी केन्द्रले जितेको थियो । भेरी नगरपालिका प्रमुख एमाले तथा उपप्रमुख कांग्रेसले जित्दा शिवालय गाउँपालिका प्रमुख कांग्रेस र उपप्रमुख माओवादी केन्द्रले जितेको निर्वाचन आयोगको तथ्यांकमा देखिन्छ ।

प्रदेशतर्फ भने दुवै क्षेत्रमा कांग्रेस उम्मेदवार निर्वाचित भएका थिए । जाजरकोट १ (१) मा कांग्रेसका जिल्ला सभापति बेदराज सिंह र जाजरकोट १ (२) राजीवविक्रम शाह निर्वाचित भएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्