३० जेठ २०८३, शनिबार
चुनावी ग्राउन्ड जिरो

गुल्मी-२ : पटक-पटक चुनाव जितेका गोकर्णलाई यसपटक कति सहज ?

फागुन १६, २०८२
गुल्मी
गुल्मी-२ : पटक-पटक चुनाव जितेका गोकर्णलाई यसपटक कति सहज ?

तमघासबाट पश्चिम लागेपछि मदन भण्डारी राजमार्गले पश्चिम गुल्मीलाई धेरै सुगम बनाएको छ। ग्रामीण क्षेत्रमा फराकिलो र कालोपत्रे सडकको दायाँबायाँ बनिरहेका पक्की घरहरूले जिल्ला सदरमुकाम तमघास खुम्चिँदै गए पनि गुल्मी क्षेत्र नम्बर–२ मा पर्ने पश्चिम क्षेत्र सुन्दर शहरको रूपमा विकास हुँदै गएको भान हुन्छ।

चुनाव आउन एक साताभन्दा कम समय बाँकी रहँदा यो क्षेत्रका प्राय: घर–घरमा आफूले समर्थन गर्ने राजनीतिक दलका झण्डाहरू राखिएका छन्। जिल्ला सदरमुकाम तम्घासको केही भूभाग छाड्ने हो भने, यो निर्वाचन क्षेत्र सबै ग्रामीण इलाका हो।

२०७० यताका सबै चुनाव जितेर ‘ह्याट्रिक’ गरेका नेकपा (एमाले)का उपाध्यक्ष गोकर्ण विष्ट यसपालि पनि उम्मेदवार छन्। अघिल्लो (२०७९) चुनावमा पाँच दलीय गठबन्धनविरुद्ध एक्लै लडेर जितेका विष्टसँग यसपालि नेपाली कांग्रेसका भुवनप्रसाद श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का गोविन्द पन्थी र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का श्रीराम महतलगायतले प्रतिस्पर्धा गर्दै छन् ।

उनीहरूबीच नै मुख्य प्रतिस्पर्धा हुने स्थानीयको आकलन छ। विगतका निर्वाचनमा एमाले र कांग्रेसबीच मुख्य प्रतिस्पर्धा हुने गरेको यो क्षेत्रमा गत भदौ २३ र २४ गतेको नवयुवाको आन्दोलनपछि नयाँ पार्टीहरू पनि प्रतिस्पर्धामा देखिएका छन्।

null

के भन्छन् मतदाता ?

इस्मा गाउँपालिका–६ चौरासीका कृष्णप्रसाद घिमिरे विकास र कामको हिसाबले यो पटक गोकर्णलाई रोज्ने बताउँछन्। ‘पश्चिम गुल्मीको सडक, खानेपानी, शैक्षिक सुधार, खेलकुद, कृषि र स्वास्थ्य क्षेत्रमा गोकर्णको योगदान कसैसँग तुलनायोग्य छैन,’ कृषकसमेत रहेका घिमिरेले भने, ‘पश्चिम गुल्मीलाई सुगम बनाउने नेता गोकर्ण हो। यो पटक पनि हामीले उहाँलाई नै रोज्ने हो।’ अन्त नयाँ पार्टीको लहर देखिए पनि यो क्षेत्रमा एमाले र कांग्रेसबीच नै प्रतिस्पर्धा हुने उनले बताए।

मालिका गाउँपालिका फूलबारीकी तारा महतले गोकर्णको विपक्षमा यस क्षेत्रका मतदाताले सोच्न पनि नसक्ने दाबी गरिन्। ‘घरघरमा बाटो पुगेको छ, सडक, खानेपानी सबै राम्रो छ। यो पटक पनि हामीले गोकर्णलाई नै मत दिन्छौँ,’ उनले भनिन्, ‘जनताको नेताको रूपमा हामीले उहाँलाई लिन्छौँ। मत पनि उहाँलाई दिन्छौँ। हाम्रोतिर उहाँको व्यक्तिगत लोकप्रियता धेरै छ।’

null

देशमा युवाहरूले सुशासन र पारदर्शिता खोजेको बताउँदै त्यो कुरा आफ्नो क्षेत्रको उम्मेदवारले दिन सक्ने महतको भनाइ छ।

मदाने गाउँपालिका पुर्कोटदहकी शीला विकले विगतको निर्वाचनमा कांग्रेसलाई मत दिए पनि यो पटक परिवारबाट मत परिवर्तन गर्न दबाब आइरहेको बताइन्। रोजगारीका लागि भारतमा रहेका श्रीमान् र पोखरा पढ्दै गरेकी छोरीले आफूलाई मत परिवर्तनको लागि दबाब दिएको उनले बताइन्। तर, मत कसलाई दिने भन्ने अझै टुङ्गोमा नपुगेको उनको भनाइ छ।

null

धुर्कोट गाउँपालिका–५ का कृष्ण भण्डारीले यो पटक गुल्मी–२ मा यही पार्टीले चुनाव जित्छ भन्ने अड्कल गर्न नसकिने बताए। उनले भने, ‘यसअघि गोकर्ण विष्टलाई मत दिएको हो। अहिले नयाँ पार्टी आएकाले चुनावी प्रतिस्पर्धा कडा देखिन्छ। कसले जित्छ भन्ने अवस्था सहज छैन।’

इस्मा गाउँपालिका–६ राङदलकी हुमकला दर्जीले फेरि पनि जनताले गोकर्णलाई नै जिताउने दाबी गरिन्। ताल्तुङका टङ्क कुँवरले आफूले विगतमा कांग्रेसलाई मत जाहेर गरे पनि यो पटक कसलाई दिने अझै नसोचेको बताए। मालिका गाउँपालिका–५ का पुना गिरीले पनि यो पटक मत परिवर्तन गर्ने बताए। अब युवाले नयाँलाई रोज्न आवश्यक रहेको उनको भनाइ छ।

null

हस्तीचौरकी माया विश्वकर्माले आफ्नो गाउँमा खानेपानीको समस्या निराकरण गोकर्ण विष्टले गरेको बताइन्। ‘यहाँ एक गाग्री पानीको लागि ठूलो सङ्घर्ष गर्नुपर्थ्यो,’ उनले भनिन्, ‘गोकर्ण विष्टको पहलमा खानेपानी आयोजना आयो। अहिले एक घर एक धारा छ। हस्तीचौरका जनताले उहाँ (विष्ट)लाई भुल्न सक्दैनन्।’

null

सोही ठाउँका अर्का कृष्णबहादुर सुनारले गोकर्ण विष्ट उम्मेदवार रहुन्जेल दायाँबायाँ नगर्ने बताए। मालिका फूलबारीका तारापति अर्यालले अझै यो क्षेत्रका मतदाता मौन रहेको दाबी गरे। सोही ठाउँका रुद्रमणि लम्सालले एमालेका गोकर्णको व्यक्तिगत प्रभाव राम्रो रहेको बताउँदै उनलाई नै मत दिने बताए।

null

यसबाहेक कांग्रेस, नेकपा र रास्वपालाई मत दिन्छु भन्ने पनि केही मतदाता भेटिए। तर, उनीहरूले खुलेर कुरा गर्न चाहेनन्। गुल्मी–२ एमालेको गढ भएकाले अन्त मत दिने केही मतदाता भए पनि उनीहरूले खुलेर कुरा गर्न नचाहेको पाइयो। युवा पुस्ताका केही मतदाता नयाँप्रति आकर्षित देखिए। तर, उनीहरूले पनि घरका अरू सदस्यलाई मनाउन नसकिरहेको गुनासो गरे।

यस्तो छ विगतको नतिजा

पूर्वमन्त्री विष्टलाई यही क्षेत्रले संसदीय र पार्टी राजनीतिको ‘करियर’ बनाउने अवसर दिइरहेको हो। २०५६ सालदेखि चुनाव लड्दै आएका उपाध्यक्ष विष्टले २०६४ को संविधानसभा बाहेक यसअघिका अन्य चुनावमा जित निकालेका छन्। प्रभावशाली नेता विष्ट २०६४ सालको निर्वाचनमा तत्कालीन माओवादी केन्द्रका उम्मेदवार चन्द्रबहादुर थापा ‘सागर’सँग झिनो मतले पराजित भएका थिए।

nullअघिल्लो निर्वाचन (२०७९) मा कांग्रेस र तत्कालीन नेकपा एकीकृत समाजवादीको संयुक्त गठबन्धनबाट महिला नेतृ रामकुमारी झाँक्रीसँग कडा प्रतिस्पर्धा भए पनि विष्टले जित निकालेका थिए। विष्टले २८ हजार ४७६ मत प्राप्त गरेका थिए भने झाँक्रीले २६ हजार ४४१ मत ल्याएकी थिइन्। अघिल्लो निर्वाचनमा उनकी प्रतिस्पर्धी झाँक्री पनि एमालेमै फर्किसकेकी छन्। गुल्मीमा भइरहेको तीव्र बसाइँसराइ रोक्ने योजना, विकास, सडक, रोजगारी र सुशासन प्राय: सबै उम्मेदवारका चुनावी मुद्दा बनेका छन्।

null

यस क्षेत्रमा कूल १ लाख ७ हजार ३६३ जना मतदाता छन्। जसमध्ये पुरुष ५४ हजार ४२३, महिला ५२ हजार ९३८ र अन्य २ जना मतदाता छन्। यो क्षेत्रमा ६२ वटा मतदान स्थल र १२९ वटा मतदान केन्द्र निर्धारण गरिएको छ।

मतदाताले माया गर्नुभएको छ, यसपालि अझै फराकिलो मतान्तरले विजयी हुन्छु : विष्ट

म चुनावी अभियानमा जहाँ–जहाँ पुगेको छु, मतदाताले माया गर्नुभएको छ। उहाँहरूको सद्भावले हामीलाई यो निर्वाचनमा अझै फराकिलो मतले निर्वाचित गर्ने सन्देश पनि दिएको छ। मैले धेरै ठाउँमा जनताका मागहरू सोध्ने गरेको छु। कतिपय ठाउँमा पार्टीलाई अझै थप व्यवस्थित गर्नुपर्ने, हरेक वडाहरूमा सडकलाई कालोपत्रे गर्नुपर्ने, स्वास्थ्य सेवालाई सहज र गुणस्तरीय बनाउनुपर्ने माग छन्। वन्यजन्तुको आक्रमणबाट किसानहरू हैरान हुनुहुन्छ, त्यसलाई नियन्त्रण गर्ने उपाय खोज्नुपर्ने र युवाहरू देशबाट बाहिरिएको विकराल अवस्था रोकेर देशभित्र रोजगारी अवसर सिर्जना गर्नुपर्नेजस्ता माग जनताले राख्नुभएको छ।

null

मैले आफ्ना प्रतिबद्धताहरू पनि व्यक्त गरेको छु। उहाँहरूको त्यस्तो ठूलो गुनासो छैन। उहाँहरूको भनाइ के छ भने— हामी तपाईंलाई पूर्वाधार र विकासको क्षेत्रमा प्रतिबद्धता व्यक्त गर्नुभएकोमा साथ दिन्छौँ। अब हाम्रा युवाहरूलाई पनि गाउँमा राख्न यो चुनाव पछाडि सरकारले ध्यान दिनुपर्‍यो।

तपाईँले संसद्मा भूमिका खेल्नुपर्‍यो। हिजो पनि साथमा थियौँ, आज पनि साथमा छौँ, भोलि हुनेछौँ भन्नुभएको छ। कतिपयले हिजो सहयोग गर्न नसके पनि यो चुनावमा सहयोग गर्छौँ भनेर समेत मलाई आश्वासन दिनुभएको छ। यसकारण यो निर्वाचनमा म थप उत्साहित छु।

null

विगतको निर्वाचनमा सबै पार्टी एकातिर थिए, हामी एक्लै थियौँ। यो पटकको निर्वाचनमा केही भ्रम त पैदा गर्न खोजिँदै छ, तर २०७९ को चुनावभन्दा धेरै फराकिलो मतले जित्ने गरी सहज परिस्थिति बनेको छ। यस कारण विगतको चुनावभन्दा राम्रो छ। १६५ निर्वाचन क्षेत्रमध्ये घरघरमा धारा पुगेको र पाइपबाट पानी खाने निर्वाचन क्षेत्रमध्ये हाम्रो क्षेत्र आठौँ स्थानमा छ। १५७ निर्वाचन क्षेत्रलाई उछिनेका छौँ।

null

salt training

कमेन्ट गर्नुहोस्