
अमेरिका र इरानबीच बढ्दो तनावका बीच अमेरिकी सेनाले ओमानको खाडीमा रहेको इरानको एक शक्तिशाली युद्धपोतलाई ध्वस्त पारिदिएको दाबी गरेको छ।
अमेरिकी सेन्ट्रल कमाण्डले आइतबार जारी गरेको विज्ञप्तिअनुसार ओमानको खाडीस्थित चाबाहार बन्दरगाहमा रहेको इरानी 'जमारन-क्लास कोर्भेट' युद्धपोतलाई अमेरिकी सैन्य कारबाहीमा जलमग्न गराइएको हो।
रोयटर्सका अनुसार यो आक्रमण इरानविरुद्ध भइरहेको अमेरिकी सैन्य अभियानको एक हिस्सा हो। सेन्ट्रल कमाण्डले उक्त कारबाहीको पुष्टि गर्दै इरानी सशस्त्र बललाई तत्काल आफ्ना हतियारहरू बिसाउन र कार्यक्षेत्र छोड्न चेतावनी समेत दिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इरानप्रति कडा रुख अपनाउँदै दिएको अभिव्यक्तिको लगत्तै यो सैन्य कारबाही भएको हो। सेन्ट्रल कमाण्डले सामाजिक सञ्जाल 'एक्स' मार्फत ट्रम्पको भनाइलाई उद्धृत गर्दै लेखेको छ, "राष्ट्रपतिले निर्देशन दिएझैँ, इरानी सशस्त्र बल, इस्लामिक रिभोलुसनरी गार्ड कप्र्सर प्रहरीका सदस्यहरूले अब आफ्ना हतियारहरू त्याग्नुपर्छ र तत्काल जहाज छोड्नुपर्छ।"
पछिल्लो समय अमेरिकाले इरानको सैन्य संयन्त्र र शक्तिलाई लक्षित गरी आफ्ना आक्रमणहरूलाई तीव्र पारेको छ।