
यूईएफए च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा पछिल्लो २४ घण्टाको अवधिमा चारवटा इङ्लिस क्लब उपाधि होडबाट बाहिरिएका छन् । पक्कै पनि इङ्लिस फुटबल समर्थकहरूका लागि यो निराशाजनक क्षण हो ।
बलिया प्रितियर लिग क्लब चेल्सी, म्यानचेस्टर सिटी, टोट्टनहाम र न्यूक्यासल युनाइटेड च्याम्पियन्स लिगको प्रि–क्वार्टरफाइनल चरणबाटै बाहिरिएका हुन् । न्यूक्यासल युनाइटेडवाहेक अन्य तीन क्लब च्याम्पियन्स लिगका पूर्वविजेता पनि हुन् ।
अन्तिम १६ टोलीबीचको भिडन्तमा साविक विजेतासमेत रहेको फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) ले चेल्सीलाई ८–२ कुल गोलभिन्नताका आधारमा हरायो । चेल्सी पहिलो लेगमा २–५ र दोस्रो लेगमा ०–३ गोलले पराजित भएको थियो ।
यसैगरी, अर्को इङ्लिस क्लब म्यानचेस्टर सिटी स्पेनिस ‘पावर हाउस’ रियल म्याड्रिडसँग १–५ कुल गोल भिन्नताका आधारमा पराजित भयो । म्यानचेस्टर सिटी पहिलो लेगमा ०–३ र दोस्रो लेग खेलमा १–२ गोलले पराजित भएको हो ।
यसैगरी, इङ्लिस क्लब टोट्टनहाम स्पेनिस प्रतिद्वन्द्वी एट्लेटिको म्याड्रिडसँग ५–७ कुल गोल भिन्नताका आधारमा पराजित भयो । टोट्टनहाम पहिलो लेगमा २–५ गोलले पराजित भएको थियो । दोस्रो लेग खेलमा ३–२ गोलले विजयी भएपछि टोट्टनहाम कुल गोल भिन्नताका आधारमा पछि पर्यो ।
यसैगरी, न्यूक्यासल युनाइटेड पनि स्पेनिस ‘पावर हाउस’ बार्सिलोनासँग ३–८ कुल गोल भिन्नताका आधारमा पराजित भयो । न्यूक्यासल पहिलो लेग खेलमा १–१ गोलको बराबरीमा रोकिएको थियो । दोस्रो लेग खेलमा भने न्यूक्यासल २–७ गोलले पराजित भयो ।
यो सिजन दुईवटा इङ्लिस क्लबमात्र च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुगेका छन् । लिभरपुल र आर्सनल अन्तिम आठमा प्रवेश गरेका हुन् । लिभरपुल टर्कीको गालातसारेलाई ४–१ कुल गोल भिन्नताका आधारमा पछि पार्दै क्वार्टरफाइनलमा पुगेको हो ।
बलियो लिभरपुल प्रि–क्वार्टरफाइनलको पहिलो लेग खेलमा ०–१ गोलले पराजित भएको थियो । तर, दोस्रो लेग खेलमा गालातसारेमाथि ४–० गोलको सजिलो जित हासिल गर्दै लिभरपुल अगाडि बढ्न सफल भयो ।
आर्सनल भने जर्मन प्रतिद्वन्द्वी बायर लेभरकुजेनलाई ३–१ कुल गोल भिन्नताले पछि पार्दै क्वार्टरफाइनल चरणमा पुगेको हो । पहिलो लेग खेल १–१ गोलको बराबरीमा सकिएको थियो भने दोस्रो लेग खेलमा आर्सनल २–० गोलले विजयी भएको थियो ।
यसपटक, च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुग्ने आठ टोलीमध्ये स्पेनका तीन, इङ्ल्यान्डका दुई तथा फ्रान्स, जर्मनी र पोर्चुगलका एक–एक क्लब छन् । प्रतियोगिताको क्वार्टरफाइनलमा लिभरपुलले साविक विजेता पीएसजीको र आर्सनलले पोर्चुगिज प्रतिद्वन्द्वी स्पोर्टिङ सीपीको सामना गर्नेछ ।
अर्को क्वार्टरफाइनलमा रियल म्याड्रिड र जर्मन ‘पावर हाउस’ बायर्न म्युनिख आपसमा भिड्ने छन् । क्वार्टरफाइनलमा बार्सिलोनाले भने स्पेनकै क्लब एट्लेटिको म्याड्रिडको सामना गर्नेछ ।