२४ असार २०८३, बुधबार

सिरहामा कानून व्यवसायीको फर्ममा बम विस्फोट, एक जना घाइते

फागुन २७, २०८२
सिरहा
सिरहामा कानून व्यवसायीको फर्ममा बम विस्फोट, एक जना घाइते
फाइल तस्वीर ।

सिरहा सदरमुकामस्थित जिल्ला अदालत अगाडि रहेको ‘मधेश ल फर्म’मा बुधबार दिउँसो बम विस्फोट भएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशबहादुर पालका अनुसार दिउँसो करिब ४:१५ बजे भएको विस्फोटमा एक जना घाइते भएका छन् । 

बारको कार्यालय भवनको सटर भाडामा लिएर अधिवक्ता मधुसुदनप्रसाद यादवले सञ्चालन गर्दै आएको फर्ममा विस्फोट भएको प्रहरीले जनाएको छ ।

विस्फोटमा फर्ममा काम गर्ने सहयोगी सौरभ यादवको हातको औंला र खुट्टामा सामान्य चोट लागेको छ । उनलाई उपचारका लागि प्रादेशिक अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

विस्फोट सुतली बम हो वा अन्य प्रकारको भन्ने अझै यकिन भइसकेको छैन । प्रहरी नायब उपरीक्षक पालका अनुसार विस्फोट भएको सटर वरपर र कोठाभित्र कुनै पर्चा–पम्प्लेट फेला परेको छैन । 

‘प्रहरी र नेपाली सेनाको टोली घटनास्थलमा छ । चोहर्वास्थित नन्दाबक्स गणबाट निष्क्रिय टोली पनि आइसकेको छ र थप अनुसन्धान भइरहेको छ’, उनले भने । 

घटनापछि केही समय त्रासको अवस्था सिर्जना भए पनि अहिले अवस्था सामान्य बनेको प्रहरीले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्