
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत गर्ने भएको छ ।
शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठक सभापति थापाको राजीनामा अस्वीकृत गर्ने निष्कर्षमा पुगेको हो । तर यसको आधिकारिक निर्णय भने हुन बाँकी छ ।
बैठकमा सहभागी सबै जना नै थापाको राजीनामाको विपक्षमा रहेका केन्द्रीय सदस्य मधु आचार्यले जानकारी दिए ।
'हाउस एकमत रूपमा राजीनामाको विपक्षमा छ । वक्ता बोल्ने क्रम जारी रहेकाले अर्को बैठकमा मात्र आधिकारिक निर्णय हुनेछ,' उनले भने, 'अर्को बैठकमा उहाँ (सभापति थापा) उपस्थित हुनुहुन्न । फर्मल निर्णय अर्को बैठकमा भएपश्चात् मात्र सभापतिज्यू बैठकमा आउनु हुनेछ ।'
अब आइतबार बस्ने बैठकले थापाको राजीनामाबारे आधिकारिक निर्णय गरेर अस्वीकृत गर्ने उनले बताए । 'हामी आइतबारको बैठकबाट मात्र उहाँको राजीनामा आधिकारिक रूपमा निर्णय गरेर अस्वीकृत गर्छौं,' उनले भने ।
गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पार्टीले अप्रत्यासित पराजय व्यहोरेपछि थापाले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा पत्र बुझाएका थिए ।
आज दिउँसोबाट शुरू भएको केन्द्रीय समिति बैठक आइतबार बिहा फेरि बस्ने छ ।