२३ जेठ २०८३, शनिबार
आउन सक्छ नसोचेको परिणाम

२७ दिनको यात्रापछि फेरि भन्छु– ‘सुनामी’ आउँदै छ, तयार रहनुहोस् !

फागुन १८, २०८२
काठमाडौं
२७ दिनको यात्रापछि फेरि भन्छु– ‘सुनामी’ आउँदै छ, तयार रहनुहोस् !

पूर्वी तराईको एकसरो रिपोर्टिङ सकेर पश्चिम लाग्दै गर्दा सहकर्मी सुशील पन्तलाई सोधेँ– फेरि यता नआउन सकिन्छ, जनकपुरमा राजीव झालाई भेटेर जाऊँ न, हुन्न ? जनकपुर छिर्ने, झालाई भेट्ने र केही दिन त्यहाँको चुनावी रिपोर्टिङ गर्ने सहमति बन्यो । कोशी ब्यारेज कट्नासाथ हामीले स्थानीयसँग जनकपुर पुग्ने छोटो बाटो कुनै छ ? भनेर सोध्यौं । त्यहाँबाट पाँच किलोमिटर पर पुगेपछि जनकपुरका लागि छोटो हुलाकी राजमार्ग भेटिँदो रहेछ । महेन्द्र राजमार्ग छाडेर हामीले हुलाकी राजमार्ग समात्यौं । केही पर पुगेपछि मैले राजीव झा (धनुषा ३ मा राष्ट्रिय मुक्ति पार्टीका उम्मेदवार)लाई फोन गरेँ र भनेँ– ‘तपाईंलाई भेट्न आउँदैछौं, कता हुनुहुन्छ ? त्यताको चुनावी माहोल कस्तो छ ?’

‘विमलजी, मैले त उम्मेदवारी फिर्ता लिएँ नि ! राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेँ । अब मनिष झालाई सघाउने हो ।’

केही अघिसम्म मेरो माहोल राम्रो छ, म जित्दैछु भन्ने व्यक्ति एकाएक अर्को पार्टीमा ? होइन, के भैरहेको छ यो ? म तीनछक परेँ ।

साँच्चिकै हो कि ‘जोक’ गरेको ? मेरो प्रश्न सुनेपछि उनले थपे– ‘तपाईं यहाँ जसरी पनि आउनुस्, म केही रोचक कुरा सुनाउँछु ।’

ठाउँ– ठाउँमा रोकिँदै, ग्रामीण बस्तीका मतदातासँग कुरा गर्दै हामी दिउँसो साढे २ बजे जनकपुर पुग्यौं । झालाई भेट्नासाथ मैले फ्याट्ट सोधिहालेँ– ‘सरप्राइज’ दिनुभयो त ?

उनी खुल्न थाले । ‘हेर्नुस् न, म वर्षौंदेखि यहाँको सामाजिक काममा खटेको छु । मलाई धेरैले माया पनि गर्नुहुन्छ । तर, यसपटक यहाँ अर्कै लहर चलिराछ । अचानक मधेशमा छिरेको चुनावी लहर र मेरो चुनावी प्रचारका लागि खटेका भाइहरूको क्रियाकलाप नियालेपछि म ‘ब्याक’ भएँ ।’

null

झाको कुराले खुल्दुली बढायो । के त्यस्तो लहर छिर्‍यो यता ? तपाईंका भाइहरूले के गरे’ ? मैले सोधेँ ।

‘अहिले यहाँ सबै बालेन–बालेन भन्छन् । मैले विगतमा सहयोग गरेका साथी भाइ, नातेदार, छरछिमेकी सबै बालेन भन्छन् । रिसाउला कि भनेर मेरो अगाडि खुल्दैनन् । मेरो चुनाव प्रचारमा हिँड्ने भाइहरू पनि लुकी–लुकी घण्टी भन्दा रहेछन् । मेरै गाडीको पछाडि सीटमा बसेर आपसमा कानेखुसी गर्दै ‘यसपटक घण्टीलाई है’ भनिरहेको कैयौंपटक सुनेँ । उनीहरूको भौतिक उपस्थिति मसँग हुन्थ्यो, तर तन र मन घण्टीतिर । हिँडेको छ मसँग, सुन्छन् बालेनका गीत र भाषण । अनि भन्छन्, ‘यसपटक घण्टी बजाउनुपर्छ । हुँदाहुँदा मेरो प्रचारमा हिँडेका भाइहरूले भोटचाहिँ घण्टीलाई माग्देलान् कि भन्ने डर बढ्यो । अब तपाईं कल्पना गर्नुहोस् यहाँको अवस्था ।’

केहीबेर हामी मज्जाले हाँस्यौं .... ।

उनले आफ्नो मात्र होइन, तराईका अधिकांश निर्वाचन क्षेत्रको चुनावी माहोल करिब उस्तै रहेको दाबी गरे । राजीव झा मध्य तराई र खासगरि जनकपुरमा कहलिएका सामाजिक अभियन्ता हुन् । जनकपुरमा उनलाई धेरैले चिन्छन् । निरन्तरको सामाजिक कामका कारण उनी जनकपुरवासीमाझ लोकप्रिय मानिन्छन् । तराईमा चलिरहेको बालेन बतासबारे उनले मलाई बढाइचढाइ गरेर बताउनुपर्ने कुनै कारण थिएन ।

आफ्नो क्षेत्रमा रास्वपाको उम्मेदवार को छ भन्ने मतदातालाई थाहा छैन । तर, यसपटक– बालेन सरकार, परिवर्तन, नयाँ दल र घण्टी छाप । जसलाई सोधेपनि आउने जवाफ यही हो ।

जनकपुर पुग्दासम्म मैले रास्वपा र घण्टीको पक्षमा उर्लेको माहोलको आभास त पाइसकेको थिएँ । तर, मध्यतराईमा बालेनको क्रेजको बारेमा झाको दाबीले अतिरिक्त कौतुहलता जगाइदियो । झासँग कुरा गरेकै दिनदेखि मधेशको नाडी छाम्ने मन थियो । तर, पहिला पश्चिम भ्याएर यता छिरौंला भन्ने योजनाका साथ हामी धनुषाबाट निस्कियौं ।

दाङ– २ र प्रचण्डको निर्वाचन क्षेत्र रुकुम पूर्व पुगेर एक सातापछि फेरि मध्य तराईमा छिर्‍यौं । धनुषामा मात्र तीन दिन बितायौं । त्यहाँको स्थलगत अध्ययनपछि एउटा स्टोरी (जहाँ ५७ जनाको भिडियो संलग्न छ) का लागि सहकर्मी पन्तले निकालेको ‘सब हेडलाइन’ थियो– ‘मधेशका ३२ वटै क्षेत्रमा रास्वपाको एक्ला उम्मेदवार हुन्, बालेन ।’

हेर्नुस्, उक्त समाचारको लिंक :

धनुषाका ५१७ मतदातासँग कुरा गरेपछि क्षेत्र नम्बर ३ र ४ को विश्लेषण

धनुषा मात्र होइन, सिंगो मधेशमा यतिबेला बालेन नामको ‘सुनामी’ चलेको छ । मधेशका जुनसुकै क्षेत्रका जुनै स्थानमा पुग्नुहोस्, टक्क अडिनुहोस् र सोध्नुहोस्, यसपटक भोट कता हो ? सहजै जवाफ आउनेछ– ‘बालेन सरकार, घण्टी छाप’ । यो आलेख पढ्दै गर्दा कांग्रेस, एमालेलगायत दलले भन्ने छन्, ‘पत्रकार, यतिसम्म पूर्वाग्रही हुन मिल्छ ?’ भुइँको यथार्थ यस्तै छ, हामी के गरौं ?

७०/८० वर्षका पाका बुवाआमाचाहिँ बालेनको नाम पनि सही उच्चारण गर्न नजान्दा रहेछन् । उनीहरू बालेनलाई ‘बालम’ भनेर बोलाउँदा रहेछन् ।    

एकाध ठाउँमा अत्यन्तै कम संख्याका केही मतदाताले मात्र कांग्रेस, एमाले र मधेशकेन्द्रित दलको नाम लिए । मधेशमा मधेशकै पार्टीहरूको झन् हरिबिजोग छ, यसपटक । उपेन्द्र यादव, सीके राउत या महन्थ ठाकुरहरूको नाम त हामीले कतै सुनेनौं ।  

राजीव झाले भनेजस्तै यसपटक मधेशमा बालेन क्रेज असाधारण रूपमा बढेको छ । मधेशको छोरा प्रधानमन्त्री हुँदैछ भन्ने मनोविज्ञानले आममधेशी मतदातामा अभूतपूर्व उत्साह देखिन्छ । आफ्नो क्षेत्रमा रास्वपाको उम्मेदवार को छ भन्ने मतदातालाई थाहा छैन । तर, यसपटक– बालेन सरकार, परिवर्तन, नयाँ दल र घण्टी छाप । जसलाई सोधे पनि आउने जवाफ यही हो ।

२७ दिन लगाएर पूर्वी तराईको पहाडी जिल्ला ताप्लेजुङदेखि रुकुम पूर्व (प्रचण्ड उम्मेदवार रहेको निर्वाचन क्षेत्र)को स्थलगत अवलोकन र लोकान्तरको ५ वटा टोलीले ७० जिल्लामा गरेको स्थलगत अध्ययनका आधारमा म फेरि भन्छु– ‘हो, यसपटक नयाँ राजनीतिक दल र परिवर्तनको पक्षमा ‘सुनामी’ आउने सम्भावना छ । मैले यसअघि १३ दिनको स्थलगत अध्ययन गरेपछि लेखेको थिएँ, ‘चुनावले नयाँको पक्षमा सुनामी ल्याउँदैछ, कोठे विश्लेषण फ्लप हुनेछन्।’

त्यो लेखपछि धेरैले आश्चर्य मान्दै सोध्नुभयो– ‘के स्थिति त्यस्तै हो ? कसैले अलि बढी भावनामा बगेर सुनामी शब्दको प्रयोग गरेको प्रतिक्रिया दिनुभयो । कसैले हो, त्यस्तै देखिँदैछ भनेर सहमति जनाउनुभयो । कसैले मलाई रास्वपाले किनिसकेको आरोप लगाउनुभयो । मेरो भनाई स्पष्ट छ– न म रास्वपाको सदस्य हो, न प्रचारक । एक मतदाताका रूपमा मलाई मन पर्ने उम्मेदवार या दल पनि होलान् । तर, मलाई मन पर्नु र भुइँको यथार्थ दुई फरक विषय हुन् । सञ्चारकर्मीका नाताले देखेको लेख्दा/व्यक्त गर्दा कसैको झोले भइन्छ, कसैले किनेको देखिन्छ भने त्यसको औषधी छैन ।

सुनामी प्रतीकात्मक शब्द हो, त्यसलाई त्यही रूपमा बुझिदिन हुन पाठकसमक्ष अनुरोध छ । २७ दिनपछि यो आलेखमार्फत आदरणीय पाठकलाई फेरि भन्न चाहन्छु– स्थिति अझ बदलिएको छ । नयाँ दल रास्वपाप्रति विशेषगरी बालेनका कारण बहुसंख्यक मतदाताको अभूतपूर्व आकर्षण बढेको छ । रास्वपाले धेरैले अनुमान गरेभन्दा बढी सीट संख्या प्राप्त गर्ने मेरो विश्लेषण छ । पत्रकारितामा लेखमा (समाचारमा होइन) विश्लेषण र तर्क गर्न मज्जाले पाइन्छ । लेख ‘सब्जेक्टिभ’ हुन पनि सक्छ ।

मेरो बुझाइमा रास्वपाले सजिलैसँग बहुमतको सरकार बनाउने सीट प्राप्त गर्न सक्छ । त्योभन्दा बढी सीट ल्याए आश्चर्य हुने छैन । विद्यमान संवैधानिक प्रावधानअनुसार एकल बहुमतको सरकार बनाउन संसद्मा एक सय ३८ सीट चाहिन्छ । यति भन्दै गर्दा पाठकले सोध्नुहोला– त्यसो भए कांग्रेस–एमालेलगायत दलको सीट संख्या कति हुनेछ ? हामीले सबै सीट संख्याको गहिरो हिसाब–किताब त गरेका छैनौं, तर हामीले अनुमान गरेकोजस्तै भोट खस्यो भने तराईमा रास्वपाले यसपटक धेरैले कल्पना गरेभन्दा बढी नतिजा हासिल गर्नेछ । अनि कांग्रेस, एमाले, मधेशी लगायतका दलहरूको हालत कस्तो होला ? हाम्रो बुझाइमा एमालेले यसपटक धेरै ठूलो (शायद इतिहासकै सबैभन्दा बढी क्षति) ब्यहोर्दै छ । कांग्रेस युवाहरूको हातमा आइसक्यो भन्ने उत्साह र आभास मतदातामा छैन । मधेशमा मधेशी दल नै पत्तासाफ हुने सम्भावना छ ।  

null

सुदूरपश्चिम, कर्णाली र हिमाली जिल्लाका केही निर्वाचन क्षेत्रबाहेक यसपटक देशैभरि घण्टीको लहर छ । सुदूरपश्चिम, कर्णाली र हिमालका जिल्लामा कांग्रेस, नेकपा र एमालेबीच नै बढी प्रतिस्पर्धा पाइयो । तर, त्यहाँका शहरी मतदाताचाहिँ घण्टीकै पक्षमा छन् । यी क्षेत्रबाट पुराना दलले प्रत्यक्षमा जिते पनि घण्टीले समानुपातिकमा राम्रो मत पाउने सम्भावना छ ।

मेरो विश्लेषणमा यसपटक कांग्रेस दोस्रो हुनेछ । एमाले र नेकपाबीच तेस्रोका लागि तीव्र प्रतिस्पर्धा हुनेछ । हाम्रा विश्लेषण या बुझाइ सधैँ सही प्रमाणित नहुन सक्छन्, मेरो विश्लेषणप्रति गम्भीर असहमति जनाउने छुट आदरणीय पाठकलाई छ ।

हामी बीपी कोइराला र गिरिजाप्रसाद कोइरालाले विरासत बोकेका सुनसरी र मोरङका निर्वाचन क्षेत्रमा पुगेर जसै मतदातासँग कुरा गर्न शुरू गर्थ्यौं, न कसैले बीपी वा जीपी कोइरालाको राजनीतिक योगदानको स्मरण गरे, न त उनीहरूको अगुवाइमा भएका आन्दोलनबाट प्राप्त लोकतन्त्रले दिएको फलको चर्चा गरे ।

जता गए पनि उस्तै सुनियो– यसपटक नयाँ, अब परिवर्तन र बालेन सरकार । किन भनेर सोध्यो भने फ्याट्टै जवाफ आउँथ्यो– पुरानालाई ३५ वर्ष हेर्‍यौं, अब पुग्यो ।

जब हामी महेन्द्रनारायण निधि, महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो र सीके राउतको विरासत मानिने मध्य तराईका जिल्लामा पुग्थ्यौं र मतदातासँग कुरा गर्थ्यौं, धेरैलाई पत्यार नलाग्न सक्छ, अहँ, एक जनाले पनि उनीहरूको नाम लिएनन् ।

न विगत सम्झिए, न मधेश आन्दोलन र परिवर्तनको प्रसंग उठाए । न संघीयताका लागि भएको आन्दोलनको स्मरण गरे । केवल बारम्बार नाम लिइरहे– अब ‘बालम’ अर्थात् बालेन सरकार ।

०४६ सालको परिवर्तनपछि विकास नभएको होइन । गाउँ–गाउँमा बाटो पुगेका छन् । गाउँका भीरपाखा खोतलेर बनाइएका बाटामा बाइक कुद्छन् । घरमा वाइफाइ, हात-हातमा स्मार्ट फोन र इन्टरनेट । तर, यो कसरी सम्भव भयो भनेर मानिसहरू एक शब्द उच्चारण गर्दैनन् ।

यसले स्पष्ट संकेत के गर्‍यो भने ०४६ सालको परिवर्तनपछि जे जति उपलब्धि या प्रगति भएका छन्, त्यसबाट जनता पटक्कै सन्तुष्ट छैनन् । परिवर्तन, विकास र सुशासनप्रति जनतामा अत्यधिक हुटहुटी छ ।  

हामी फिल्डमै रहँदा विभिन्न हल्ला सुनिन्थे– झापामा कृष्ण सिटौलाले केपी ओलीलाई समर्थन गर्ने, अनि लिङ्देन र ओली मिल्ने । राप्रपाबाट दमकको मेयर जितेका रामकुमार थापाले ओलीलाई समर्थन गर्ने रे ! धनुषा ३ मा विमलेन्द्र निधिले अन्य दलका कार्यकर्तालाई कांग्रेस प्रवेश गराए रे ! विभिन्न जिल्लामा रास्वपाका पदाधिकारी कांग्रेस लगायतका दलमा प्रवेश गरे रे, आदि, इत्यादि ।

ती हल्लासँगै काठमाडौंबाट फोन आउँथ्यो– अब त केही चेन्ज भयो होला नि भुइँको यथार्थ । घण्टी–घण्टी भन्नेले अब त थाहा पाए होलान् नि ? आइरहने त्यस्ता हल्लाका बारेमा पनि हामीले मतदातासँग खुलेर कुराकानी गर्‍यौं । तर रोचक के भने ती हल्लाले मतदातालाई पटक्कै छोइरहेको हुन्थेन ।

जता सोधे पनि, जे सुनाए पनि मतदाताको सिधा जवाफ हुन्थ्यो– होइन सर, यसपटक नयाँलाई हेर्ने हो ।

यसबीचमा चुनाव रोकिने या सर्ने हल्ला पनि फैलिए । चुनाव सर्छ भन्छन् नि भनेर कुरा गर्दा मतदाताको जवाफ आउँथ्यो– एक दिन त चुनाव गर्नै पर्ला । अबको चुनावमा एकपटक नयाँलाई हेर्ने नै हो ।

यसपटकको चुनावले मधेश–पहाडको दूरी कम गर्ने संकेत गर्छ । पछिल्ला केही निर्वाचनमा देखिएको जातीय र क्षेत्रीय एजेन्डा अहिले बिकेका छैनन् । मधेशमा मतदातासँग कुरा गर्दा उनीहरूले उपेन्द्र, महन्थ, राजेन्द्र र सीके राउतहरूका राजनीतिक पसल बन्द गरिदिन लागेको आभास सहजै मिल्थ्यो ।

दुईजना पत्रकारसँग कुरा मिल्थ्यो, बाँकीले गाली गर्थे...  

यसपटक लोकान्तरले देशका ७० जिल्लाको स्थलगत अवलोकन र रिपोर्टिङ गर्‍यो । त्यसका लागि हामीले पाँचवटा छुट्टा-छुट्टै टोली खटाएका थियौं । हामी फिल्डको वस्तुस्थिति बुझेर रिपोर्टिङ गर्थ्यौ । उता काठमाडौंमा बसेर अनुमानका भरमा लंका पिट्ने विश्लेषकहरूका तर्क ठ्याक्कै उल्टा हुन्थे । शायद, त्यस्तै विश्लेषकका तर्क सुन्न बानी परिसकेकाले हुनसक्छ, आफ्नै साथीभाइ र शुभचिन्तकले समेत हाम्रा रिपोर्ट पढेर ‘तिमीहरू बहकियौ, अवस्था त्यस्तो छैन’ भन्दै फोन गर्थे । २७ दिनको अवधिमा हामीजत्तिकै भुइँको यथार्थ बुझ्नेमा मेरो सम्पर्कमा रहनुहुनेमध्ये दुई पत्रकार पाएँ– सेतोपाटीका सम्पादक अमित ढकाल दाइ र स्वतन्त्र सञ्चारकर्मी राजकुमार रेग्मी । उहाँहरूसँग कुरा गर्दा भुइँको यथार्थ बुझेको आभास हुन्थ्यो । सेतोपाटीको टीम पनि फिल्डमै खटेको र यथार्थ बुझेकाले हुन सक्छ, अमित दाइसँग चुनावी माहोलबारे कुरा गर्दा फरक खालको आनन्द आउँथ्यो । राजकुमारजी केही महिनायता चुनावी माहोलको अनुसन्धानमा खटिएकाले उहाँसँग प्रशस्त सूचना रहेछन् । चुनावी स्थलगत अध्ययनका क्रममा राजकुमारजीसँगको संवादले केही सहजता थपेको थियो । हुन त चुनावी नतिजा आइसकेको छैन र हामीले दाबी गरेजस्तै हुन्छ भनेर ठोकुवा गर्न खोजिएको पनि होइन, तर यसपटकको भुइँको यथार्थ काठामाडौंले बुझेजस्तो पटक्कै छैन । धेरै फरक छ । अबको केही दिनमा त्यो पटाक्षेप हुने नै छ ।

२०४६ सालको परिवर्तनपछि विकास नभएको होइन । गाउँ–गाउँमा बाटो पुगेका छन् । गाउँका भीरपाखा खोतलेर बनाइएका बाटामा बाइक कुद्छन् । घरमा वाइफाइ, हातहातमा स्मार्ट फोन र इन्टरनेट उपलब्ध छन् । तर, यो कसरी सम्भव भयो भनेर मानिसहरू एक शब्द उच्चारण गर्दैनन् ।

पैसाले पनि छुन छोडिसक्यो मतदातालाई...

चाहे शहरी मतदाता भन्नुहोस् या गाउँका । चाहे, पढेलेखेका भन्नुहोस् या अनपढ । आमनेपाली मतदातामा राजनीतिक चेत निकै बढेको छ । रुकुमपूर्व जस्तो विकट ठाउँका मतदातामा पनि राजनीतिक चेतको तह शहरी मतदातामा भन्दा कम छैन । ‘यसपटक घण्टीलाई हान्ने हो । हामी  पैसामा बिक्दैनौं’, रुकुम पूर्वको भुमे गाउँपालिका –१ मा क्यारेमबोर्ड खेल्दै गरेको अवस्थामा भेटिएका मतदाता याचा पुन मगरले फागुन ६ गते लोकान्तरको टीमसँग भने, ‘तपाईंहरूले हाम्लाई के ठानेको ? हामी प्रचण्डको पैसा खाएर भोट हाल्ने मान्छे हो जस्तो लाग्छ ?’ (नोट: हामीले प्रचण्डले पैसा बाँड्दैछन् भनेर सोधेका थिएनौं । यदि तपाईंलाई प्रलोभन देखाइयो भने के गर्नुहुन्छ ? भन्ने प्रश्नमा उनको त्यस्तो जवाफ आएको थियो ।)

कतै–कतैचाहिँ पैसा दिए खाइदिने हो, तर घण्टी बजाइदिने हो भन्ने मतदाता पनि भेटिए । मानिसहरू बालेन र रवि लामिछानेबारे नराम्रा कुरा सुन्न तयारै देखिएनन् । रवि र बालेनभन्दा पुराना नेता चोर, फटाहा हुन् भनेर आफैँ उदाहरण दिने गर्दा रहेछन् आम सर्वसाधारण । त्यसो भनिरहँदा उनीहरू ३५ वर्षको कालखण्डमा भएका विभिन्न ठूला घोटाला काण्डको फरर नाम लिन्छन् । समाजका हरेक साना ठूला विषयवस्तुबारे आममतदाता पूर्णरूपमा सचेत र जानकार भएको आभास मिल्छ ।

‘यसपटक घण्टीलाई हेर्ने, राम्रो नगरे पाँच वर्षपछि यिनकै घण्टी बजाइदिने’

कुराकानीका क्रममा घण्टीमा भोट हाल्ने मानसिकता बनाएका मतदाताले उनीहरुले आउँदा दिनमा गज्जबै गर्लान् भन्ने भ्रम पनि नपालेको बुझ्न सकिन्थ्यो । जसरी विगतमा कांग्रेस, एमाले र माओवादीलगायत दलले मतदातासँग चाहिने/नचाहिने वाचा गरेर पूरा नगरेका उदाहरण छन्, नयाँ दलले त्यही प्रवृत्ति दोहोर्‍याउन सक्नेमा मतदाता अहिल्यै सचेत छन् । एकपटक शंकाको सुविधा दिऊँ भन्ने मानसिकता जानीबुझीकनै बनाएको स्पष्ट बुझ्न सकिन्थ्यो ।

झापा –५ को कमल गाउँपालिका १ कि ताला हेमजमले फागुन १४ गते यो पंक्तिकारसँग भनिन्, ‘यसपटक बजाउने त घण्टी नै हो । तर, हेरौं न, भोट पाएर गएपछि लाठाले हान्दा घण्टी बज्छ कि बज्दैन ? त्यो त पछि नै थाहा होला ।’ हेमजम अनपढ तर राजनीतिक चेत भएकी वृद्ध महिला हुन् । स्थानीय चिया पसलमा हामीले उनलाई संयोगले भेटेको । उनको भनाइ सरल तर गहिरो छ । परिणाम हातमा पारिसकेपछि घण्टीवालाहरूको व्यवहार कस्तो होला भन्ने सन्दर्भमा उनले दिएको उदाहरण आफैँमा बलियो छ । खासमा घण्टी बजाउन लाठो अर्थात् गह्रौँ काठ चाहिँदैन । तर, उनले भनिन्, ‘लाठाले हान्दा पनि घण्टी बजेन भने त उनीहरू मातिइसके भनेर बुझ्नुपर्ने हुन्छ ।’ हेमजमले जस्तै भोलिका दिनमा घण्टीवालाहरूले चुनावका बेला गरेका वाचा बिर्सन सक्ने, मातिन सक्ने र पुराना दलजस्तै बिग्रिन सक्नेमा कैयौं मतदाताले अहिल्यै आंकलन गरिसकेका छन् । यसका बावजुत उनीहरू एकपटक नयाँलाई मौका दिने दृढ मानसिकतामा देखिन्छन् ।  

गाउँमा युवा छैनन्, भएकाहरूमा क्यारम बोर्ड र लुडोको लत

पूर्वी पहाडी जिल्ला ताप्लेजुङदेखि रुकुमपूर्व सम्म पुग्दा देखिएको एउटा समान सामाजिक रोग हो– युवा विदेश पलायन । गाउँमै अवसर हुँदा पनि युवाहरूमा विदेश जाने मोह छ । प्राय: गाउँमा २२ देखि ४० वर्ष उमेर समूहका युवा छैनन् । केही स्थानमा हामीले सोध्यौं, ‘यतै पनि कमाइन्छ त, किन विदेशै जानुपर्‍यो ? गाउँमा बाटो आएकै छ । बिजुली बलेकै छ । विकास निर्माणका आयोजनामा काम गर्ने मानिस चाहिएकै छ । यहीँ काम गरे हुन्न ? उस्तै काम गर्न विदेशै किन जानुपर्‍यो ? उत्तर सुन्दा अचम्म लाग्थ्यो । गाउँमा कस्तोसम्म प्रतिस्पर्धा रहेछ भने, ‘फलानाको छोरा विदेश गयो, मेरो छोरा हिम्मतहारा भएकाले जान सकेन ।’ मानौं, विदेश नजाने हो भने समाजमा पर्न पनि गाह्रो छ । विदेश गएर रेस्टुरेन्टमा भाँडा माझोस् कि भेडा चराओस्, ट्वाइलेट पुछोस् कि, ग्रसरी शपमा सामान बेचोस् । बाउआमा या समाजलाई त्यो मतलब छैन । तर, छोरा जसरी पनि विदेश जानुपर्‍यो, पैसा पठाउनुपर्‍यो, ताकि यता बाउले स्थानीय टोलको चिया अड्डामा बसेर, ‘अँ, आज मेरो छोराले यति पठायो । यस्तो सामान किन्देछ,’ भनेर गफ लडाउन र ठालु पल्टिन पाओस् । यो एक किसिमको रोगका रूपमा फैलिँदो छ, समाजमा । तराई, पहाड, हिमाल जतासुकै ।

रुकुम पूर्वमा क्यारम बोर्ड खेल्दै युवा

अर्को पक्षचाहिँ यहीँ बसेका युवामा गाउँ–गाउँमा क्यारम बोर्ड र लुडोको अत्यधिक लत बसेको देखियो । यो समस्या ताप्लेलुङदेखि रुकुमपूर्वसम्मै उस्तै पाइयो । हामी चुनावी माहोल बुझ्दै मोरङ– ३ को एउटा गाउँ पुगेका थियौं । दिउँसो साढे २ बजेतिरको समय । स्थानीय सानो बजार । दायाँबायाँ चुनावी प्रचार चलेको छ । एकजना उम्मेदवार गाडीबाटै माइकिङ गर्दै चर्को स्वरमा भोट माग्दैछन् । हामी त्यहाँ अडियौं । अचम्म के भने ती उम्मेदवारको वरिपरि १५ जना मानिस छैनन् । तर, सडक दायाँ बायाँका दुई किराना पसलका छेउमा करिब ५० जना जति युवाको भीड छ । युवा जति त्यही भीडमा छन् । करिब १० मिटरको दुरीमा रहेका सडक वारिपारिका दुई पसलमा बेजोडले क्यारम बोर्ड चलेको छ । ‘लोकान्तर सहकर्मी सोध्छन्– एकैछिन यहाँको चुनावी माहोलबारे कुरा गर्न मिल्छ ? क्यारम बोर्डमा मस्त युवाको जवाफ आउँछ, ‘हामीलाई फुर्सद छैन, अरूलाई सोध्नुहोस् ।’ हामी ट्वाँ । क्यारम बोर्डजस्तै लुडोमा झुण्डिने युवा र पाका उमेरका स्थानीयको संख्या छ्यापछ्याप्ती भेट्यौं ।    

null

मूलधारका मिडियाका समाचारको प्रभाव ग्रामीण बस्तीमा शून्य

यसपटकको यात्राले नराम्रोसँग झस्काएको अर्को एउटा तीतो यथार्थ हो– हामीले गरिरहेको पत्रकारिता र त्यसको प्रभाव । हामीले दु:ख गरेर जसका लागि भनेर समाचार सम्प्रेषण गरिरहेका छौं, त्यो लक्षित पाठकसमक्ष पुगेको छ ? लक्षित पाठक हाम्रा कन्टेन्टबाट लाभान्वित छन् ? हाम्रा कन्टेन्टले दूरदराजका आमपाठकलाई छुन्छन् ?

नढाँटी भन्दा, काठमाडौंमा हामीले उत्पादन गर्ने चाहे खोजमूलक समाचार होऊन्, या दैनिक सामाग्री, तीबारे आम पाठकलाई खासै मतलव छैन । तर, हामीले उत्पादन गरेका ती कन्टेन्ट यदि कसैले युट्युबमा हालिदियो या फेसबूकमा पोस्ट गर्‍यो भने चाहिँ त्यसको प्रभाव कैयौं गुणा पर्दोरहेछ । दूरदराजका पाठकका लागि सूचनाका भरपर्दा माध्यम भनेका फेसबुक, युट्युब र टिकटक हुन् । यात्राका क्रममा एक बिहान हामी महोत्तरीको एक होटलबाट ‘चेक आउट’ गर्दै थियौं । फ्रन्ट डेस्कमा बसेकी युवतीलाई मैले लोकान्तरको नाममा भ्याट बिल बनाइदिन आग्रह गरेँ । उनले नाम र भ्याट नम्बर मागिन् । त्यसपछि टाइप गर्न थालिन् । हाम्रो मिडियाको नाम उच्चारण गर्न उनलाई साह्रै गाह्रो भयो । गलत उच्चारण गरिन्, त्यो पनि पटक–पटक । मैले, यो मिडिया हो, यसरी समाचार पढ्न सकिन्छ भनेर बताएँ । उनले ए, सरी! भनिन् । मलाईचाहिँ केही सोध्न मन लाग्यो । ‘तपाईंले हाम्रो मिडियाको नाम त सुन्नुभएको रहेनछ, कुनचाहिँ मिडियाको नाम सुन्नुभएको छ ? बताउन मिल्छ ?’ एकछिन अकमकिएझैँ गरेर उनले जवाफ फर्काइन्– ‘अँ, गोर्खा मिडियाको ।’ म ट्वाँ परे ।  

किन यो मिडिया चर्चित लाग्छ तपाईंलाई ? मैले फेरि सोधें । उनको जवाफ रोचक थियो– एकताका यो मिडियाको नाम खुब सुन्थेँ, त्यही भएर । मलाई मनमनै बेस्सरी काउकुती लागेझैँ भयो । तर, प्रतिक्रियाविहीन भएर त्यहाँबाट हामी निस्कियौं । ती युवती मात्र होइन, काठमाडौंमा ठूला मिडिया दाबी गर्ने सबैको नाम लिँदा पनि दूरदराजका मानिसलाई त्यसको मतलब छैन । उनीहरू कि फेसबूक हेर्छन्, कि टिकटक या युट्युब । मलाई अबको पत्रकारिता अभ्यासबारे निकै ठूलो झट्का महसुस भएको छ, यसपटकको भ्रमणबाट । हामीले अबको पत्रकारिताको अभ्यासबारे नसोच्ने हो भने जसरी पुराना दल बडारिँदैछन्, मिडियाको हविगत पनि त्यस्तै हुन बेर छैन भन्ने लागेको छ ।

null

मुलुक इतिहासको नयाँ कालखण्डमा प्रवेश गर्दै

नयाँ दलले भोलिको दिनमा राम्रो गर्छ या गर्दैन, त्यो समयलाई छोडौं । तर, यो चुनावमा जसले जेसुकै तर्क गरे पनि, जे प्रयास गरे पनि, निर्वाचन निष्पक्ष भयो भने नयाँ दलको पक्षमा नतिजा आउने पक्का–पक्की देखिन्छ । रास्वपाले अबको सरकारको नेतृत्व गर्ने स्पष्ट संकेत छ । नयाँ सरकारको परीक्षा र चुनौती सरकार बनेकै दिनदेखि शुरू हुनेछ । सरकारले सामना गर्नुपर्नेछ– सीमित स्रोत/साधनका बीच परिवर्तनप्रति जनताका चाहना र थुप्रै सरोकारहरूको प्रभावकारी सम्बोधन, जुन धेरै जटिल विषय छ । भूराजनीतिक सन्तुलन, जनताका चुलिएका आकांक्षाको सम्बोधन र देखिने परिवर्तन । यिनै विषयले अब बन्ने नयाँ सरकारको दशा र दिशा तय गर्नेछ ।

नोट : यो विश्लेषणात्मक आलेखले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै स्थगन वा सम्पादन गरी पुन: प्रकाशित गर्न प्रेस काउन्सिलले निर्देशन दिएको आदरणीय पाठकहरूलाई जानकारी गराउँदछौं ।

हाम्रो भनाइ : यो २७ दिनसम्म फिल्डमा स्थलगत रिपोर्टिङका क्रममा देखे/बुझेका आधारमा सम्प्रेषित सामग्री हो । यही फागुन २१ गते हुने निर्वाचनमा आफ्नो स्वविवेक तथा अन्तरमनको निर्णयबाट मत खसाल्ने कुरा मतदाताको अधिकारको विषय हो भन्नेमा हामी सतर्क छौं । यस सामग्रीमा कुनै दललाई जिताऊँ वा हराऊँ भन्ने आशयको विषयवस्तु समावेश नभएकाले भ्रममा नपर्न हामी आम मतदातालाई आग्रह गर्दछौं । यहाँ प्रकाशित सामग्रीका आधारमा मतदाताको कुनै धारणा बन्ने छैन भन्ने विश्वास पनि व्यक्त गर्दछौं । (सम्पादक)

salt training

कमेन्ट गर्नुहोस्