
भारतमा अब तौल घटाउने महँगा औषधिहरूको एकाधिकार तोडिने भएको छ। ड्यानिस औषधि उत्पादक कम्पनी नोभो नर्डिस्कको बहुचर्चित तौल घटाउने औषधि 'ओजेम्पिक' र 'वेगोभी'को मुख्य तत्त्व 'सेमाग्लुटाइड'को पेटेन्ट भारतमा एकाधिकार तोडिएको हो।
यो परिवर्तनसँगै भारतीय औषधि बजारमा सस्तो जेनेरिक संस्करणहरू उपलब्ध हुनेछन्, जसले विश्वको मोटोपन विरुद्धको लडाइँलाई नयाँ मोड दिने अनुमान गरिएको छ।
हाल भारतमा यी औषधिहरूको मासिक उपचार खर्च निकै महँगो छ। ओजेम्पिकका लागि ८,८०० देखि ११,००० रुपैयाँ र वेगोभीका लागि १०,००० देखि १६,००० रुपैयाँसम्म खर्चिनुपर्ने बाध्यता छ। तर, जेनेरिक उत्पादनहरूको प्रवेशसँगै यो मूल्य आधाभन्दा बढीले घटेर ३,००० देखि ५,००० रुपैयाँमा झर्ने विज्ञहरूको प्रक्षेपण छ।
लगानी बैंक जेफरीजले यसलाई भारतका लागि ‘म्याजिक पिल मोमेन्ट’ भन्दै सेमाग्लुटाइड बजार १ अर्ब डलरसम्म पुग्न सक्ने आकलन गरेको छ।
भारतका दिग्गज औषधि कम्पनीहरू सिप्ला, सन फार्मा, डा. रेड्डीज ल्याबोरेटरीज, बायोकोन र जायडस लगायतका फर्महरू यसको उत्पादनको तयारीमा जुटिसकेका छन्।
सन् २०२२ मा मधुमेहको औषधि सिटाग्लिप्टिनको पेटेन्ट सकिँदा एक महिनाभित्रै ३० वटा ब्राण्डेड संस्करणहरू बजारमा आएका थिए। त्यस्तै प्रतिस्पर्धा अब तौल घटाउने औषधिमा पनि देखिने निश्चित छ।
भारतमा टाइप-२ मधुमेहका ७ करोड ७० लाखभन्दा बढी बिरामी छन् भने ठूलो जनसङ्ख्या मोटोपनको समस्यासँग जुधिरहेको छ।
सहरी जीवनशैली र खानपानका कारण यी समस्याहरू तीव्र रूपमा बढिरहेका छन्। मुम्बईका बरियाट्रिक सर्जन मुफ्फजल लाकडावाला भन्छन्, "यो खुसीको कुरा हो कि औषधि सस्तो हुँदैछ, जसले लाखौँ भारतीयहरूको पहुँचमा पुग्नेछ। तर, यसको गुणस्तर र नियमनमा भने निकै कडाइ हुनु आवश्यक छ।"
यद्यपि, चिकित्सकहरूले यसलाई ‘जादुई गोली’ मात्र ठान्न नहुने भन्दै चेतावनी दिएका छन्।