
नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङले बीआरआई लगायत नेपाल–चीनबीच भएका सम्झौताहरू छिटो अगाडि बढाउन सके दुवै देशका जनताको साझा समृद्धिमा मद्दत पुग्ने बताएका छन् ।
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग सोमबार सिंहदरबारमा भएको भेटवार्तामा चिनियाँ राजदूतले नेपाल–चीनबीच भएका सम्झौता कार्यान्वयनमा जोड दिएका हुन् ।
‘बीआरआई लगायत चीन–नेपालबीच भएका सम्झौताहरू छिटो अगाडि बढाउन सके दुवै देशका जनताको साझा समृद्धिमा थप विकास हुनेमा आफू आशावादी रहेको बताउनु भयो,’ राजदूत चाङको भनाइ उद्धृत गर्दै राष्ट्रियसभाका अध्यक्षको सचिवालयले भन्यो ।
नेपालमा शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै राजदूत चाङले राजनीतिक स्थिरतासँगै नेपाल विकासको नयाँ चरणमा प्रवेश गर्ने आफूले विश्वास लिएको बताएका थिए । उनले दुवै देशका राष्ट्रपतिकै तहबाट भ्रमण आदान प्रदान भएपछि दुई देशबीचको सहकार्य र सहयोगमा उल्लेख्य वृद्धि भएको र सम्बन्ध नयाँ उचाइमा पुगेको बताएका थिए ।
त्यस अवसरमा अध्यक्ष दाहालले दाहालले दुई देशबीचको सम्बन्ध कूटनीतिक तहमा मात्रै नभई जनस्तरमा समेत बलियो र प्रगाढ रहेको बताए । उनले जेनजी आन्दोलनपछि उत्पन्न कठिन परिस्थिति र चुनावको समयमा चीन सरकारले गरेको सहयोग सह्रानीय रहेको बताए ।
बीआरआई लगायत दुई देशबीच विभिन्न समयमा भएका समझदारी र सहमति प्राथमिकताका साथ कार्यान्वयन हुनेमा विश्वास लिएको भन्दै अध्यक्ष दाहालले यसले दुई देशको सम्बन्ध थप मजबुत र बलियो हुने बताए ।
अध्यक्ष दाहालले पोखरा र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट सिधा उडान सञ्चालन होस् भन्ने आफ्नो चाहना रहेको भन्दै त्यसका लागि पहल गर्न पनि राजदूत चाङलाई आग्रह गरे ।