बुटवलमा ‘मिष्टर रामापिथेकस राष्ट्रव्यापी शारीरिक सुगठन तथा महिला फिजिक्स प्रतियोगिता हुने भएको छ । अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यसहित लुम्बिनी प्रदेश शारीरिक सुगठन तथा फिटनेश संघले चैत ६ र ७ दुई दिने प्रतियोगिता आयोजना गर्न लागेको हो ।
प्रतियोगिता पुरुषतर्फ ५५ केजीदेखि ७० केजीमाथि गरी ६ समूहमा प्रतिस्पर्धा हुनेछ भने, महिलातर्फ खुला एथलेटिक्स फिजिक विधा रहेको छ ।
लुम्बिनी प्रदेश शारीरिक सुगठन तथा फिटनेश संघका अध्यक्ष सितुप्रसाद श्रेष्ठले यो प्रतियोगिता काठमाडौं बाहिर सबै भन्दा ठूला धनराशीको प्रतियोगिता हुने बताए । बुटवल श्री अन्तर प्रदेश स्तरीय ११ पटक र उजिरसिहं ३ पटक अहिले मिस्टर रामापिथेकस आयोजना गरिएको बताए ।
प्रतियोगिता खेल कार्यक्रम मात्रै नभई बुटवलको एतिहासिक पहिचान, लुम्बिनीको गौरव र नेपाली खेलकुद विकासलाई एकै साथ जोडने प्रयास समेत रहेको अध्यक्ष श्रेष्ठले बताए । प्रतियोगितामा देशभरबाट सहभागिता रहने जिल्ला रुपन्देही शारीरिक सुगठन तथा फिटनेश संघका अध्यक्ष राजकुमार श्रेष्ठले बताए । ‘प्रतियोगितामा विराटनगरदेखि कन्चनपुरसम्मका खेलाडीहरूले सहभागिता जनाउने छन् । ६६ जनाले प्रतियोगितामा सहभागिताको लागि नाम दर्ता समेत गरिसक्नु भएको छ’ राजकुमार अध्यक्ष श्रेष्ठले भने ।
पुरुष बडीविल्डिङमा प्रथम हुनेले नगद १५ हजारसहित मेडल र प्रमाणपत्र,यस्तै दोस्रो र तेस्रो हुनेले क्रमशः नगद १० हजार, ५ हजारसहित मेडल र प्रमाणपत्र पाउने छन् भने उत्कृष्ट खेलाडी (ओभरअलमा प्रथम) हुनेले नगद २ लाखसहित ट्रफी पाउनेछन् ।
यस्तै महिलातर्फ प्रथम हुनेले नगद ३० हजारसहित ट्रफी पुरस्कार पाउने छन् भने, दोस्रो र तेस्रो हुनेले क्रमश १५ हजार, १० हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिता सम्पन्न गर्नका लागि १३ लाख खर्च लाग्ने आयोजकको अनुमान रहेको छ ।