२९ जेठ २०८३, शुक्रबार

मध्यपूर्वमा चर्किएको युद्धका कारण विश्वकप छनोटको मिति सार्न प्रमुख प्रशिक्षक अर्नोल्डको आग्रह

फागुन २५, २०८२
काठमाडौं
मध्यपूर्वमा चर्किएको युद्धका कारण विश्वकप छनोटको मिति सार्न प्रमुख प्रशिक्षक अर्नोल्डको आग्रह

इराकको राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक ग्राहम अर्नोल्डले निकट भविष्यमा हुने भनिएको फिफा पुरुष विश्वकपको प्ले–अफ खेल स्थगित गरिनुपर्ने बताएका छन् ।

मध्यपूर्वमा चर्किएको युद्धका कारण प्ले–अफ चरणको खेल खेल्ने वातावरण नरहेको उनले बताएका हुन् । अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि शुरू भएको युद्धले यतिबेला मध्यपूर्व निकै अशान्त बनेको छ ।

इराकले मार्च ३१ तारिखमा विश्वकपको प्ले–अफ खेल्ने कार्यक्रम रहेको छ । मेक्सिकोको मोन्टेरिमा हुने उक्त खेलमा इराकले बोलिभिया र सुरिनामको सामना गर्नेछ । उक्त खेलमा विजयी हुने टोलीले सन् २०२६ मा आयोजना हुने फिफा विश्वकपमा स्थान पक्का गर्नेछ ।

विश्वकपको २३ औं संस्करण सन् २०२६ को जुन ११ देखि जुलाई १९ तारिखसम्म अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त रूपमा आयोजना हुँदैछ । उक्त विश्वकपमा ४८ टोलीको सहभागिता रहने छ ।

त्यसमध्ये ४२ टोलीको टुङ्गो लागिसकेको छ । बाँकी ६ टोलीको टुङ्गो भने अन्तरमहादेशीय प्ले–अफ खेलबाट लाग्नेछ । ‘यो खेल हाम्रा लागि निकै महत्त्वपूर्ण छ तर, अहिलेको असहज स्थितिमा प्ले–अफ खेल सारिनु पर्छ,’ प्रमुख प्रशिक्षक अर्नोल्डले भनेका छन् ।

युद्धका कारण हवाई यात्रा जोखिमपूर्ण रहेको तर्क उनले अघि सारेका छन् । ‘अहिले खेलाडी र पदाधिकारीले हवाई यात्रा गर्ने अवस्था छैन । यो कुरा फिफालाई पनि थाहा छ । त्यसैले प्ले–अफ खेल उपयुक्त मितिमा सारियोस् भन्ने हाम्रो माग हो,’ उनले भनेका छन् ।

अर्नोल्ड सन् २०२५ को मेमा इराकको प्रमुख प्रशिक्षक नियुक्त भएका थिए । इराकलाई विश्वकपको संघारमा पुर्‍याउन उनको भूमिका निकै महत्त्वपूर्ण छ । इराक सन् १९८६ पछि फिफा विश्वकपमा छनोट हुन सकेको छैन ।

‘हामी ४० वर्षपछि विश्वकप खेल्ने अभियानमा छौं । इराकी फुटबलका लागि यो महत्त्वपूर्ण क्षण हो । हाम्रो टोली उत्कृष्ट पनि छ । तर, अहिलेको वातावरण हाम्रा लागि उपयुक्त छैन,’ प्रमुख प्रशिक्षक अर्नोल्ड भन्छन् ।

कमेन्ट गर्नुहोस्