२३ जेठ २०८३, शनिबार
नयाँ सरकारप्रतिको अपेक्षा

बालेनलाई काम गर्न दिऊँ; आशंका होइन, आशा गरौं !

फागुन २६, २०८२
काठमाडौं
बालेनलाई काम गर्न दिऊँ; आशंका होइन, आशा गरौं !

फागुन २१ गतेको चुनावमा चामत्कारिक जीत निकालेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केही दिनमा नयाँ सरकार बनाउँदैछ । सम्भवत: चैत्र दोस्रो साताअगावै बालेन्द्र शाह नेपालको ४७ औं प्रधानमन्त्री नियुक्त हुनेछन् ।

रास्वपाले चुनावअघि नै बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिसकेका कारण निर्वाचनको अन्तिम परिणाम आएर संसदीय दलको नेता नियुक्त भएपछि प्रधानमन्त्री नियुक्तिको बाटो खुल्नेछ ।

रास्वपाको एकल बहुमत रहेका कारण बालेन संविधानको धारा ७६ (१) अनुसार प्रधानमन्त्री नियुक्त हुनेछन् ।

रास्वपाले एकल बहुमत ल्याउँदै गर्दा अहिले कतिपयले आशंका गरिरहेका छन्, बालेन नै प्रधानमन्त्री बन्छन् ? जे कुरामा पनि शंका गर्ने बानी नेपालीहरूलाई परेको छ, तर बालेनलाई प्रधानमन्त्री बनाउने रास्वपाको लिखित सहमति र प्रतिबद्धता रहेका कारण यसमा धेरै आशंका गर्न जरुरी छैन ।

पुस १३ गते रास्वपा र बालेनबीच भएको ७ बुँदे सहमतिको चौथो बुँदामा प्रतिनिधि सभा निर्वाचनपछि बालेन संसदीय दलको नेता र प्रधानमन्त्री बन्ने स्पष्ट उल्लेख छ । पुराना अन्य दल भएको भए यो सहमति तोडिने सम्भावना हुन्थ्यो, आफैंले गरेको हस्ताक्षरमा पार्टी सभापति रवि लामिछाने इमान्दार रहने सम्भावना छ । स्मरणीय के छ भने, देश विकास पार्टी गठनको तयारी गरेका बालेनलाई भित्र्याउँदा रास्वपामा हर्षबढाइँ भएको थियो ।

काठमाडौं महानगरको मेयरबाट राजीनामा गरेर वनस्थलीस्थित पार्टी कार्यालयमा पुग्दा बालेन समर्थकको भीडले घेरिएका थिए । पार्टी प्रवेश गरेर जनकपुर पुग्दा विमानस्थलबाटै भीड शुरू भएको थियो । माघ ५ गते जनकपुरको सभापछि त मधेशका जिल्लामा रास्वपाको लहर नै चल्यो ।

बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर गएकै कारण पार्टीको पक्षमा असाधारण लहर आएको रास्वपाको मूल्याङ्कन छ । यसअघि बलियो संगठन, आधार र अपिल पुग्न नसकेको मधेशको भोट बैंकमा बालेन फ्याक्टरकै कारण रास्वपाको पक्षमा सुनामी आयो ।

त्यसैले बालेनलाई प्रधानमन्त्री बनाउने सहमतिबाट रास्वपा पछि हट्ने सम्भावना छैन, बजार हल्ला जेसुकै भएपनि । चितवनमा भएको चुनावी सभामा रविले बालेनलाई ‘भावी प्रधानमन्त्री’ भनेरै सम्बोधन गरेका थिए । रास्वपाका प्रभावशाली नेता शिशिर खनाल र गणेश पराजुलीले बालेन प्रधानमन्त्री बन्ने कुरामा कुनै आशंका नरहेको लोकान्तरसँगको कुराकानीमा बताएका छन् ।

अहिलेको चुनावको माहोल नै बालेनले सिर्जना गरेका कारण उनीबाहेकको व्यक्तिलाई प्रधानमन्त्री बनाउने कुरा जनताको आदेशको विपरीत पनि हुन्छ । सम्भवत: त्यस्तो जोखिम कसैले उठाउने छैन ।

भावी प्रधानमन्त्रीको रूपमै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार बालेनलाई फोनबाट बधाई दिएका छन्, नत्र सभापतिलाई फोन गरेपछि अर्को नेतालाई फोन गर्नु आवश्यक थिएन ।

null

जनताका चुलिएका आशा

‘घण्टी छाप’में मोहर लगाकें अइबाजी ‘बालम’(मधेशका जिल्लामा बालेनलाई कतिपयले बालम भनेर सम्बोधन गरिरहेका थिए)के प्रधानमन्त्री बनाबके है !’ यसपटक चुनावमा कसलाई भोट दिँदै हुनुहुन्छ ? भनेर सोध्दा मधेशका जिल्लामा आउने एउटा साझा जवाफ थियो ।

बालेनलाई किन भोट दिने या बालेन प्रधानमन्त्री बनाएर के हुन्छ ? भनेर सोध्दा मतदाताको जवाफ हुन्थ्यो– ‘देश बनाउन !’ मतदाताहरू अझै खुलेर बोल्थे– ‘बालेनले मेयर बनेर काठमाडौं चम्काए । प्रधानमन्त्री बने भने देश नै चम्काउँछन् । गरिबका छोराछोरीलाई छात्रवृत्ति दिन्छन् र अस्पतालमा गरिबलाई नि:शुल्क गर्छन् ।’

बालेनले काठमाडौं चम्काए भनेका कतिपय सर्वसाधारण काठमाडौंमा आएका पनि थिएनन् । तर, उनीहरूले मधेशका जिल्ला पनि काठमाडौंजस्तै चम्किने आशा व्यक्त गरेका थिए । बालेनले जिल्ला–जिल्लामा एम्बुलेन्स बाँडेको, रोजगार मेला चलाएको र सरकारी स्कूल सुधार गरेको उनीहरूले सुनेका थिए ।

बालेनलाई प्रधानमन्त्री बनाउन घण्टीमा भोट हाल्ने बताएका पहाडी जिल्लाका मतदाताले भ्रष्टाचार अन्त्य र देश विकास हुने आशा राखिएको बताएका थिए । मधेश र पहाड सबै क्षेत्रका मतदाताले स्वदेशमै रोजगारी र आफ्ना बालबच्चाको भविष्य सुनिश्चित गर्न खोजेको बताएका थिए ।

राज्यका निकायमा योग्यताभन्दा पनि नातावाद, कृपावाद र दलीय आधारमा गरिएको नियुक्तिप्रति मतदाता रुष्ट थिए । शब्दमा अभिव्यक्त गर्न नसके पनि मानिसहरूले सुशासनसहित आफ्नो जीवनमा सुधारको अपेक्षा राखेका थिए । अर्थात्, मधेश–पहाड र हिमालको साझा अपेक्षा थियो– ‘देशमा परिवर्तन र विकास ।’

रास्वपाको पक्षमा चुनावी माहोल सिर्जना गर्न देशव्यापी ‘रोड शो’मा निस्किएका बालेनले मतदाताका कुरा सुनेका थिए । चुनावी सभामा अन्य दलका नेताले जस्तो परम्परागत र लम्बेतान भाषण गरेनन्, कसैलाई गाली गरेनन्, तर छोटो सम्बोधनमै मन जिते ।

उनले सुदूरपश्चिमको सभामा गएर खप्तड र रामारोशनको चर्चा गरे । चितवनमा पुगेर दूध र तरकारी किसानका कुरा गरे । सुनसरीको इटहरीमा पुगेर पहाडी जिल्लाका तरकारी किसानको कुरा गरे । कोशी किनारालाई इन्डोनेसियाको बालीजस्तै पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न सकिने कुरा गरे र पूर्वका जिल्लामा फूटबल खेलाडी उत्पादन गर्ने योजना सुनाए ।

सबै ठाउँमा पुगेर उनले भने– ‘हामी पैसा नहुनेलाई पनि स्तरीय शिक्षा र स्वास्थ्योपचार दिन चाहन्छौं ।’ मतदाताले चाहेको कुरा पनि त्यही थियो– आफ्ना बालबच्चाको स्तरीय शिक्षा, उनीहरूलाई योग्यता अनुसारको रोजगारी र सुलभ औषधोपचार ।

बालेनले ठाउँ–ठाउँमा गएर गरेका भाषण र त्यसले बनाएको चुनावी माहोल हेरेपछि नै लोकान्तर डट्कमले दोहोर्‍याएर लेखेको थियो– यसपटक नयाँको पक्षमा सुनामी आउने छ

जनताले रास्वपा र बालेनलाई पूरै भरोसा गरेर आफ्नो अमूल्य मत दिए, अब उनीहरूले काम गरेर देखाउनुपर्ने बेला आएको छ । ‘यसपटक हामीलाई हेर्नुस्’ भन्ने बालेन–रास्वपाको अपिल जनताले पत्याएपछि त्यसको गुन तिर्ने पालो नयाँ सरकारको हो ।

विराटनगर– २ मा चिया पसल सञ्चालन गर्दै आएका भीष्मराज सिग्देलले बालेनले इटहरीमा गरेको भाषणकै कारण आफू मत परिवर्तन गर्ने निर्णयमा पुगेको बताएका थिए । उनी उदाहरण मात्र हुन्, कयौं मतदाता बालेन शैलीबाट प्रभावित थिए ।

समानुपातिकतर्फको गणना पनि लगभग अन्तिम चरणमा पुगिसकेको छ । हामीले दोहोर्‍याएर लेखेको चुनावी सुनामी आएको छ । रास्वपा दुईतिहाइ नजिक पुगेको छ । एउटै चुनाव चिह्नमा दुईतिहाइ मत आउनु २०१५/०१६ सालपछिको दुर्लभ अवस्था हो ।

जनताले रास्वपा र बालेनलाई पूरै भरोसा गरेर आफ्नो अमूल्य मत दिए, अब उनीहरूले काम गरेर देखाउनुपर्ने बेला आएको छ । ‘यसपटक हामीलाई हेर्नुस्’ भन्ने बालेन–रास्वपाको अपिल जनताले पत्याएपछि त्यसको गुन तिर्ने पालो नयाँ सरकारको हो ।

सीमित स्रोत साधन, अत्यन्त परम्परागत तथा राजनीतिले ग्रस्त बनाएको कर्मचारीतन्त्रको सहायता लिएर बालेनले जनताका चुलिएका अपेक्षा पूरा गर्नुपर्ने चुनौती छ ।

सरकारी कार्यालयमा हुने ढिलासुस्ती, भनसुन, थिचोमिचो, बजारमा भइरहेको अनियन्त्रित मूल्यवृद्धि रोकिने कुराले जनताले परिवर्तनको महसुस गर्नेछन् । खेतीको सिजनमा रासायनिक मलका लागि रातभर लाइन बस्नुपर्ने, यहाँ नपाएर सीमापारिबाट १ बोरा मल ल्याउँदा ‘तस्कर’को आरोपमा सर्वसाधारणले पाएको सास्ती अन्त्य गर्न बालेन सरकारले लिने नीतिले सरकारको मूल्याङ्कन हुनेछ ।

एउटा सामान्य शल्यक्रियाका लागि सरकारी अस्पतालमा ६ महिना पालो कुर्नुपर्ने अवस्थामा जनताले सुधार खोजेका छन् । सरकारी अस्पतालमा ओपीडीको टिकट लिन राति ४ बजे सिभिल अस्पतालमा लाइनमा बस्ने मतदाताले सरकारी अस्पताल सुधार भए मात्र बालेनको प्रशंसा गर्नेछन् ।

विकास निर्माणको काममा चरम ढिलासुस्ती भइरहेका छ । एउटा पुल बन्न दशक लागेको छ । त्यसमा मतदाताले सुधार खोजेका छन् ।

समयमा काम नगर्ने ठेकेदारलाई रूखमा बाँधेर भएपनि काम गराउने उनले बताएका छन्, त्यो शैलीले होला, नहोला, तर समयमा काम हुनैपर्ने छ ।

शुरू भएको बालेन दशक

पछिल्ला ३ दशकमा नेपालको राजनीतिको केन्द्रमा दुईजना पात्र थिए, जसले देशलाई सही ढंगले सम्हाल्न सकेनन् । पाएको अवसरको सदुपयोग गर्न नसक्दा जनतामा चरम निराशा र संसदवादी दलप्रति वितृष्णा बढ्यो ।

०५० को दशकदेखि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालको राजनीतिको केन्द्रमा थिए । सशस्त्र जनयुद्धको कमान्डर रहँदा होस् या शान्ति प्रक्रियापछि सरकार गठनको ‘किङ मेकर’ प्रचण्ड नै थिए । उनी स्वयंले प्रधानमन्त्री बनाउनमा गिनिज रेकर्ड कायम गरेको दाबी गर्ने गरेका थिए ।

०६५ सालसम्म प्रचण्डको राप यति थियो कि, उनलाई हेरेर संविधानसभामा प्रत्यक्ष कार्यकारीको बहसबाट कांग्रेस–एमाले भागेका थिए । देशमा माओवादीले २५ वर्ष शासन गर्ने आशंका/अनुमान भएका थिए, भलै अहिले उनी संसदमा आउनका लागि चुनाव क्षेत्र चहार्दै हिँड्नुपर्ने रक्षात्मक स्थितिमा आइपुगे । ०७० सालसम्म पनि प्रचण्ड नेपालको राजनीतिको केन्द्रका थिए ।

०७० सालपछि पनि उनी दुईपटक प्रधानमन्त्री बने, तर राजनीति उनको हातमा थिएन । पछिल्लो एक दशक राजनीतिको केन्द्रमा केपी ओली थिए । जेनजी आन्दोलनपछि राजनीतिको खलनायकजस्तो देखिएका ओली ०७४ सालपछिका वर्षमा नायक जस्तो थिए ।

विश्वमै कम्युनिस्ट आन्दोलन रक्षात्मक बनेको बेला ओलीको नेतृत्वमा चुनावमा गएको वामपन्थी गठबन्धनले झण्डै दुईतिहाइ बहुमत ल्याएको थियो । त्यति शक्तिशाली सरकारको नेतृत्व गर्ने अवसर पाएका ओलीले देशको अमूल्य समयलाई उखानटुक्का र उट्पट्याङ कुरा गरेर खेल फाले ।

देशको आवश्यकता एउटा थियो, उनले रेल, पानीजहाज र घर–घरमा ग्यास लाइन जोड्ने हावादारी कुरा गरेर जनता अल्मल्याउने र सस्तो लोकप्रियता कमाउने काम गरे । विकासको नाममा आवश्यकता नभएको ठाउँमा लगेर भ्यूटावर बनाएर राज्य स्रोतको चरम दुरुपयोग गरे ।

null

संविधान जारी भएपछि पहिलो निर्वाचित संसद्लाई पटक–पटक विघटन गरे । र, पनि उनी सत्ता राजनीतिको केन्द्रमै थिए– भदौ २४ को मध्याह्नसम्म । ०७९ सालपछि उनैले कहिले प्रचण्डलाई प्रधानमन्त्री बनाइदिए, कहिले देउवालाई जिल्याइदिए ।

पाएको अवसरलाई चिन्न नसकेका ओली आफ्नै दम्भ र अहंकारका कारण सिद्धिए । नेपालको लोकतान्त्रिक आन्दोलनको एउटा हिस्सेदार पार्टी एमालेलाई पनि अस्तित्व संकटको अवस्थामा पुर्‍याए । नाति पुस्ताको एउटा युवाले चुनावमा शर्मानक ढंगले पराजित गर्दा पनि उनी अझै आफ्नो दम्भमा अडिग देखिन्छन्, आफूलाई चुनाव हराउनेलाई ‘बाबु’ सम्बोधन गरेर ।

अस्तिसम्म ‘सिंहदरबार जलाउने लुसिफर’को संज्ञा दिएर ओलीले आफ्नो प्रतिस्पर्धी उम्मेदवारलाई हेप्ने काम गरेका थिए । उनलाई कुलतमा लागेको भनेर समेत टिप्पणी गरेका थिए । नेपाली राजनीतिमा ओलीको युग लगभग सकिएको छ । एमाले फेरि निर्णायक शक्ति बनेर आउन समय लाग्नेछ, कम्तीमा ओलीको नेतृत्वमा त्यो सम्भव देखिँदैन । नेतृत्व परिवर्तन गरेर आशा जगायो भने एमाले फेरि पुनरागमन गर्ने ठाउँ छँदैछ, तर ओलीको नेतृत्वमा किमार्थ छैन ।

स्वाभाविकरूपले नेपालको राजनीतिको केन्द्रमा अहिले बालेन छन्, पछिल्ला केही वर्षदेखि । ओलीलाई झापामा पराजित गर्नुअघि नै उनले त्यो मानक स्थापित गरिसकेका छन् । गिरिजाप्रसाद, खड्गप्रसाद र पुष्पकमलपछि बालेन राष्ट्रिय राजनीतिको केन्द्रमा आएका छन्, बालेनकै कारण गगन थापाचाहिँ अहिले छायाँमा परेका छन् ।

बालेन कति प्रभावशाली थिए भन्ने उदाहरण भदौ २३–२४ गतेको आन्दोलन हो । उनको एउटा फेसबुक स्टाटसले जंगी अड्डाको विज्ञप्तिको काम गर्थ्यो । त्यो लोकप्रियता ०८२ फागुन २१ को चुनावमा रास्वपाको पक्षमा आएको लहरमा प्रकट भएको छ ।

चुनावपछि मानिसहरू बालेन प्रधानमन्त्री बनेको हेर्न व्यग्र प्रतीक्षामा देखिन्छन् ।

आशा र आशंका

चुनाव अघिसम्म रास्वपा ठूलो पार्टी बन्छ र बहुमत ल्याउँछ भनेर लेख्दा कतिपयले खिसिट्युरी गरे । आलोचकहरू अहिले रास्वपाले सरकार चलाउन सक्दैन भनिरहेका छन् ।

आममतदाताको विवेकलाई चुनौती दिँदै नयाँ उदाएका शक्तिलाई ‘जेलेन्स्की’को संज्ञा दिएर आलोचना भइरहेको छ ।

रास्वपा नेताहरू आपसमा भिड्छन् र यो संसद्ले पनि कार्यकाल पूरा गर्दैन भनेर ‘कन्सिपरेसी थ्यौरी’को कुरा गरिरहेका छन् । जसरी चुनाव अघिसम्म ओलीले बालेनलाई हराउनका लागि सबैभन्दा अप्ठ्यारो ठाउँ (झापा ५)बाट चुनाव लडाएको भनेर दाबी गर्दै आएका थिए ।

गिरिजाप्रसाद र कृष्णप्रसाद या खड्गप्रसाद र पुष्पकमल दाहालजस्तै पार्टीमा दुईवटा शक्ति केन्द्र बनेर आपसमा भिड्छन् भन्ने आशंका पनि नभएका होइनन् । तर, हामीले छिमेकमा देखेका छौं– भारतमा पार्टी सभापति एक जना छन्, प्रधानमन्त्री अर्को । यदि साँच्चिकै देशप्रति इमान्दार हुन् भने उनीहरू यो क्षणिक लाभहानीमा भुल्ने छैनन् ।

null

पढ्नुहोस्, यो पनि:

कति प्रभावकारी होला नेपालमा ‘भाजपा मोडल’को नेतृत्व र ‘पावर शेयरिङ’ ?

आशंकाका कथ्य बुन्नेहरू बालेन सरकारको कार्यकाल नै तोकेर विश्लेषण गर्न थालेका छन्, जो फागुन २० सम्म रास्वपा तेस्रो हुने प्रक्षेपण गरिरहेका थिए ।

आफ्नो पेशा र दायित्वप्रति बफादार नभए पनि राजनीतिक विश्लेषणमा नेपालका पेशाकर्मीहरू खप्पिस देखिन्छन् । स्कूलमा पढाउनु पर्ने कतिपय शिक्षक र जनताको काम गर्नुपर्ने कतिपय कर्मचारीहरू आफ्नो काम गर्दैनन्, गर्छन् त बालेन–रवि सम्बन्धको अनुमान ।

प्रधानमन्त्रीका अन्य उम्मेदवारसँग सार्वजनिक बहस गर्न डराएको जस्ता कुरा लिएर बालेनले प्रधानमन्त्री चलाउन सक्दैनन् भनेर टिकाटिप्पणी पनि बजारमा नभएका होइनन्, जुन बहसलाई मतदाताले खारेज गरिदिए ।

सबैका आशंका र अनुमानलाई मतदाताले आफ्नो विवेक प्रयोग गरेर गलत प्रमाणित गरिदिए । एउटा युवालाई प्रधानमन्त्री बनाउने जनादेश दिए ।

अब रास्वपासँग गुनासो गर्ने ठाउँ बाँकी रहेको छैन, उसले कामले प्रमाणित गर्नुपर्ने समय आएको छ । बतासे गफ अब जनताले पत्याउने छैनन्, काम गर्न दिएनन् भन्ने बहानाबाजी अब चल्ने छैन ।

अस्थिर सरकारको विरोध गर्दै स्थिर सरकारको वकालत गरेको रास्वपाले बालेनलाई प्रधानमन्त्रीको कार्यकाल पूरा गर्ने अवसर दिनुपर्नेछ । यदि उनले राम्रो काम गरे भने भारतमा नरेन्द्र मोदीजस्तै अर्को कार्यकाल पनि उनले अवसर पाउन सक्छन् ।

यद्यपि, अहिल्यै त्यो आकलन गर्न कठिन हुनेछ, किनभने ‘एकपटक मौका’ दिनुस् भन्दै भोट मागेका दलले जनआकांक्षामा तुषारापात गरेको लामो समय भएको छैन ।

रास्वपा र बालेनप्रति आशंका नभएका होइनन्, तर उनीहरूलाई शंकाको लाभ लिनुपर्छ । उनीहरूलाई सरकार सञ्चालनको अवसर दिनुपर्छ । 

राम्रो काम गरे भारतमा नरेन्द्र मोदीजस्तै बालेनले दोस्रो कार्यकालका लागि उठ्ने अधिकार राख्ने छन्, र झन् धेरै मत पाउने छन् । इमानी मतदाताले दिएको मतको अवमूल्यन र जनताको आकांक्षामा कुठाराघात गरे भने मतदाताबाट सजाय पाउने छन् ।

अवसर पाएर पनि जनतालाई बारम्बार धोका दिएका दलको असफलताबाट पाठ सिकेर उदाएका वैकल्पिक शक्तिले पक्कै पनि जनताको त्यो विश्वासमाथि कुठाराघात गर्ने छैनन् । जनताको यो पवित्र आशामा तुषारापात गर्ने काम बालेनले पक्कै गर्ने छैनन् ।

गौतम बुद्ध र सगरमाथाको देश अहिले छोटो समयमा धेरै चुनाव हुने देशको सूचीमा गणना हुँदैछ, जहाँका जनताको प्रतिव्यक्ति आय विकसित मुलुकको तुलनामा नगण्य छ, त्यही देशमा पटक–पटक चुनाव । यो देशले धान्न सक्दैन, ५ वर्ष नै स्थिर सरकार बनोस् ।

बालेन नेपालको इतिहासमै सबैभन्दा कम उमेरमा प्रधानमन्त्री बन्दैछन्, २०१६ सालमा वीपी कोइराला ४५ वर्षको उमेरमा प्रधानमन्त्री बनेका थिए । बीपी कोइरालालाई जस्तो दुर्लभ अवसर ३५ वर्षका बालेनलाई आएको छ ।

पहिलो मन्त्रिपरिषद् बैठकबाट बीपीले प्रधानमन्त्री र मन्त्रीको तलब घटाउने निर्णय गरेका थिए । राम्रो काम गरेबापत बीपी दरबारबाट दण्डित बन्नु परेको थियो । बालेनका लागि बीपीलाई भन्दा बढी त्यो सुविधा छ, गणतन्त्रमा जननिर्वाचित प्रधानमन्त्रीको लोकप्रियतामा अंकुश लगाउने दरबार इतिहास बनिसकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्