३० जेठ २०८३, शनिबार

पोखराका सहकारी पीडित भन्छन्- पैसा ठग्नेलाई मत दिँदैनौं

फागुन १७, २०८२
पाेखरा
पोखराका सहकारी पीडित भन्छन्- पैसा ठग्नेलाई मत दिँदैनौं

यही फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचन अब चार दिन मात्र बाँकी छ । हरेक मदानस्थलमा मतपेटिका, मतपत्र पुर्‍याउने क्रम जारी छ । निर्वाचनमा खटिएका सुरक्षाकर्मी र कर्मचारीहरू सम्बन्धित मदानस्थलमा पुगिरहेका छन् ।

सोमबार रातिदेखि मौन अवधि शुरू हुने भएपछि उम्मेदवार तथा राजनीतिक दलहरू चुनाव प्रसार प्रसारलाई तीब्र पारिरहेका छन् । अधिकतम मतदातासम्म पुग्ने कोसिस गरिरहेका छन् । 

दल तथा उम्मेदवारले मत माग्दै हिँडेको देख्दा पोखराकी लीला गिरीलाई भने कुनै उत्साह छैन । विकास र सुशासनको आश्वासनबाट लीलालाई दिक्दार लाग्न थालेको छ । 

चार वर्षदेखि उनी आन्दोलनमा छिन् । आफूले दु:ख गरेर सहकारीमा जम्मा गरेको रकम अरूले अपचलन गरेको सुनेदेखि उनलाई राम्ररी निद्रा लागेको छैन । त्यही रकम फिर्ताका लागि लिला चार वर्षदेखि आन्दोलनमा छिन् । 

तर ,यो चार वर्षको अवधि उनले पाएको केवल निराशा हो । सहकारी ठगी मुद्दामा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने यसबीचमा दुईपटक गृहमन्त्री बने । अहिले पुन: निर्वाचनमा होमिएका छन् । रास्वपाले प्रत्यक्षतर्फका १६५ क्षेत्रमध्ये १६४ मा उम्मेदवार अघि सारेको छ । 

देश चुनावमय बनेको र रास्वपाले सहकारीको रकम फिर्ता गराउने पहल गर्ने वाचापत्र अघि सारे पनि लीलालाई आफ्नो रकम फिर्ता गराउलान् भन्ने लाग्दैन । 

‘पाउने आशा नै छैन । अब कहिले पाइन्छ ?’, उनले भनिन् ।

उनले शिक्षण पेसाबाट अलिअलि जम्मा गरेको पैसा सहकारीमा ल्याएर राखेकी थिइन्  । सन्तानलाई मुख हेर्दा खुत्रुकेमा राखेको रकम समेत उनले सहकारीमा जम्मा गरेकी थिइन् । 

अहिले आफ्नो नाम र सन्तानको नाममा भएको दुवै खाताको पैसा डुब्यो । अहिले तिनै सन्तानको विद्यालय शुल्क तिर्ने पैसा समेत लीलासँग छैन । त्यसैले पनि होला उनलाई यो पटकको निर्वाचनमा खासै अपेक्षा छैन ।

‘आशा भन्ने कुरा एकदिन शक्तिको विजय हो । गर्छु भन्ने आश्वासन मात्र हो, विश्वास नलाग्दो रहेछ’, लीलाले भनिन् । 

लीलालाई जस्तो यो निर्वाचनमा सहभागी नहुने मन अरूलाई पनि छ । निर्वाचनमा मतदानका विषयमा पोखरामा शनिबारमा सहकारी पीडितले अन्तरक्रिया कार्यक्रम राखेका थिए । 

केही सहकारी पीडित अभियानमा नै लागेका छन्– सहकारी पीडितलाई मत नहाल्ने भन्नेमा ।

यसैमध्येका एक हुन् गोपी दाहाल । दाहालले सहकारी पीडितको पैसा फिर्ता दिने विषयमा दलहरूले ठोस नीति ल्याउन नसकेको सुनाए ।

‘भोट हाल्नलाई मन नै छैन । सहकारी पीडितका बारेमा एउटा ठोस योजना ल्याउनुपर्‍यो । सहकारी पीडितलाई केही गर्छु भनेर एउटा कसैको घोषणापत्रमा केही छैन । एउटा खोस्टा कागज मात्र हो, विश्वास छैन । सहकारी पीडकहरूलाई भोट नहाल भन्ने हो’, गोपीले भने ।

पोखराका प्रेमबहादुर रानाको सूर्यदर्शन सहकारीमा ३३ लाख डुबेको छ । यही रकम फिर्ताका लागि उनी वर्षौंदेखि सम्बन्धित निकायमा हारगुहार गरिरहेका छन् तर, उनको हारगुहारले कसैलाई पोलेको छैन । यही माहोलमा निर्वाचनका लागि मत माग्न आउने दल देख्दा आफूलाई वाक्क लागेको उनी बताउँछन् । 

सहकारी बचत पीडित संघ, कास्कीका संयोजक किरण श्रेष्ठ ‘सहकारी ठगी गर्ने’लाई मत नदिने बताउँछन् ।

‘सहकारी ठगी गर्नेलाई म चाहिँ मत हाल्दिनँ । हामीलाई दु:ख दिने, हाम्रो पैसा लगेर जानेलाई किन हाल्ने भोट ? म कसैलाई हाल्नुस् पनि भन्दिनँ, नहाल्नुस् पनि भन्दिनँ तर म मेरो पैसा ठग्नेलाई भोट हाल्दिनँ’, किरणले भने, ‘कि पैसा फिर्ता ल्याउन पर्‍यो, त्यो वातावरण बनाउनुपर्‍यो । हामीसँग सहमति गर्नुपर्‍यो ।’

सहकारी पीडितको विषयलाई दलहरूले राजनीतिक एजेन्डा बनाएर थप गिजोलेकोमा उनले असन्तुष्टि व्यक्त गरे । सहकारीको मुद्दामा रास्वपा सभापतिले पटकपटक प्रमाण देखाउन अभिव्यक्ति दिँदै आएका छन् । यसमा पनि किरणले कटाक्ष गरे ।

‘प्रमाण किन छैन, हामीसँग त कति छ कति प्रमाण । चुनाव प्रसारको नाममा प्रमाण खोज्नुहुन्छ’, उनले थपे ।

प्रमाणका कुरा बारम्बार उठाएर सहकारी पीडितलाई गिज्याएको उनको बुझाइ छ ।

‘सामाजिक सञ्जालमा चुनावको कार्यक्रममा प्रमाण प्रमाण भनेर प्रमाण खै भन्छन् । सूर्यदर्शन सहकारीबाट करोड रूपैयाँ लिएर उहाँले आफ्नै खाताबाट १४/१४ पटक ब्याज र किस्ता तिरेको भनेर यो कानले अदालतमा बहस सुन्दा सुन्दा हैरान भइसक्यौं हामी । उच्च अदालतमा छ प्रमाण, जिल्ला अदालतमा छ प्रमाण । हामीलाई धेरै नगिज्याए हुन्छ’, उनले भने ।

इमानदारीकासाथ पैसा तिरे आफूहरू मुद्दा फिर्ता लिन तयार रहेको किरणले बताए । 

‘इमानदारीका साथ सबैले पैसा तिरिदिने हो भने न हामीलाई कसैको सरकार चाहिन्छ न कसैको पार्टी । हामीलाई हाम्रो बचत फिर्ता चाहियो अरू कुरा थाहा छैन’, किरणले भने ।

salt training

कमेन्ट गर्नुहोस्