२९ जेठ २०८३, शुक्रबार

कास्की-१ का ग्रामीण बस्तीमा छैन नयाँको लहर, मतदाता भन्छन्- अर्कोपालि विचार गरौंला !

फागुन १६, २०८२
पाेखरा
कास्की-१ का ग्रामीण बस्तीमा छैन नयाँको लहर, मतदाता भन्छन्- अर्कोपालि विचार गरौंला !

पोखरा महानगरपालिका-२८ सुर्खे मैदाननजिकै अन्न र बालीनाली सखाप पार्न आउने बाँदर धपाउन बसिरहेका थिए सुभद्रा, प्रभा र मैयाँ पौडेल । हालैको एक अपरान्ह हामी त्यहाँ पुग्दै गर्दा सुकाएको मुला बाँदरले लगिदियो । सुभद्राले हेर्दाहेर्दै बाँदरले बिठ्याइँ गरेर भागिसकेको थियो । 

यो समस्या सुभद्राको मात्र होइन । पोखरा-२८ का अधिकांशको समस्या हो त्यो । बाटो छेउको डिलमा बसिरहेकी सुभद्राले पर एक महिला सेतो टारमा बसिरहेको देखाइन् । ती महिलाले पनि बाँदरबाट आलु जोगाउने उपाय लगाएकी थिइन् । निर्वाचन आएपछि घरदैलोमा उम्मेदवार आउँदा सुभद्राले सुनाउने समस्या यही हो 

‘सबै छ । खेत छ, अन्नबाली फलाउने ठाउँ छ । काम गरेर खाने हातखुट्टा छन् । तर बाँदरले बाली बाँकी राख्दिदैन । हामीलाई अरू केही चाहिएको छैन । यो बाँदरको समस्या समाधान गरे हुन्छ’, प्रभाले भनिन् ।

हालै मात्र उनको गाउँ सुर्खे मैदानमा नेपाली कांग्रेसका उम्मेदवार भोट माग्न घरदैलोमा आएका थिए । त्यही घरदैलो कार्यक्रममा मतदाताले सुनाएको समस्या यही विषयको थियो । 

यो स्थान प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा पर्छ । शहरिया र ग्रामीण बस्तीले बनेको कास्की-१ मा मतदाता दुई किसिमका छन् । शहरी क्षेत्रमा नयाँको लहर छाएको देखिन्छ । यस क्षेत्रको ग्रामीण बस्तीमा भने मतदाता आफ्नै घर आँगनको प्रतिनिधिसँग सन्तुष्ट देखिन्छन् । त्यसैले यस क्षेत्रमा कमै मतदाता भेटिन्छन् जो मत बदल्ने वा नयाँलाई अवसर दिने मूडमा छन् ।

उसो त मत स्विङ भइरहने क्षेत्रको रूपमा चिनिन्छ क्षेत्र नम्बर  १ । तर, यस क्षेत्रको ग्रामीण इलाकाका मतदाता यसअघि आफूले मत दिएको जनप्रतिनिधप्रति सन्तुष्ट देखिन्छन् । 

पोखराको बजार क्षेत्र वडा नम्बर १३ कटेर केही मिनेट उकालो लागेपछि पिच रोड हुँदै वडा नम्बर २६ पुगिन्छ । बाटोको छेउमा आउँछ एउटा चौतारी । त्यही चौतारीमा बसेर पोखरा झर्ने बस कुर्दै थिए चार वृद्ध ।

चुनावी माहोलबारे बुझ्दा गफगाफको समूहबाट एकजना वृद्ध बोल्छन्– यहाँ त एमाले र कांग्रेस छन् । रास्वपा छैन यहाँ । बजाराँ मात्र बढी छ ।’

‘भोट काम गर्नेलाई हाल्ने हो’, अर्का वृद्धले भने । 

यस क्षेत्रमा पकड कांग्रेस र एमालेको छ । उसो त यो वडा तत्कालीन सभामुख तारानाथ रानाभाटको क्षेत्र पनि हो । तर, यस क्षेत्रमा तारानाथको पकड खासै छैन । 

वडा नम्बर २६ को बाटो हुँदै पुगिन्छ वडा नम्बर  २८ । यही वडामा पर्छ पोखरा महानगरपालिकाका पूर्वप्रमुख मानबहादुर जिसीको घर । उनले आफ्नो कार्यकालमा यी वडाका बाटो बनाए, पिच गरे । नागरिकले सबभन्दा छिटो देख्ने बाटोको कामले पनि दलको छवि यस क्षेत्रमा जोगिएको छ । काम गर्ने मान्छेलाई मत दिने बताउँछन् स्थानीय तेजबहादुर रानाभाट ।

‘मानबहादुरले गर्‍यो । कांग्रेसले बाटो बनाइदियो, यो पिच बन्यो । वडाध्यक्षले पनि बाटो बनाइदियो । त्यस्तो मान्छेको पार्टीलाई दिने हो’, तेजबहादुरले भने ।

रानाभाटसँगै भेटिएका खड्कबहादुर थापाको भनाइ अनुसार उनले एकै पार्टीमा कहिल्यै मत हालेनन् । तर पनि नयाँ दलको लहरमा उनी छैनन् ।

‘७६ वर्ष भइयो । कांग्रेस, एमाले सबैलाई हालियो । बाटासाटा, नाला सबै उनैले बनाए । यो चौतारी पनि उनीहरूले नै बनाएका हुन्’, थापाले भने । 

वडा नम्बर २६ पर्ने त्यही चौतारीबाट सिधै माथि लागेपछि करिब २० मिनेटको समयमा वडा नम्बर २८ पुगिन्छ । यही वडाको कालीकाचोकमा भेटिएका दुर्गा प्रसाद गौतमले पनि यहाँ पुरानै दलको प्रभुत्व कायम रहेको बताए । 

‘विशेष गरेर यो क्षेत्रमा एमालेको माहोल बढी छ । पहिलेका उम्मेदवारले नगरेका हैनन्, केही काम अधुरो छ । अब अहिलेकाले त्यसलाई पूरा गर्छन्’, दुर्गाले भने । दुर्गापनि मत नफेर्ने मूडमा छन् ।

‘हावाको तालमा हिँड्न भएन । उहाँहरूको (रास्वपाको) नीति सिद्धान्त के हो थाहा छैन । उहाँहरूले जितेर आए राम्रोसँग काम गरेपछि लागौंला । अहिले त्यसै पछि लाग्नेवाला छैनौं’, उनले भने । 

ग्रामीण भेगका मतदाताको भन्दा फरक मत छ कास्की १ को बजार क्षेत्रमा । शहर क्षेत्रका केही मतदाता नयाँ दललाई अवसर दिने सोंचमा छन् । जेनजी आन्दोलनमा घटेका घटनाले पनि प्रभाव पारेको देखिन्छ शहरको क्षेत्रमा ।

पोखरा-१३ का एक मतदाता आफ्नो परिचय नखुलाइदिन आग्रह गर्दै भने, ‘अहिले चाहिँ नयाँ जेनेरसनलाई दिनुपर्छ । नेताहरूले त्यत्रो नोट घरमा लगेर थुपारेको भेटियो । त्यो हाम्रै करको पैसा हो । अब उनै नेतालाई किन दिने ?’

२०७९ को निर्वाचनमा यस क्षेत्रबाट एमालेका उम्मेदवार मनबहादुर गुरुङले २५ हजार ७०८ मत ल्याउँदै नजिकका प्रतिस्पर्धी किशोरदत्त बराललाई हराएका थिए । कांग्रेस उम्मेदवार बरालले २३ हजार १८९ मत ल्याएका थिए ।

अहिले यस क्षेत्रबाट एमालेका बैनबहादुर अधिकारी क्षेत्री र कांग्रेसबाट तिलक रानाभाट उम्मेदवार छन् । यस्तै, नेपाली कम्युनिस्ट पार्टीबाट राजकाजी गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट गनेस पौडेल उम्मेदवार छन् । 

कमेन्ट गर्नुहोस्