११ साउन २०८३, सोमबार
प्रतिनिधिसभा निर्वाचन

‘पार्टी सुधारेर’ निर्वाचनमा होमिएका कांग्रेस पदाधिकारीको खराब प्रदर्शन !

फागुन २३, २०८२
काठमाडौं
‘पार्टी सुधारेर’ निर्वाचनमा होमिएका कांग्रेस पदाधिकारीको खराब प्रदर्शन !

‘बदल्यौं कांग्रेस, बदल्छौं देश’ भन्ने नारासहित चुनावी मैदानमा होमिएको नेपाली कांग्रेसले त्यसअनुरूप चुनाव जित्न सकेन । ‘अबकी बार गगन सरकार’ र ‘सय पार’ नारा लगाएर चुनावी मैदानमा होमिए पनि प्रदर्शन भने निराशाजनक देखिएको छ । 

पछिल्लो प्राप्त परिणाम अनुसार कांग्रेसले पाँच निर्वाचन क्षेत्रमा जित निकालेको छ । तेह्रथुममा सन्तोष सुब्बा‚ मनाङमा टेकबहादुर गुरुङ‚ मुस्ताङमा योगेश गौचन थकाली‚ दैलेखमा बासना थापा‚ डोटीमा भरत बहादुर खड्काले निर्वाचन जितेका छन् ।

यो सामाग्री तयार पार्दासम्म कांग्रेसले १० निर्वाचन क्षेत्रमा अग्रता कायम गरेको छ । पाँचथर‚ सोलुखुम्बु‚ ओखलढुङ्गा‚ रौतहट‚ कपिलवस्तु‚ जाजरकोट‚ सुर्खेत-१‚ बाजुरा‚ अछाम-१ मा कांग्रेसले अग्रता बनाएको छ । 

अगुवाकै कमजोर प्रदर्शन 

कांग्रेसबाट भावी प्रधानमन्त्री घोषित सभापति गगनकुमार थापाकै प्रदर्शन कमजोर देखिएको छ । काठमाडौं ४ छाडेर मधेश झरेका उनी सर्लाही ४ बाट चुनाव लडे । तर‚ रास्वपा उम्मेदवारसँग उनी निरन्तर पछाडि छन् । 

गगन रास्वपा उम्मेदवार अमरेशकुमार सिंह भन्दा ६ हजार ५५३ मतले पछाडि छन् । अमरेशले १६ हजार २२७ मत पाउँदा गगनले ९६७४ मात्र मत पाएका छन् । अहिले मतगणना जारी छ ।

महामन्त्री प्रदीप पौडेल र अर्का महामन्त्री गुरुराज घिमिरेले निर्वाचनमा पराजय भोगिसकेका छन् । मोरङ ४ बाट उम्मेदवार बनेका महामन्त्री घिमिरेले १२ हजार ८१८ मत प्राप्त गर्दा रास्वपा उम्मेदवार सन्तोष राजवंशीले ४० हजार ८३३ मत पाए । २८ हजार बढी मतान्तरले गुरुले चुनाव हारे । 

अर्का महामन्त्री प्रदीप पौडेलले पनि काठमाडौं ५ बाट निर्वाचनमा पराजय भोगे । प्रदीप रास्वपा उम्मेदवार सस्मित पोखरेलसँग पराजित हुनुपरेको छ । सस्मितले ३० हजार ७३७ मत प्राप्त गर्दा प्रदीपले मात्र ९ हजार १५९ मत ल्याए ।
 
सहमहामन्त्रीहरू फरमुल्लाह मन्सुर‚ प्रकाश रसाइली स्नेही‚ उदय शमशेर राणाले पनि चुनाव हारेका छन् । बारा ३ बाट निर्वाचन लडेका सहमहामन्त्री मन्सुरले रास्वपा उम्मेदवार अरबिन्द साहसँग चुनाव हारे । अरबिन्दले ४० हजार ६९७ मत पाउँदा मन्सुरले १० हजार ५२ मत मात्र प्राप्त गरे । 

अर्का सहमहामन्त्री प्रकाश स्नेहीले बझाङबाट चुनाव हारे । उनले नेकपा एमाले उम्मेदवार ऐन महरसँग चुनावी पराजय बेहोर्नुपर्‍यो । स्नेहीले १६ हजार ३०४ मत ल्याउँदा महरले १८ हजार ५४३ मत पाए ।

ललितपुर १ बाट निर्वाचन लडेका उदय शमशेर राणाले पनि चुनाव हारे । उनी रास्वपाका बुद्धरत्न मर्हजनसँग पराजित हुनुपर्‍यो । बुद्धले २३ हजार ३७३ मत प्राप्त गर्दा उदयले १३ हजार ५२० मत पाए । 

सहमहामन्त्री कर्ण बहादुर बुढाले पनि प्रदर्शन राम्रो गर्न सकेका छैनन् । डोल्पाबाट उम्मेदवार बनेका उनी नेकपाका धनबहादुर बुढाभन्दा पछाडि छन् । यद्यपि, यहाँ मतगणना भने जारी छ । धनबहादुरले २ हजार ९४ मत पाउँदा कर्णले भने ४२७ मत पाएको निर्वाचन आयोगको तथ्यांकमा उल्लेख छ । कर्ण र धनबहादुर सहोदर दाजुभाइ हुन् ।

salt training

कमेन्ट गर्नुहोस्