१२ साउन २०८३, मंगलबार
चुनावी पराजयको सन्दर्भ

मधेश आन्दोलनका उपलब्धि धरापमा परे संघर्ष गर्नुपर्ने हुनसक्छ– उपेन्द्र यादव

फागुन २६, २०८२
काठमाडौं

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिलेको चुनावी परिणामले मधेश आन्दोलनका उपलब्धि धरापमा पर्नसक्ने बताएका छन् । फेरि संघर्ष गर्नुपर्ने अवस्था आउनसक्ने उनको चिन्ता छ ।

मधेशी दलले अपेक्षित परिणाम ल्याउन नसकेको विषयमा लोकान्तरले सोधेको प्रश्नमा यादवले जनताले नयाँ खोजेकाले आफूहरू पराजित भएको बताए । यसले आफूहरूलाई खासै फरक भने नपर्ने उनको दाबी छ ।

‘हामीलाई यसले खासै फरक पर्दैन । संघर्ष, क्रान्ति र परिवर्तनको बाटोबाट अगाडि बढिरहेको पार्टीलाई संघर्ष गरेर एउटा-दुईटा सिट आउँदा, जाँदा, पाँच-दशवटा हुँदा-नहुँदा के फरक पर्छ र ?,’ यादवले लोकान्तरसँग भने, ‘तर जहाँसम्म जनताको कुरा गर्नुभयो, यसपालि जनताले नयाँ खोज्या थिए, नयाँलाई दिए । अब जनताका सबै काम नयाँले गरुन् । त्यसबाट अपेक्षा जनताले राख्या छन् ।’

सप्तरी- ३ बाट जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव आफैं पराजित हुनुका साथै प्रतिनिधि सभामा जसपा नेपालले एक सीट पनि जित्न सकेन ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई प्रधानमन्त्री बनाउने भनेर जनताले मतदान गरेको भन्ने कुरालाई भने उनले अस्विकार गरेका छन् । बालेनभन्दा पनि नयाँलाई नै दिने भनेर जनताले मतदान गरेको उनले बताए ।

‘अब त्यो त पब्लिकले भन्ने हो। तर, मैले त सुनेको नयाँ नै हो । नयाँ–नयाँ भन्ने वर्ड मात्रै सुनिराख्या थिएँ मैले,’ यादवले लोकान्तरसँग भने ।

संघमा पटक–पटक सरकारमा गएको तथा मधेश प्रदेश सरकारमा ७ वर्ष जसपाले नेतृत्व गरे पनि अपेक्षाअनुसार काम गर्न नसकेको प्रतिक्रिया स्वरूप जनताले यस्तो मतादेश दिएको त होइन ? भन्ने प्रश्नमा उनले भने, ‘हैन, अब देशैभरि छ, मधेशमा मात्र के कुरा गर्नु ? पहाडमा पनि छ । हिमालमा पनि छ । देशमा पनि छ । मधेशमा पनि छ । सबै ठाउँमा त्यसको असर पर्‍या हो ।’

मधेस आन्दोलनबाट प्राप्त धेरै उपलब्धिहरू धरापमा परेको तथा ती उपलब्धिलाई जोगाउन फेरि जसपाले नै संघर्ष गर्नुपर्ने उनले बताए ।

‘संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता र समावेशी लोकतन्त्रलाई जोगाउन, प्राप्त उपलब्धिलाई जोगाउन जनता समाजवादी पार्टी रहुञ्जेल लडिरहन्छ,’ उनले थपे, ‘नयाँ–नयाँ भनेर परिवर्तन हुनुमा विगतका सरकारहरूले गरेका कामहरू पनि होलान् । अब धेरै कुराहरू छन् । सत्य-तथ्य त अहिलेसम्म बाहिर आइसकेको छैन, आएपछि सब भनूँला । अहिलेलाई यत्ति ।’

सुन्नुहोस्, अडियो :

कमेन्ट गर्नुहोस्