
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी तेल हंगेरी र स्लोभाकियातर्फ पठाउने पाइपलाइन पुनः सञ्चालन गर्न दबाब दिँदै युरोपेली सहयोगीहरूले किभलाई ‘ब्ल्याकमेल’ गर्न खोजेको आरोप लगाएका छन् ।
उनले युक्रेनमार्फत रुसी कच्चा तेल पुनः युरोपियन युनियनका देशमा पठाउन दिनु भनेको मस्कोमाथि लगाइएको आर्थिक प्रतिबन्ध हटाउनु सरह हुने बताएका छन् ।
युक्रेनका अनुसार सोभियतकालीन द्रुभज तेल पाइपलाइन गत जनवरीमा रुसी हवाई आक्रमणमा क्षतिग्रस्त भएको थियो र अझै मर्मत हुन सकेको छैन ।
हंगेरी भने रुसी ऊर्जामा निर्भर छ । त्यसैले पाइपलाइन पुनः सञ्चालन नभएसम्म उसले मस्कोविरुद्ध नयाँ युरोपेली प्रतिबन्ध र किभका लागि प्रस्तावित ९० अर्ब युरोको महत्त्वपूर्ण ऋण रोकिरहेको छ ।
हंगेरीका प्रधानमन्त्री विक्टर ओर्बानले आगामी अप्रिलमा हुने चुनावअघि युक्रेनविरुद्धको कडा अडानलाई प्रमुख राजनीतिक मुद्दा बनाएका छन् । जनमत सर्वेक्षणमा भने उनको पार्टी पछि परेको देखिएको छ ।
युरोपेली संघले पाइपलाइन छिटो मर्मत गर्न र क्षतिको निरीक्षणका लागि विशेषज्ञहरूलाई अनुमति दिन जेलेन्स्कीलाई आग्रह गरेको छ । केही युरोपेली अधिकारीहरूले जेलेन्स्कीको असहमति ओर्बानलाई पुनः चुनाव जित्न सहयोगी हुन सक्ने चिन्ता व्यक्त गरेका छन् ।
तर किभमा पत्रकारहरूसँग कुरा गर्दै जेलेन्स्कीले युरोपेली संघले अन्यत्र रुसी तेल बिक्रीमा प्रतिबन्ध लगाइरहेका बेला युक्रेनमार्फत त्यसलाई पार गर्न दिनु सिद्धान्ततः स्वीकार्य नहुने बताए ।
उनले भने, ‘हामी या त रुसी तेल बेच्ने हो, या बेच्दैनौं । किनकि युरोपेली संघले मलाई ड्रुज्बा पाइपलाइन पुनः सञ्चालन गर्न दबाब दिइरहेको छ ।’
जेलेन्स्कीका अनुसार यदि युक्रेनले पाइपलाइन पुनः सञ्चालन गरेमा त्यो वास्तवमा रुसी प्रतिबन्ध खुकुलो बनाउने कदम हुनेछ ।
यसैबीच, अमेरिका–इजरायलले इरानमाथि आक्रमण गरेपछि उत्पन्न ऊर्जा संकट कम गर्न अमेरिका अन्य देशहरूले रुसी तेल किन्न सक्ने गरी केही प्रतिबन्ध खुकुलो बनाएको थियो । यस निर्णयको युरोपका केही नेताहरूले आलोचना गरेका छन् ।
जेलेन्स्कीले यदि युक्रेनलाई हतियार आपूर्ति रोक्ने जस्ता सर्त राखेर पाइपलाइन खोल्न दबाब दिइयो भने त्यो स्पष्ट रूपमा ब्ल्याकमेल हुने बताएका छन् ।
इरानले डिजाइन गरेका सस्ता ड्रोनबाट हुने आक्रमणविरुद्ध सुरक्षा आवश्यक परेपछि खाडी क्षेत्रका धेरै देशहरूले युक्रेनसँग सहयोग मागेका छन् ।
युक्रेन सस्तो अवरोधक ड्रोन उत्पादन र तिनको प्रयोगमा विश्वकै अग्रणी देशमध्ये एक मानिन्छ ।