२६ असार २०८३, शुक्रबार

केन्द्रीय समिति बैठकअघि कांग्रेस सभापति थापाले बुझाए राजीनामा पत्र

चैत ५, २०८२
काठमाडौं
केन्द्रीय समिति बैठकअघि कांग्रेस सभापति थापाले बुझाए राजीनामा पत्र
फाइल तस्वीर

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजीनामा पत्र बुझाएका छन् । गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पार्टीले अप्रत्यासित पराजय व्यहोरेपछि उनले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा पत्र बुझाएका हुन् । 

हारको नैतिक जिम्मेवारी लिँदै सभापति थापाले राजीनामा पत्र बुझाएको कांग्रेसका एक पदाधिकारीले जानकारी दिए । समानुपातिक सांसदको सूची निर्वाचन आयोगमा बुझाएलगत्तै थापाले राजीनामा पत्र दिएको उनको भनाइ छ । 

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बैठक बस्नुअघि सभापति थापाले राजीनामा पत्र बुझाएका हुन् । थापाले दिएको राजीनामाबारे शुक्रबार बस्ने केन्द्रीय कार्यसमिति बैठकले निर्णय गर्ने उनले बताए । 'सभापतिज्यूले राजीनामा पत्र बुझाउनुभएको छ । केन्द्रीय समिति बैठकमा राजीनामाबारे छलफल र निर्णय हुन्छ,' ती पदाधिकारीले लोकान्तरसँग भने ।

थापाको राजीनामाबारे कांग्रेसले आधिकारिकरूपमा कुनै जानकारी दिएको छैन । कांग्रेसका धेरैजसो नेताहरू उनको राजीनामाबारे बेखबर देखिएका छन् । 

चुनावी नतिजापछि राजीनामाको तयारी गरेका थापालाई पार्टीका विभिन्न तहका नेताहरूले राजीनामा नदिन सुझाव दिँदै आएका थिए । 

प्रतिनिधि सभा चुनावमा रास्वपाले झन्डै दुई तिहाइ सिट प्राप्त गर्दा दोस्रो भएको कांग्रेसले प्रत्यक्षमा १८ र समानुपातिकमा २० गरी ३८ सिट मात्रै प्राप्त गरेको छ । यसअघि काठमाडौं-४ बाट निर्वाचित हुँदै आएका आफैं सर्लाही–४ मा ठूलै मतान्तरले रास्वपाका उम्मेदवार अमरेशकुमार सिंहसँग पराजित भए ।

थापा निर्वाचनअघि भएको विशेष महाधिवेशनबाट सर्वसम्मत सभापति निर्वाचित भएका थिए । २७ देखि ३० पुससम्म भृकुटीमण्डपमा भएको कांग्रेस विशेष महाधिवेशनले थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको थियो ।

त्यसको वैधानिकतालाई लिएर तत्कालीन सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेको रिट सर्वोच्चमा अहिले पनि विचाराधीन छ ।

 

salt training

कमेन्ट गर्नुहोस्