
नेकपा एमाले धनकुटाले साँगुरीगढी गाउँपालिकाकी उपाध्यक्ष मुना राईलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ ।
पार्टीले प्रतिनिधिसभा निर्वाचनमा असहयोग गरेको आरोप लगाउँदै कारबाही गरेपछि उपाध्यक्ष राईले गाउँपालिका अध्यक्षसँग मिलेर काम गरेका कारण आफूलाई कारबाही गरिएको दाबी गरेकी छन् ।
बुधबार बसेको एमाले जिल्ला कमिटीको विस्तारित बैठकले राईलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको थियो ।
आफूमाथिको कारबाहीबारे प्रतिक्रिया दिँदै उपाध्यक्ष राईले निर्वाचित भएको ६ महिनादेखि नै पार्टी भित्रबाट आफूलाई मानसिक दबाब दिन शुरू गरिएको बताइन् ।
साँगुरीगढीका अध्यक्ष जितेन्द्र राई नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् भने राई एमालेबाट निर्वाचित भएकी थिइन् । पालिकामा फरक दलको नेतृत्व भए पनि जनताको काममा समन्वय गरेर अघि बढ्नुपर्ने आफ्नो मान्यता रहेका कारण पार्टी नेतृत्व आफूसँग रुष्ट बनेको उनको भनाइ छ ।
‘पालिका अध्यक्ष कांग्रेसको र म एमालेको भए पनि हामी जनताका लागि काम गर्न आएका हौं, त्यसैले मिलेर काम गर्नुपर्छ भन्ने मेरो अडान रह्यो,’ राईले भनिन्, ‘तर पार्टीका साथीहरूले कांग्रेसका अध्यक्षलाई सहयोग गर्नुहुँदैन, उनीसँग विद्रोह र झगडा गर्नुपर्छ भनेर दबाब दिइरहनुभयो । मैले विकासका काममा मिलेर जानुपर्छ भन्दा मलाई कांग्रेस भएको आरोप लगाइयो र अहिले त्यही निहुँमा कारबाही गरियो ।’
'काम जे–सुकै होस्, तर अध्यक्षसँग मिलेर नजाओस्' भन्ने पार्टीको चाहना विपरीत गाउँपालिकामा काम गर्दा आफूमाथि प्रहार भएको उनले बताइन् ।
एमाले धनकुटाले राईमाथि चुनावमा अन्तर्घात गरेको र पार्टीलाई असहयोग गरेको आरोप लगाए पनि राईले भने यो सबै नियोजित षड्यन्त्र भएको दाबी गरेकी छन् । २०७९ को स्थानीय तह निर्वाचनमा एमालेबाट निर्वाचित राई एमाले जिल्ला कमिटी सदस्यसमेत थिइन् ।
एमालेले राईसँगै अन्य केही नेता–कार्यकर्तामाथि पनि छानबिन भइरहेको जनाएको छ । गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष फरक दलको हुँदा विवाद गर्नुपर्ने पार्टीको निर्देशन नमानेकै कारण आफू कारबाहीमा परेको राईको दाबी छ ।