
संखुवासभाको निर्वाचन भूगोल केवल हिमाल र पहाडको संगम मात्र होइन, यसपटक यो नेपाली राजनीतिको पुराना विरासत र नयाँ उदयबीचको एक परीक्षा पनि बन्न पुगेको छ ।
प्रतिनिधिसभा निर्वाचनको मतदानको मिति नजिकिँदै जाँदा खाँदबारीका बजारदेखि भोटखोलाका दुर्गम बस्तीसम्म एउटै चर्चा छ- अबको नेतृत्व कसले गर्ने ?
संखुवासभाको राजनीति यसपटक विगतका निर्वाचनभन्दा नितान्त भिन्न र रोचक मोडमा उभिएको छ । यसपटक मैदानमा उत्रेका पात्रहरू, उनीहरूको विगत, दलीय आन्तरिक द्वन्द्व र आममतदातामा देखिएको वितृष्णाले निर्वाचनको अंकगणितलाई अनुमानभन्दा बाहिर पुर्याइदिएको छ ।
मुख्य रूपमा प्रतिस्पर्धाको केन्द्रमा तीन दलका उम्मेदवार देखिएका छन् । नेपाली कांग्रेसका दीपन कुमार श्रेष्ठ, नेकपा एमालेका डा. अर्जुन कार्की, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिङ्मा शेर्पा यतिबेला चुनावी राप र तापमा छन् । यी तीनै उम्मेदवारका आ-आफ्नै शक्ति र सीमा छन्, जसले संखुवासभाको जनमतलाई विभाजित तुल्याएको छ ।
सबैभन्दा पहिले नेकपा एमालेको अवस्थालाई नियालौं । एमालेले अमेरिकाका लागि नेपालको राजदूत भइसकेका र योगमाया हिमाली आयुर्वेद विश्वविद्यालयका अध्यक्ष रहिसकेका डा. अर्जुन कार्कीलाई उम्मेदवार बनाएको छ ।
कार्कीले एनआरएनमार्फत् जिल्लामा केही सामाजिक काम गरेका त छन्, तर उनलाई लिएर पार्टीभित्रै एउटा ठूलो असन्तुष्टि छ । कार्कीको राजनीतिक जीवन ‘ग्रासरुट’सम्म जोडिएको छैन । उनले वर्षौंसम्म एनजीओ चलाउँदा र राजदूत हुँदा पार्टी भन्दा पनि नेताकै वरिपरी घुम्ने गरेको आरोप लागेको छ ।
विशेषगरी, एमालेका केन्द्रीय सदस्य राजेन्द्र गौतम यसपटक टिकटका प्रमुख दाबेदार थिए । २०७४ को चुनाव जितेका र २०७९ मा झिनो मतान्तरले पराजित भएका गौतम यसपटक कार्कीले टिकट हुत्याएपछि पूर्णतः निष्क्रिय देखिएका छन् ।
एमालेभित्र गौतम र कोशी प्रदेशका पूर्वमन्त्री तुलसी न्यौपानेबीचको शीतयुद्धले पार्टीलाई लामो समयदेखि गाँजेको छ । यी दुई नेताहरूको आपसी टक्कर र एकले अर्कालाई सिध्याउने रणनीतिमा नै कार्कीले टिकट पाएका हुन् ।

जिल्ला अध्यक्ष खड्ग राईले राजेन्द्र गौतमले असहयोग गरे कारबाही गर्ने चेतावनी नै दिएको बताएका छन् । भावनात्मक रूपमा एमाले कार्यकर्ताहरू अझै कार्कीसँग घुलमिल हुन सकेका छैनन् । धेरै एमाले कार्यकर्ताले कार्कीलाई एमालेको भन्दा पनि एउटा अधिकारकर्मीको रूपमा मात्रै बुझ्ने गरेका छन् ।
यसको ठीक विपरीत, राष्ट्रिय स्वतन्त्र पार्टीका मिङ्मा शेर्पा यतिबेला जिल्लामा सबैभन्दा धेरै चर्चामा रहने पात्र बनेका छन् । मिङ्मा केही समय अगाडि नेपाली कांग्रेसको महासमिति सदस्य थिए । उनी राजनीतिक विचारभन्दा पनि शक्तिको केन्द्र र अवसरलाई चिन्न सक्ने चतुर व्यवसायी मानिन्छन् ।
अघिल्लो निर्वाचनमै तत्कालीन नेकपा माओवादी केन्द्रबाट टिकट लिन खोजेका उनी सफल भएनन् । मिङ्माको पारिवारिक सम्बन्ध नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’का दिवंगत पुत्र प्रकाश दाहालसँग निकै गहिरो थियो । उनका भाइ तासी, प्रकाश दाहालका मित हुन् । कांग्रेस त्यागेर ‘घण्टी’ समातेका मिङ्मा संखुवासभाका पर्यटन व्यवसायी पनि हुन् ।
उनका चारवटा हेलिकप्टर छन् र उनीमाथि नक्कली ‘रेस्क्यु’ गराएर बीमाको करोडौं रकम ठगी गरेको आरोप लाग्ने गरेको छ । यद्यपि, चुनावी मैदानमा उनी रास्वपाप्रति आएको जनलहरलाई क्यास गरेर अघि बढिरहेका छन् ।
उनको अर्को मुख्य शक्ति भनेको शेर्पा समुदायको मत हो । जिल्लामा शेर्पा समुदायको झण्डै ६ हजारभन्दा बढी मत छ । भोटखोला र माथिल्लो भेगका मतदाता तासी भोटेका अनुसार, यसपटक शेर्पा समुदायका एकल उम्मेदवार भएकाले करिब ७० प्रतिशत मत घण्टीमै जाने माहोल बनेको छ । मिङ्माको सक्रियता यतिबेला खाँदबारीका गल्लीदेखि किमाथांकाका कुनासम्म पुगेको छ ।
नेपाली कांग्रेसका उम्मेदवार दीपन कुमार श्रेष्ठ यतिबेला पार्टीको आन्तरिक कलह र प्रतिकूल परिस्थितिको सामना गरिरहेका छन् । कांग्रेसको एउटा ठूलो शक्ति मानिने दीपक खड्का यसपटक चुनावी मैदानमा खासै देखिएका छैनन् ।
भदौ २४ गतेको ‘जेनजी आन्दोलन’मा खड्काको घरमा जलेको पैसाको विषयलाई विपक्षी उम्मेदवारले एजेन्डा बनाएपछि कांग्रेसी कार्यकर्ताहरू डिफेन्सिभ बन्न पुगेका छन् । यसले गर्दा भोट घट्ने डरले पार्टीले खड्कालाई चुनावी प्रचारमा त्यति अगाडि सारेको छैन ।
दीपन श्रेष्ठको आफ्नै राजनीतिक जीवन इमान्दार त छ, तर पार्टीका शक्तिशाली नेताले असहयोग गरेपछि उनी निकै तनाबमा रहेका छन् । अर्कोतिर, कांग्रेसका महासमिति सदस्य मुक्तिसिंह राई पनि कांग्रेस त्यागेर रास्वपामा प्रवेश गर्दा दीपनमाथि चुनौती थपिएको छ । यसअघि कुनै सार्वजनिक पदमा नपुगेका कारण उनले धेरै आरोप भने खेप्नु परेको छैन ।
खाँदबारी ३ का कमल शेर्पाले यसपटक ‘रुख’ छोडेर ‘विद्रोह’ गर्ने मुडमा पुगेका बताए ।
नेकपाबाट उम्मेदवार बनेकी सरिता खड्काका लागि भने विरासत जोगाउन मुस्किल परेको देखिन्छ । उनी एमालेबाट सांसद हुँदा सामाजिक विकास समितिको सभापति थिइन् । महिला मतदातामाझ उनको केही प्रभाव छ तर ठूला दलका पुरुष उम्मेदवारले साधन र स्रोतको चरम प्रयोग गरिरहँदा खड्का भने कमजोर अवस्थामा देखिएकी छन् ।
यतिबेला संखुवासभाको चुनावी माहोल कुन पक्षमा ढल्किएको छ त ? यो प्रश्नको उत्तर खोज्न यहाँका मतदाताको प्रतिक्रिया हेर्नु उपयुक्त हुन्छ । ग्रामीण क्षेत्रका तुलनामा सदरमुकाम खाँदबारीमा घण्टीको लहर तीव्र छ ।
युवा पुस्तामा ‘पटक-पटक हेरियो अरुलाई, अब नयाँलाई एकपटक’ भन्ने धारणा हाबी छ । १८ वर्षीय अस्मी नेपाली नयाँ मतदाता हुन् । उनले पुराना दलहरूलाई भोट हाल्नु मूर्खता हो भन्दै घण्टीको वकालत गरिरहेका छन् ।
खाँदबारी-८ का गामबहादुर लकान्द्री र राजु विकले पनि पुराना दलका उम्मेदवार ‘पुरानो बोतलमा नयाँ रक्सी’ मात्रै भएको भन्दै परिवर्तनको पक्षमा उभिने बताए ।
माहोल हेर्दा संखुवासभामा नेकपा एमाले र नेपाली कांग्रेसका कट्टर समर्थकहरू अहिले दोधारे मानसिकतामा छन् । २०७४ को स्थानीय चुनावमा कांग्रेसबाट निर्वाचित वडाअध्यक्ष केशवराज सिंह थापा अहिले रास्वपा जिताउन कम्मर कसेर लागेका छन् ।
उनी भन्छन्, ‘अहिले त घरघरमा नाती पुस्ताले प्रश्न गर्न थालिसके, शेरबहादुरको पार्टीमा कहिलेसम्म बस्ने भनेर ?’
गगन-विश्वले नेतृत्व गरे पनि जिल्लामा पुरानै नेताको हाबी रहेकाले आफूले पार्टी छाडेको उनले बताए ।
विगतमा एमालेका कट्टर समर्थक रतनबहादुर मगर पनि नयाँलाई अवसर दिनुपर्ने अभियानमा सामेल भएका छन् । ठूला पार्टीको ‘कोर कमिटी’मा रहेका मान्छेहरू भित्रभित्रै घण्टीको सहयोगी बनिरहेको समेत भेटिएको छ ।
एमाले र कांग्रेसका नेताहरू भने रास्वपालाई ‘भड्केको आत्मा’ भनेर व्यंग्य गरिरहेका छन् । उनीहरू रास्वपाको संगठन नभएको र लहर अस्थायी भएको दाबी गर्छन् ।
खाँदबारीकै बसपार्कमा भेटिएकी सपना तामाङले भने आफूले नयाँको लहर आएको नबुझेको बताइन् । परशुराम निरौलाले नयाँको हावा चले पनि यस जिल्लामा पुरानैबीच प्रतिस्पर्धा हुने बताए ।
चिचिला गाउँपालिका-४ का हर्कबहादुर गुरुङले कांग्रेसका उम्मेदवार इमान्दार भएकाले यसपटक भोट उनैलाई नै हाल्ने बताए ।
भोटखोला-६ का डिल्ली तामाङको मन पनि परिवर्तन भएको छ । नेपालमै बसेर यहीँ रोजगारीको ग्यारेन्टी हुन्छ भन्ने आशमा रहेकाले नयाँलाई नै मत दिने उनले बताए ।
राममति राईले श्रम गरेर पनि देश बनाउन सकिन्छ भन्ने उदाहरण हर्क साम्पाङ भएकाले उनैको पार्टीलाई मत दिने बताइन् ।

तुलसी प्रसाद खनाल नयाँको समाउने न टेक्ने भएकाले पुरानो पार्टी नेपाली कांग्रेसलाई नै भोट हाल्ने बताउँछन् । उनी कांग्रेसका कुनै पदमा भने छैनन् ।
हिमालय माविका प्रधानाध्यापक ताराबहादुर बुढाथोकीले श्रम संस्कृति पार्टीले जातीय रूपमा मत लैजाने भएकाले अहिले नै अनुमान गर्न गाह्रो भएको बताए । सबै उम्मेदवार फ्रेस भएकाले कडा प्रतिस्पर्धा हुने उनको अनुमान छ ।
संखुवासभाका पहाडी इलाका चिचिला-५ तिर भने नयाँ भनिएका रास्वपा र अन्य दलहरूको त्यति ठूलो प्रभाव सुनिएको छैन ।
त्यहाँका दीपेन राई अझै अलमलमा छन् । उनले श्रम संस्कृति र रास्वपाका कुरा त सुनेका छन् तर निर्णयमा पुग्न सकिरहेका छैनन् ।
हर्क साम्पाङको नाम सुन्नेहरू ‘श्रम गर्नेले देश बनाउँछ’ भन्दै उनको विचारधारा बोक्नेलाई पनि कतैकतै खोजिरहेका छन् ।
यसपटक मतदातामा आएको यो चेतनाले गर्दा पुरानो शक्ति सन्तुलन बिग्रिने देखिन्छ ।
जिल्ला समन्वय समितिकी प्रमुख सुमना शाक्यका अनुसार ‘जेनजी आन्दोलन’पछि जनप्रतिनिधिलाई सामाजिक काममा जाँदा समेत गाली खानुपर्ने र भोट घट्ने डर पैदा भएको छ । ठूला दलका उम्मेदवार र प्रभावशाली नेताहरू मतदाताको अगाडि नमीठो अनुभव बोकेर गइरहेका छन् ।
संखुवासभाको जनमत यतिबेला विद्रोही मुडमा देखिन्छ । किमाथांकामा बसोबास गर्ने अल्पसंख्यक समुदाय र शेर्पाहरूको झुकाव नयाँ पात्रतर्फ छ भने सडक सफाइ गर्ने गङ्गा पुवारजस्ता इमान्दार मतदाता अझै पनि कांग्रेसको पुरानो विचारमै विश्वास गरिरहेका छन् ।
चिचिला र भोटखोलातिर एमाले र कांग्रेसका आधार इलाका अझै कायमै छन् भन्नेहरू पनि नभएका होइनन्, तर शहरबाट फैलिएको घण्टीको आवाज पहाडका कन्दरासम्म ठोक्किन थालेको छ ।
एमालेले अर्जुन कार्कीको बौद्धिकतालाई कार्यकर्तासँग जोड्न सकेन र राजेन्द्र गौतमलाई मनाउन सकेन भने उसको नतिजा खराब हुने देखिन्छ ।
त्यस्तै, कांग्रेसले पनि आफ्नो आन्तरिक विखण्डनलाई रोकेर दीपन श्रेष्ठका लागि सबैलाई एकताबद्ध नगराउने हो भने नतिजा सन्तोषजनक हुने देखिँदैन ।