
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजीनामा पत्र बुझाएका छन् । गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पार्टीले अप्रत्यासित पराजय व्यहोरेपछि उनले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा पत्र बुझाएका हुन् ।
हारको नैतिक जिम्मेवारी लिँदै सभापति थापाले राजीनामा पत्र बुझाएको कांग्रेसका एक पदाधिकारीले जानकारी दिए । समानुपातिक सांसदको सूची निर्वाचन आयोगमा बुझाएलगत्तै थापाले राजीनामा पत्र दिएको उनको भनाइ छ ।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बैठक बस्नुअघि सभापति थापाले राजीनामा पत्र बुझाएका हुन् । थापाले दिएको राजीनामाबारे शुक्रबार बस्ने केन्द्रीय कार्यसमिति बैठकले निर्णय गर्ने उनले बताए । 'सभापतिज्यूले राजीनामा पत्र बुझाउनुभएको छ । केन्द्रीय समिति बैठकमा राजीनामाबारे छलफल र निर्णय हुन्छ,' ती पदाधिकारीले लोकान्तरसँग भने ।
थापाको राजीनामाबारे कांग्रेसले आधिकारिकरूपमा कुनै जानकारी दिएको छैन । कांग्रेसका धेरैजसो नेताहरू उनको राजीनामाबारे बेखबर देखिएका छन् ।
चुनावी नतिजापछि राजीनामाको तयारी गरेका थापालाई पार्टीका विभिन्न तहका नेताहरूले राजीनामा नदिन सुझाव दिँदै आएका थिए ।
प्रतिनिधि सभा चुनावमा रास्वपाले झन्डै दुई तिहाइ सिट प्राप्त गर्दा दोस्रो भएको कांग्रेसले प्रत्यक्षमा १८ र समानुपातिकमा २० गरी ३८ सिट मात्रै प्राप्त गरेको छ । यसअघि काठमाडौं-४ बाट निर्वाचित हुँदै आएका आफैं सर्लाही–४ मा ठूलै मतान्तरले रास्वपाका उम्मेदवार अमरेशकुमार सिंहसँग पराजित भए ।
थापा निर्वाचनअघि भएको विशेष महाधिवेशनबाट सर्वसम्मत सभापति निर्वाचित भएका थिए । २७ देखि ३० पुससम्म भृकुटीमण्डपमा भएको कांग्रेस विशेष महाधिवेशनले थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको थियो ।
त्यसको वैधानिकतालाई लिएर तत्कालीन सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेको रिट सर्वोच्चमा अहिले पनि विचाराधीन छ ।