२८ जेठ २०८३, बिहीबार

आईसीसीमाथि खनिए वेस्ट इन्डिज र दक्षिण अफ्रिकाका खेलाडी, पक्षपातको आरोप

फागुन २४, २०८२
काठमाडौं
आईसीसीमाथि खनिए वेस्ट इन्डिज र दक्षिण अफ्रिकाका खेलाडी, पक्षपातको आरोप

आईसीसी टी–२० विश्वकपको फाइनल खेल आइतबार साँझ हुँदैछ । फाइनलमा आयोजक भारतले न्युजिल्यान्डको सामना गर्दैछ ।

विश्वकप जारी रहँदा वेस्ट इन्डिज र दक्षिण अफ्रिकाका खेलाडी र पदाधिकारीहरूले भने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) पक्षपातको आरोप लगाएका छन् ।

उनीहरूले आईसीसीले विश्वकप खेल्ने टोलीहरूलाई भेदभाव गरेको आरोप लगाएका हुन् । मध्य–पूर्वमा जारी युद्धका कारण वेस्ट इन्डिज र दक्षिण अफ्रिकाका खेलाडी स्वदेश फर्कन पाएका छैनन् ।

उपाधि होडबाट बाहिरिएका यी दुवै टोलीका खेलाडी अहिले पनि भारतमै छन् । तर, सेमिफाइनलमा पराजित भएको इङ्ल्यान्डको टोलीलाई भने आईसीसीले विशेष विमानमार्फत स्वदेश फर्काइसकेको छ ।

यद्यपि, इङ्ल्यान्डभन्दा एक दिनअघि नै दक्षिण अफ्रिका सेमिफाइनलमा पराजित भएको थियो । वेस्ट इन्डिज भने ‘सुपर–८’ चरणबाटै बाहिरिएको थियो ।

वेस्ट इन्डिजले आफ्नो अन्तिम खेल मार्च १ तारिखमा भारतसँग खेलेको थियो । तर, मध्य–पूर्वमा चर्किएको युद्धका कारण यी वेस्ट इन्डिज र दक्षिण अफ्रिकाका खेलाडी स्वदेश फर्कन पाएका छैनन् ।

‘आईसीसीले विश्वकप खेल्ने टोलीबीच विभेद गरेको छ । हामीभन्दा पछि विश्वकपबाट बाहिरिएको टोली स्वदेश फर्किएका छन् । हामी भने अझै भारतमै फसेका छौं,’ दक्षिण अफ्रिकी टोलीका विकेटकिपर क्विन्टन डी काकले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

इङ्ल्यान्डको टोली चार्टर्ड विमानमार्फत शनिबार स्वदेश फर्किएको हो । दक्षिण अफ्रिकी टोलीका अर्का खेलाडी डेभिड मिलरले पनि आईसीसीको व्यवहारप्रति असन्तुष्टि व्यक्त गरेका छन् । ‘हामीभन्दा पछि उपाधि होडबाट बाहिरिएको इङ्ल्यान्डलाई चार्टर्ड विमान । हाम्रो बारेमा भने केही सुनुवाइ हुँदैन,’ उनले भनेका छन् ।

यसैगरी, क्यारेबियन टोलीका प्रशिक्षक ड्यारेन सामीले पनि आईसीसीको ब्यवहारप्रति असन्तुष्टि व्यक्त गरेका छन् । यसका अतिरिक्त, इङ्ल्यान्डका पूर्वकप्तान माइकल भनले पनि आईसीसीले विश्वकप खेल्ने टोलीहरूबीच दोहोरो मापदण्ड अपनाएको प्रतिक्रिया दिएका छन् ।

‘विश्वकप खेल्ने सबै टोलीको हैसियत समान हो । आईसीसीले यो कुरा बुझ्नु आवश्यक छ । इङ्ल्यान्डका खेलाडीलाई चार्टर्ड विमान । अनि, वेस्ट इन्डिज र दक्षिण अफ्रिकाका खेलाडी भने अझै भारतमै ? यो पक्षपात हो,’ उनले भनेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्