
चुनावअघिको संकल्पमा कुनै राजनीतिक दलबाट सार्वजनिक जिम्मेवारी दिने सन्दर्भमा ‘दल होइन अब्बल’ भन्ने आवाज सुनियो । कम्तीमा दलसम्म त्यसको चेतना पुगेछ । मुलुक र जनताको नेतृत्व गर्छु भन्ने सबैबाट यसैखाले संकल्प आउनु पर्ने होइन र ? उहाँहरूलाई हामीले अब्बल भनेर नै जिताउने हो, अब्बल हुनेहरूले अब्बल नै भन्नुपर्छ । भनेर मात्र पुग्दैन, अब्बल गर्नुपर्छ । गर्न नसकिएकोमा पश्चातापसहित पुनर्वाचा गर्नुपर्छ । नराम्रो गर्न कोही नेतृत्वमा जान्छ भन्ने जनता सोच्दैनन्, त्यसैले विगतको विवेचना र भविष्यको सचेत संकल्प तपाईंहरूको कर्तव्य हो ।
नागरिक इच्छाको धरोहर राज्य नैतिक संस्था हो । राज्यले सँधै योग्य र इमानी मानिस खोजिरहेको हुन्छ । लोकतन्त्रले त्यसलाई संस्थागत गरिदिन्छ । लोकतन्त्रको सुन्दर पक्ष नै सबैप्रति न्याय गर्नु हो । कसैप्रति बढी न्याय हुन्छ भने त्यसको एकमात्र आधार क्षमता र इमान्दारिता हो । राज्यका सबै पदप्रति सबैको समान अधिकार हुन्छ, कसैले कुनै पद वा जिम्मेवारी पाउनुको पछिको कारण उसको योग्यता र इमानदारिता हो । विड्रो विल्सनले भनेझैं सबै व्यक्ति खास पदका लागि समान दाबी गर्न सक्छन् तर वास्तविक दाबेदार त्यही हुन्छ, जो अरूभन्दा अब्बल छ ।
के राजनैतिक कार्यकारी दल भुलेर अब्बललाई प्राथमिकतामा राख्छन् ? त्यसो गर्ने सामर्थ्य उनीहरूमा छ ? राजनेताहरू त्यसो गर्ने साहस राख्छन्, राष्ट्र निर्माण र सुशासनको अभीष्ट भएकाहरू त्यसै गर्छन् । आधुनिक अमेरिकाको जग बसाउने जर्ज वासिङ्टनले इमान्दारी, क्षमता र निष्ठा सार्वजनिक जिम्मेवारीका आधार मानेका थिए, त्यसैको जगमा संयुक्त राज्य अमेरिका संयुक्त भावनामा बाँधिएर ‘शक्ति राष्ट्र’ बनेको हो ।
संविधान निर्माणमा समेत नेतृत्व गरेको उनको समूह यसप्रति प्रतिबद्ध थियो । अब्राहम लिंकनले एक कदम अघि बढेर चरित्रवान व्यक्ति नियुक्ति गर्ने प्रतिबद्धता पूरा गर्न प्रतिस्पर्धीहरूको समूह नै गठन गरे । त्यसैले उनी ‘अनेष्ट आबे’ (इमान्दार आबे)का नाममा प्रख्यात भए । रङ्गभेदी शासन उल्ट्याउन नेतृत्व गर्ने नेल्सन मण्डेलाले नैतिक चरित्र, क्षमता र लोकतान्त्रिक मूल्यनिष्ठा सार्वजनिक जिम्मेवारीका आधार बनाए, आफू राष्ट्रपति भएपछि रङ्गभेद गरेनन् । भारतीय प्रधानमन्त्री लालबहादुर शास्त्री नियुक्ति र प्रशासनमा सबैभन्दा नैतिक निष्ठा राख्ने व्यक्ति थिए, जसलाई केही भए पनि आइ के गुजराल, चन्द्र शेखर, अटल विहारी बाजपेयीहरूले पछ्याए । अमेरिकी राष्ट्रपति विड्रो विल्सनले त राजनीतिले नियुक्तिमा दलीय भावना राख्ला भनेर राजनीति र प्रशासनको सीमा विभाजनको सिद्धान्त नै बनाए । यी सबै व्यक्ति राजनेता भए ।
तर, राजनीति गरेका नेतालाई त्यसो गर्न सजिलो छैन मात्र होइन, प्राय: अब्बल भने पनि दलकै छान्छन् । राम्रो होइन हाम्रो छान्छन् । त्यसो गर्ने विशेषाधिकार आफूमा भएको मनोविज्ञानबाट उनीहरू ग्रसित छन् । पार्टीका व्यक्तिहरू पार्टमा विभाजित हुन्छन्, ‘होल’मा रहँदैनन् । नियुक्ति र जिम्मेवारी दिँदा आफन्त, नाता र दलका मान्छे हुँदै उभय पक्षबाट प्रभावित हुनु उनीहरूको प्रवृत्ति हो । आफ्नालाई अवसर दिन मातृभूमिको धुलोमैलोमा दु:ख गरेर अब्बल भएकाहरूलाई भुलेर विदेशमा रहेकालाई खोज्न पनि बेर लगाउँदैनन् ।
राज्यका विशिष्ठ निकायमा आफ्नै मानिस नियुक्ति गरेर नीति, स्रोत र अधिकारमाथि आफ्नो पकड दह्रिलो बनाउने उनीहरूको मनसुवा रहन्छ । कनिष्ठ र कम सक्षमलाई उपयोग जसरी पनि गर्न सकिने, दुरुपयोग गर्न सकिने भएकोले पनि अब्बलभन्दा पर पुगेर आफ्नालाई जिम्मेवारी दिने प्रवृत्ति बनेको हो । अर्को तथ्य के पनि छ भने प्रथम कोटीका नेतृत्वले प्रथमकोटीकै व्यक्ति मन पराउँछन्, दोस्रो कोटीकाले तेस्रो कोटीकालाई । नेतृत्व नै त्यसैकोटीको भए के होला हामी कल्पना गर्न सक्छौं । अब्बल होइन, दलीय विकृतिले संस्थाहरू निम्छरा बनेका छन् । दलबाट बिटुलिएका संस्थाले निष्पक्षता, न्याय र सुशासन दिने होइन, त्यसैका बाधक बन्दछन् । राजनैतिक संस्कार नबसेको समाजमा त यो झनै झाँगिएको छ ।
केही नजिकका उदाहरण लिऔं, श्रीलंकामा राष्ट्रपति निर्वाचनमा अत्यधिक मतले चुनावी परिणाम हात पारेका महिन्दा राजापाक्छेले आफ्ना तीन भाइहरू गोतावाया राजापाक्षी, वासिल राजपाक्षी र चामल राजापाक्षीलाई क्रमश: रक्षा मन्त्री, अर्थमन्त्री र संसद्को सभामुख बनाए । २२५ सदस्यीय संसद्मा ३७ जना उनको पारिवारिक नाता थिए, सबै महत्त्वपूर्ण हैसियत राख्दथे । प्रशासनका सबै पदहरू राजापाक्षी समर्थक थिए, मन नपरेका प्रशासकीय पदाधिकारीलाई छानीछानी जगेडामा राखिएको थियो ।
लामो सशस्त्र आन्तरिक द्वन्द्व समाधान गरेर शान्ति र समृद्धीलाई दिइएको गोतावाया, महिन्दा दाजुभाइमा मतको मात यति बढी भयो कि उनीहरूलाई प्रश्न गर्ने सबै निस्तेज पारिए । संसद्मा देवत्वकरण गरिए । शासनमा परिवार जस्तो भयो । प्रश्न गर्ने कोही नभएपछि उर्लेको जनआक्रोशले राजनेताको छवि बनाएका गोतावाया समेतले भाग्नु पर्ने स्थिति आयो । अब्बल सबै हाम्रा हुन्, राजनीति छुट्टै हो, अब्बललाई राजनीतिले कमान्ड गर्ने हो भन्ने बुझिएको भए बासदीको त्यो स्थिति आउने नै थिएन ।
पालैपालो बङ्लादेशी सरकारको नेतृत्वमा पुगेका अवामी लिग र बीएनपीका दुई नेतृ शेख हसिना र खालिदा जियाले त्यहाँको प्रशासनको हदैसम्मको दुरुपयोग गरे । बङ्ला स्वतन्त्रताको विरासत बोकेका ती दलका दुवै नेतृ विरासत र अवसर दुवैलाई विकृत बनाइ मुलुकलाई अँध्यारो सरुङमा पुर्याए । आफन्त, पद र त्यसको दुरुपयोगले राजनेता बन्ने अवसर मात्र उनीहरूले गुमाएनन्, त्यहाँका जनता अहिले पनि भ्रष्टाचार, विभेद, सम्भ्रान्त शासन र अविकासमा पिल्सिएका छन् । शासक अधिनायक भएपछि त्यसको भार देश र जनताले भोग्नुपर्छ ।
तान्जनियाका राष्ट्रपति सामिया सुलुहु हासेनले आफ्नी छोरी वानु हाफिद अमाएरलाई उपमन्त्रीमा नियुक्त गरे । युगाण्डाका राष्ट्रपति योवेरी मुसेवेनीले छोरालाई सेना प्रमुख र श्रीमतीलाई मन्त्री बनाए । हासेन र मुसेवेनी राज्यशक्ति दुरुपयागमा निकै कुख्यात थिए । रुवाण्डाका पल कागामे, मालावीका चाकवेरा, ग्यावोनका ओडिवा, अजरबैजानका आलिएज, कम्बोडियाका हुनसेन आफ्नालाई नियुक्ति दिन नै पदमा पुगेको हुन कि भन्ने भएको छ । फ्रान्सका राष्ट्रपति निकोलस सार्कोजीले छोरा जाँ सार्कोजीलाई विनायोग्यता सुरक्षा प्राधिकरण (इपाद)को कार्यकारी निर्देशक बनाए । जसका कारण उनले कारबाही भोग्नुपर्यो । अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनले न्यायाधीश नियुक्ति नै दलीय गरे । अल्पविकसित मात्र होइन, विकसित देशका नेता पनि अवसर पाए पदमा र्याल काट्न चुक्दा रहेनछन् ।
भारतको राजनीति नातावाद र वंश विरासतमा निकै अघि छ । नेहरू–गान्धी परिवार कांग्रेसको नेतृत्व र पटक-पटक प्रधानमन्त्री भए । तर जनताले यसको बदला स्वरूप त्यस पार्टीलाई दशकदेखि उठ्न दिएको छैन । यही दलले जिम्मेवारी दिएपछि नेतृत्वमा पुगेका मनमोहन सिंहको इमान, सादगी र क्षमताले भारतीय शासनमा छुट्टै पहिचान दिन पुग्यो । सचिवदेखि गभर्नर, अर्थमन्त्री, योजना आयोगको उपाध्यक्ष हुँदै प्रधानमन्त्री भई सरकारको नेतृत्व गरेका सिंहले गरेका नियुक्ति र लिएका नीतिका कारण उनीमाथि कहिले प्रश्न उठेन, बरु आधुनिक भारतको समृद्धिको मार्ग तय गर्यो ।
भारतलाई अहिलेको स्थानमा पुर्याउने मनमोहन सिंहले गरेको योगदान अविस्मरणीय छ । तिनै मनमोहन सिंहले आफ्नै साथीको नेतृत्वमा रहेको अन्तराष्ट्रिय मुद्रा कोषको उच्च पदमा नियुक्तिका लागि आफ्नी छोरीलाई सिफारिस मात्र नगरेका होइनन्, आफ्नो पहिचानलाई समेत बाहिर ल्याएनन् । नेपालका प्रथम निर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाका निजी सचिवले कसैको उपहार स्वीकार गर्दा पदबाट विदा हुनुपर्यो । पदहरू सँधै अब्बलका दाबेदारीमा रहन्छन्, नेतृत्वले त्यहाँ र्याल काड्यो भने संस्थाहरूको प्रदूषीकरण त्यहीँबाट शुरू हुन्छ । स्थार्थको समर्पण र विधिको स्थापना नेताको काम हो । त्यही भारतमा क्षेत्रीय राजनीतिसम्म पनि वंश र आफन्तको विरासत संस्थागत छ । उत्तर प्रदेशमा यादव, जम्मु कास्मिरमा अब्दुल्ला र तामिलनाडुमा करुणानिधि परिवारले त्यही गर्यो जुन विगतमा नेहरू–गान्धीले गरेको थियो ।
अब्बल होइन आफन्तको जकड्याइँमा नराम्ररी फसेको मुलुक इन्डोनेसिया पनि हो । सकार्नो र सहार्तोका शासनमा आफन्तवाद यसरी झाँगियो कि त्यसको प्रभाव अहिले पनि उत्तिकै छ । राष्ट्रपति सहार्तोले आफ्ना नियुक्तिमा मात्र कुख्याती कमाएनन्, आफ्नालाई लगानीको शेयर पनि दिनुपर्ने बाध्यता पनि विकास भयो । ३६,००० वर्ग किमी भूमि उनको स्वामित्वमा पुग्यो । इष्ट टिमोरसम्म रियल स्टेटमा उनको पकड रह्यो । अघिल्लो निर्वाचनमा उनका ज्वाइँ पारवोओ सुवियान्तो राष्ट्रपति बने । त्यहाँको निर्वाचनमा जिवाओ (डिजिटल) अभियान पनि उनकै कब्जामा रह्यो, भारतमा गोदी मेडिया जस्तै । पैसा, पद र प्रविधि आफ्ना पक्षमा पार्ने यो होडले नियुक्ति मात्र होइन, शासन नै सम्भ्रान्तको बन्दैछ ।
अब्बललाई नभई आफ्नालाई मात्र सक्षम देख्ने राजनैतिक कार्यकारी राजनेता बन्न सक्दैन । त्यसले तत्काल लाभ दिए पनि स्वयं पद र नियुक्त हुने व्यक्ति सबैलाई हानी गर्छ । पदाधिकारीको सफलता सक्षमताको उपलब्धि हो । कम सक्षम/असक्षमलाई जिम्मेवारी दिँदा त्यो पाइने सम्भावना नै रहँदैन । समाधान दिन नसक्ने व्यक्तिलाई प्रभाव र पैसाको आधारमा जिम्मेवारी दिँदा समयको बर्बादी त पार्छ नै संस्थाहरू क्षयीकरणमा पुग्छन्, सरकारको विश्वास गिर्छ, प्रणाली भत्किन्छ र बेथिति नै थिति बन्छ । त्यसपछि राज्य नैतिक र इमानीको संस्था कहाँ हुन्छ ?
राज्यलाई नियन्त्रण, निगरानी र मार्गदर्शन गरी जवाफदेही बनाउने संस्थामा असक्षम आफ्नाहरू पुग्दा राज्य प्रणालीको हैसियत स्खलित हुन्छ । अल्पविकसित मुलुकमा रविन्सन सिद्धान्तको अभ्यासमार्फत् ‘अहिले तिमीलाई सहयोग गर्छु, नियुक्तिपछि मलाई सहयोग गर्नु’ भन्ने सौदावाजी संस्थागत भइरहेको छ । निर्वाचित व्यक्तिहरू म कसैसामु झुक्दिनँ, मेरो विचार नै मेरो सर्वोच्चता हो भन्ने दम्भले संस्थाहरू बिटुलिँदै विषाक्त बनेका छन् । उनीहरूको अहम्ले अवैधानिक पद सिर्जना, लुकेका रिक्त पद, सुपरन्युमेरेरी जस्ता अनुचित अभ्यासको आविष्कार गर्न थालेको छ ।
राजनैतिक संस्कार र सभ्यता नभएका मुलकुमा वस्तुनिष्ठ आधारमा सार्वजनिक जिम्मेवारी दिने परिपाटी कहिल्यै बसेन । बरु गलत व्यक्तिलाई राज्यका महत्त्वपूर्ण स्थानमा जिम्मेवारी दिने, संस्था निर्माणमा होइन ध्वस्त पार्न जानेकाहरूलाई संस्था सुम्पिने आमसहमति हुन थाल्यो । नियुक्तिमा मात्र होइन, दरबन्दी सिर्जनामा समेत उभय पक्षको बोल वाला देखिन थाल्यो । कार्यकारी प्रकृतिका निकाय, राजस्व परिचालन, आयोजना व्यवस्थापन र सेवा प्रवाह गर्ने निकायमा गलत व्यक्ति मुलुकमा बेथिति बढ्छ तर नियामकीय निकायले राजनैतिक रङ्गरूपका अनुपयुक्त व्यक्ति नेतृत्वमा पाउँदा त्यसले शासन प्रणालीलाई धोत्रो बनाउँछ, दीर्घकालसम्म सुशासन ध्वस्त हुन्छ ।
अचेल युरोपतिर क्यास फर अनर धेरै सुनिन्छ, एसिया तथा अफ्रिकामा भने पदहरू नै बिक्री भएका घटना बाहिरिन थालेका छन् । नाइजेरियामा जरा गाडेको धर्मपितावादको प्रभाव अफ्रिकी अन्य मुलुकमा फैलिँदैछ । कालोधन समूहले नियुक्ति हुँदै नीति र राजनीतिमा धावा बोल्न थालेका छन् । राजनैतिक उम्मेदवारीमा फौबन्जारीकरण हुन थालेको छ । यसले लोकतन्त्रलाई हाइज्याक गरी नयाँ सम्भ्रान्तीकारण गर्दैछ, शासनलाई कुशासनमा पुर्याउँदैछ । सबैभन्दा खतरा नीतिलाई क्रोनी क्याप्चर गर्दैछ । त्यसपछि शासन–प्रशासनमा इमानी विस्थापित हुने नै भए । अर्को खतरा, डार्कमनीबाट पढेलेखेका सन्तानहरू न्यू नेपोबेबी बनेर नयाँ कुरा गरेको भनिरहेका छन् । नेपोबेबीको विरोध गर्ने युवाहरू आफ्नै पितामाताको गलत आर्जन/प्रभावबाट त्यहाँ पुगेको यथार्थ भुलिहेका छन् । यसर्थ अहिलेको नवउदारवादी विश्वमा लोकतन्त्र लोकबाट मतका आधारमा कृत्रिम लोकतिर पुग्दैछ । लोकतन्त्रमाथि भएको यो अनपेक्षित आक्रामक धावाविरुद्ध कोही बोल्ने सामर्थ्यमा छैनन् । यसलाई सही बाटोमा ल्याउन सच्चा राजनेता चाहिन्छ, उसको कठोर सक्रियता चाहिन्छ । चुनावमा राम्रा व्यक्ति छानिए त्यसो गर्ने व्यक्ति मुलुकले पाउन सक्छ ।
राजनेताहरूले के भुल्नु हुन्न भने सफलताका कथा परिणाम प्राप्तिपछि लेखिन्छन् । सफलताका कथाको पृष्ठभूमिमा क्षमतावान व्यक्तिको हात हुन्छ । गलत व्यक्तिको चयनबाट सही परिणाम निस्कने कल्पना गर्नु हुँदैन न गलत व्यक्तिहरूको असफलताको आरोप इमानी व्यक्तिहरूलाई दिनु नै हुन्छ । राज्यले सँधै सक्षम र इमान्दार व्यक्ति खोजिरहेको हुन्छ । दलहरू दल होइन अब्बल, आफन्त होइन अब्बल भनून् । दल होइन अब्बलको थिति बसाउन समय धेरै पर पुगेको छ । अब्बलको थिति नबसाइँ धरै छैन । यो तपाईँहरूबाट युगको माग हो । यो अन्तिम विकल्प पनि हो । नैतिक निष्ठा राख्नु भएन भने तपाईंहरूबाट यो सम्भव छैन ।