
प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्था मजबुत पारिएको बताएका छन् ।
उनले सामाजिक सञ्जालमा चुनावी सुरक्षाबारे अवगत गराउँदै चुनाव बिथोल्ने वा उच्छृङ्खल गतिविधि गर्ने जोकोहीमाथि कडा रूपमा बल प्रयोग गरिने चेतावनी दिएका छन् ।
एकीकृत सुरक्षा योजना प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याइने कार्कीले उल्लेख गरेका छन् । गृह मन्त्रालयको नेतृत्वमा निर्वाचन सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग सम्मिलित एकीकृत सुरक्षा योजना बनाइएको छ ।
कार्कीका अनुसार चार वटै सुरक्षा निकाय क्रमशः नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले आ–आफ्नो स्थानबाट सूचना संकलन गर्ने, त्यसको विश्लेषण गरि सम्भावित चुनौतीहरूको मूल्यांकन गरेर आवश्यक सुरक्षा प्रबन्ध मिलाउने छ ।
निर्वाचन गराउन आवश्यक पर्ने सम्पूर्ण सुरक्षा प्रबन्ध मिलाइएको र देशैभरका सबै मतदान केन्द्रहरूमा सुरक्षाकर्मी पुगिसकेको कार्कीले जानकारी दिए ।
हिमाली तथा उच्च पहाडी जिल्लाहरूको सुरक्षा र कर्मचारी व्यवस्थापनका विषयमा समेत कार्कीले जानकारी दिएका छन् । ‘मौसम पूर्वानुमान महाशाखासँगको समन्वयमा काम भइरहेको छ, तत्कालै हिमपातको ठूलो सम्भावना नदेखिए पनि अत्यधिक चिसो हुने क्षेत्रमा खटिएका कर्मचारी र सुरक्षाकर्मीको स्वास्थ्य तथा बन्दोबस्तीमा विशेष ध्यान दिइएको छ,’ कार्कीले भनेका छन्, ‘लामो दूरी हिँडेर जानुपर्ने र चिसो बढी हुने दुर्गम स्थानहरूमा निर्वाचन सामग्री, कर्मचारी र सुरक्षाकर्मी पुर्याउन हेलिकप्टरको समेत व्यवस्था मिलाइएको छ ।’
निर्वाचनको मौन अवधिका विषयमा बोल्दै उनले यस समयमा राजनीतिक दल, उम्मेदवार र सम्बन्धित सबैले आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने बताए ।
आईजीपी कार्कीले मौन अवधिको समयमा सामाजिक सञ्जालको दुरुपयोग गरी भ्रामक सूचना फैलाउने वा आचारसंहिता विपरीतका गतिविधि गर्नेलाई तत्काल कानुनी दायरामा ल्याइएको र त्यस्ता गतिविधि गर्नेमाथि निगरानी भइरहेको उल्लेख गरे । उनले निर्वाचनको दिन सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिने र कुनै पनि अवाञ्छित गतिविधि गर्नेलाई छुट नदिइने बताए ।
उनले भने,‘मतदान केन्द्रमा कसैलाई धम्क्याउने, डरत्रास देखाउने वा बुथ कब्जा गर्ने जस्ता गतिविधि गरेमा तत्काल कानूनी रूपमा बल प्रयोग गर्ने अधिकार खटिएका सुरक्षाकर्मीलाई दिइएको छ ।’
प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्लाको समग्र सुरक्षा व्यवस्थापन हुने र मतदान केन्द्रको पहिलो घेरामा नेपाल प्रहरी रहने जानकारी कार्कीले दिए ।
चुनावका दिन कुनै स्थानमा परिस्थिति जटिल बनेमा तत्काल मद्दतका लागि सशस्त्र प्रहरी र नेपाली सेना परिचालन हुने गरी चुस्त व्यवस्था मिलाइएको कार्कीले जानकारी दिए । ‘चुनावलाई अशान्त बनाएर बुथ नै रद्द गराउने जस्ता नियत राख्ने समूहलाई निस्तेज पार्न सुरक्षाकर्मी पूर्ण रूपमा तयार छ,’ कार्कीले भने,‘ कुनै पनि डर, त्रास र धम्कीको प्रवाह नगरी निर्धक्क भएर मतदान प्रक्रियामा सहभागी हुनुस् ।’
उनले मतदातालाई आफ्नो घरबाट मतदान केन्द्रसम्म पुग्ने र मतदान गरेर सुरक्षित रूपमा फर्किने पूर्ण भरपर्दो वातावरण तयार भइसकेको बताए ।