बहुप्रतीक्षित नागढुंगा सुरुङ मार्ग आगामी नयाँ वर्ष २०८३ देखि सञ्चालनमा आउने भएको छ । २०८३ वैशाख महिनादेखि सुरुङ मार्गको परीक्षण (ट्रायल) शुरू गर्ने सडक विभागको आन्तरिक तयारी छ ।
दशैंअघि नै सुरुङ मार्ग सञ्चालनमा ल्याउने भनिए पनि अन्तर्राष्ट्रिय कम्पनीको छनोट तथा अन्त्य विविध कारणले सुरुङ सञ्चालनमा आएन ।
अहिले भने बोलपत्र आव्हान गरेर आर्थिक प्रस्ताव खोलिएको आयोजनाका उपनिर्देशक तथा सूचना अधिकारी सञ्जय पन्थीले जानकारी दिए ।
अबको केही दिनमा आर्थिक मूल्यांकन गरेर सम्झौताको प्रक्रिया अगाडि बढाइने उनको भनाइ छ ।
सुरुङ सञ्चालनको जिम्मा पाउने कम्पनीले सम्झौतापछि परीक्षण शुरू गर्नेछ । सञ्चालन तथा व्यवस्थापनका लागि टेन्डर पेस गरेका विभिन्न अन्तर्राष्ट्रिय कम्पनीमध्ये ६ वटा भारतीय र एउटा चिनियाँ कम्पनी प्राविधिक छनोट ‘सर्ट लिस्ट’मा परेका छन् । अहिले आर्थिक प्रस्ताव खोलिएको छ । र, आर्थिक मूल्यांकनपछि सम्झौताको प्रक्रिया अगाडि बढाइने छ ।
सुरुङ मार्ग सञ्चालनका लागि सम्झौता गरेर वैशाखभित्रै परीक्षण शुरू गर्ने गरी आन्तरिक तयारी भएको नागढुंगा सुरुङ मार्ग आयोजना प्रमुख ई. सौजन्य नेपालले जानकारी दिए ।
‘हाम्रो आन्तरिक तयारी अप्रिलभित्रै परीक्षण शुरू गर्ने हो । तर, सम्झौता भएको कम्पनीले आफ्नो मेनपावरहरू ल्याउँछ र मोबिलाइज गर्न कति समय लगाउँछ भन्ने हो’, उनले भने, ‘सकेसम्म छिटो आफ्नो तयारी अनुसार गर्ने छौँ ।’
गत दशैँमा परीक्षणकालका रूपमा सुरुङ मार्ग सञ्चालन गर्ने तयारी गरिएको थियो । तर, सञ्चालनको जिम्मा पाउने कम्पनीको विषयमा समस्या देखिएपछि दशैँमा सुरुङ मार्ग चलाउन सकेन ।
अब सुरुङ मार्ग सञ्चालनमा आएपछि काठमाडौंबाट बाहिरिने र बाहिरबाट काठमाडौं भित्रिने सवारी साधनलाई थानकोट र नागढुंगामा घण्टौंसम्म जाममा बस्नुपर्ने बाध्यता हट्ने छ ।
नौबिसेदेखि थानकोटसम्मको सडक खण्ड घुमाउरो र उकालो–ओरालो भएका कारण यो क्षेत्रमा अत्यधिक ट्राफिक जाम हुने गरेको छ । काठमाडौं भित्रिने र बाहिरिने प्रमुख विन्दु भएकाले यहाँ सवारीहरूको निकै ठूलो चाप हुन्छ । अब करिब १ घण्टा लाग्ने बाटोलाई सुरुङ मार्गले २० मिनेटमा छोट्याउने छ ।
सुरुङ मार्ग प्रयोग गर्ने सवारी साधनलाई ५० रूपैयाँदेखि पाँच सय रूपैयाँसम्म शुल्क लगाउन प्रस्ताव गरिएको छ ।
तर, मोटरसाइकल, डिजेल, पेट्रोललगायत प्रज्वलनशील इन्धन बोक्ने गाडीले भने सुरुङ मार्गमा प्रवेश गर्न पाउने छैनन् ।