
स्वच्छ निर्वाचनका लागि नागरिक अभियानले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सफलतापूर्वक सम्पन्न गराएकामा सरकारलाई बधाई दिएको छ ।
अभियानका तर्फबाट अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष विजयराज गौतम र नेपाल मानव अधिकार सङ्गठनका अध्यक्ष ईन्द्रप्रसाद अर्यालसहितको प्रतिनिधिमण्डलले आज सिंहदरबारमा गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटेर धन्यवाद ज्ञापन गरेको हो ।
शान्तिपूर्ण, निष्पक्ष तथा व्यवस्थित रूपमा निर्वाचन सम्पन्न गराउन निर्वाह गरेको महत्त्वपूर्ण भूमिकाका लागि गृहमन्त्रीमार्फत सरकारलाई धन्यवाद दिएको हो । अभियानले निर्वाचन सफल बनाउन सरकार तथा निर्वाचन आयोगले निर्वाह गरेको भूमिकाको प्रशंसा गरेको छ ।
त्यस अवसरमा गृहमन्त्री अर्यालले निर्वाचन शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने सम्बद्ध सबैलाई धन्यवाद दिए ।
लोकतान्त्रिक व्यवस्थामा निर्वाचनमार्फत जनादेश लिनु संवैधानिक र कानूनी दृष्टिले सर्वोत्तम पक्ष भएको उल्लेख गर्दै उनले अब संविधान कार्यान्वयन एवं नेपाली जनताले प्राप्त गरेको हक अधिकार संस्थागत गर्न थप टेवा पुग्ने विश्वास व्यक्त गरे ।
'निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र मर्यादित वातावरणमा सफलतापूर्वक सम्पन्न गर्न देशव्यापी रूपमा मतदाताले प्रकट गरेको उत्साह र सक्रिय निकै सराहनीय छ । यसले लोकतन्त्रप्रतिको निष्ठा र अटल प्रतिबद्धता अभिव्यक्त भएको छ,' मन्त्री अर्यालले भने ।