२८ जेठ २०८३, बिहीबार

चमत्कार : हराएको अन्तरिक्ष यानसँग पुनः जोडियो युरोप

चैत ६, २०८२
काठमाडौं
चमत्कार : हराएको अन्तरिक्ष यानसँग पुनः जोडियो युरोप

युरोपेली अन्तरिक्ष निकायले एक महिना अघि उपग्रहसँग सम्पर्क गुमाएपछि प्रोबा–३ मिशनअन्तर्गतको अन्तरिक्ष यानसँग पुनः सञ्चार स्थापित भएको घोषणा गरेको छ ।

सन् २०२४ मा दुई वर्षे मिसनका लागि प्रक्षेपण गरिएको प्रोबा–३ ले पृथ्वीबाट करिब ६० हजार किलोमिटर माथि सूर्यग्रहणको कृत्रिम अवस्था सिर्जना गर्न सटीक गठनमा उड्ने दुई अन्तरिक्ष यान प्रयोग गर्छ ।

यो मिसनमार्फत वैज्ञानिकहरूले सूर्यको बाहिरी तह ‘कोरोना’को दुर्लभ अध्ययन गर्दै आएका छन् । एउटा यानमा १.४ मिटरको शील्ड जडान गरिएको छ, जसले सूर्यको प्रकाश रोक्दै चन्द्रमाको भूमिका खेल्छ भने अर्को यानले छायाँबाट कोरोनाको अवलोकन गर्छ ।

फेब्रुअरी १४ मा कोरोनाग्राफ उपकरण रहेको दोस्रो अन्तरिक्ष यानमा समस्या देखिएपछि त्यससँग सम्पर्क विच्छेद भएको थियो । अभिमुखीकरण गुमाउँदा यसको सौर्य प्यानल सूर्यतर्फ नलाग्दा ब्याट्री चार्ज हुन सकेन र यान ‘सर्भाइभल मोड’मा निष्क्रियजस्तै अवस्थामा पुगेको थियो ।

पछि अर्को यानले हराएको यानलाई पछ्याउँदै अवलोकन गरिरहेको अवस्थामा सौर्य प्यानलमा केही सूर्यको प्रकाश पर्न पुगेपछि सीमित ऊर्जा उत्पादन भयो । यही ऊर्जाको प्रयोग गरेर पुनः सञ्चार स्थापित गर्न सम्भव भएको हो ।

हाल यानका सौर्य प्यानलले पुनः सूर्यबाट ऊर्जा संकलन गर्दै ब्याट्री चार्ज गरिरहेका छन् । विशेषज्ञहरूले उपकरण पुनः सक्रिय गरी क्षतिको मूल्याङ्कन गर्ने तयारी गरेका छन् ।

मिसन टोलीका अनुसार कोरोनाग्राफयुक्त यान पुनः सम्पर्कमा आउनु ठूलो राहतको विषय हो । सूर्यको कोरोना नाङ्गो आँखाले वा सामान्य टेलिस्कोपबाट देख्न नसकिने, अत्यन्तै कम अध्ययन भएको क्षेत्र हो, जुन सूर्यको तेज प्रकाशका कारण सामान्यतया लुकेको हुन्छ ।

पूर्ण सूर्यग्रहण पृथ्वीमा छोटो समयका लागि मात्र देखिने भएकाले यस्तो अध्ययन सीमित हुन्छ । तर प्रोबा–३ मिसनले नियमित रूपमा लामो समयसम्म कोरोनाको अवलोकन गर्न सफल हुँदै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्