
राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन जितेका आफ्ना पार्टीका उम्मेदवारहरूलाई विजय र्याली नगर्न निर्देशन दिएको छ ।
उपसभापति डोलप्रसाद अर्यालले शुक्रबार राति एक भिडियो अपिल जारी गर्दै अहिलेलाई विजय र्याली नगर्न भनेका हुन् ।
यसपटकको निर्वाचन आउनुमा साना नानीबाबुहरू, जेनजी समूहका छोराछोरीहरूले ज्यान गुमाएको पीडा अझै नसेलाएको भन्दै उनले यस्तो आग्रह गरेका हुन् ।
‘साथसाथै संसारभरि रहनुहुने नेपालीहरूले नेपालमा सुशासन कायम होस्, भ्रष्टाचारको अन्त्य होस् भनेर गरेको यो साथ र सहयोगलाई हामीले नजिकबाट हेर्नुपर्छ’, अर्यालले भनेका छन्, ‘सँगसँगै केही समय अगाडिदेखि मध्यपूर्वमा भइरहेको विभिन्न घटनाक्रमलाई पनि हेर्दा हामी अहिले त्यो अबिर जात्रा गर्ने, त्यो उत्साह मनाउने मुडमा हामी छैनौं ।’
अर्कोतर्फ, जनताले सरकार बनाउनुस् र जनताको लागि काम गर्नुस् भनेर काम गर्नका म्यान्डेट दिएकाले अब काममा ध्यान दिने उनको भनाइ छ ।
‘त्यसकारणले हामी जनताको अगाडि काम गरिसकेपछाडि यहाँहरूसँग, मतदाताज्यूहरूसँग घरदैलोमा अबिर जात्रा गर्ने, रमाइलो गर्ने त्यो दिन त आइ नै हाल्छ । सबैभन्दा पहिले हामीले काम गर्नुपर्ने छ’, उनले भनेका छन्, ‘जसरी हामी मत माग्नका लागि तपाईंहरूको घरदैलो आयौं, त्यसैगरी हाम्रा नेताहरू मत दिएकोमा धन्यवाद दिन यहाँहरूको घरदैलोमा आउनु नै हुनेछ ।’
निर्वाचित भइसकेपछि रास्वपाका उम्मेदवारसँग अबिर जात्रा गर्ने, रमाइलो गर्ने, आफ्ना सुखदुःखका साटासाट गर्ने र घरदैलोमा ऱ्याली गर्ने रहर जनतामा हुनु स्वाभाविक रहेको समेत अर्यालले बताएका छन् । तर अहिलेलाई त्यसो नगर्ने उनको भनाइ छ ।
‘हाललाई सबै उम्मेदवारज्यूहरूले, सबै निर्वाचित हुनुहुने मेरा मित्रहरूले मतगणनास्थलमा मात्र मतदाताज्यूहरूलाई, शुभेच्छुकहरूलाई, उपस्थित दाजुभाइ तथा दिदीबहिनीहरूलाई धन्यवाद दिनुहुन र कुनै पनि ऱ्याली, कुनै पनि अबिर जात्राहरू, कुनै पनि फूलमालाको गाडीमा अथवा मोटरसाइकलमा कुनै पनि ऱ्यालीहरू नगर्न, नगराउन आदरणीय पार्टी सभापति रवि लामिछाने, सँगसँगै वरिष्ठ नेता बालेन्द्र साहको समेत निर्देशन भएको हुँदा म यहाँहरूलाई यही अपिल गर्छु’, अर्यालले भनेका छन् ।