०७ असार २०८३, आइतबार
इलामले दिएको सन्देश

'परिवर्तनका लागि दल नै फेर्नु पर्दैन, पात्र र प्रवृत्ति फेरे पुग्छ'

चैत ७, २०८२
विराटनगर
'परिवर्तनका लागि दल नै फेर्नु पर्दैन, पात्र र प्रवृत्ति फेरे पुग्छ'

गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको नतिजा नेपाली राजनीतिमा एउटा सामान्य फेरबदल मात्र होइन, यसको शक्तिशाली र बहुआयामिक सन्देश छ। निर्वाचनमा देशैभरि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ‘घन्टी’ चुनाव चिह्नले सुनामी ल्यायो, जसले दशकौँदेखि जरा गाडेर बसेका पुराना राजनीतिक शक्तिहरूको जग नै हल्लाइदियो।

रास्वपाका वरिष्ठ नेता बालेन शाहको बढ्दो क्रेज र परिवर्तनको लहर तराईका फाँटदेखि पहाडका कन्दरासम्म मतपेटिकामा पोखियो। घन्टीको रापतापले देशैभरि नयाँ उथलपुथल ल्याइरहँदा पूर्वको भूगोलमा दुई तन्नेरी भने त्यो वेगलाई पनि रोक्न सफल भए। त्यो भूगोल थियो– हरियाली चिया बगान, कुहिरोसँग लुकामारी गर्ने डाँडाकाँडा र अलैँचीको सुगन्धले चिनिने ‘इलाम’।

इलामका दुवै निर्वाचन क्षेत्रमा यसपटक पनि पुराना दलहरूले नै बाजी मारे। तर, इलामेली जनताका अनुसार यो जित केवल कांग्रेस वा एमालेको मात्र थिएन, यो त नयाँ पुस्ताको जित थियो, शिक्षित र शालीन राजनीतिक सोचको जित थियो। इलाम क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका ३५ वर्षीय निश्कल राई र क्षेत्र नम्बर २ मा नेकपा एमालेका ३८ वर्षीय सुहाङ नेम्वाङले विजयको झन्डा गाडे। यी दुई जितका पछाडि एउटा साझा कडी छ– युवा नेतृत्व र असीमित शालीनता।

राष्ट्रिय राजनीतिमा बालेन शाहको उदयलाई ‘जेनजी’ अर्थात् नयाँ पुस्ताको विद्रोह मानिन्छ। पुराना राजनीतिक अनुहारहरूबाट दिक्क भएका मतदाताले विकल्प खोजिरहेका बेला इलामले भने फरक बाटो रोज्यो। कोशी प्रदेशका पूर्वमन्त्री तथा कांग्रेस नेता समशेर राईको विश्लेषणमा, इलामले देशलाई एउटा नयाँ र अनुकरणीय सन्देश दिएको छ। उनी भन्छन्, ‘टेस्टेड नेतालाई मान्छेले पत्याएनन्, तर इलामले एउटा सन्देश के दियो भने– यदि पुराना र ऐतिहासिक दलहरूले पनि योग्य, ऊर्जावान् र शिक्षित युवालाई बेलैमा अगाडि सारे भने जनता उनीहरूकै पक्षमा उभिन्छन्। घन्टी वा नयाँ शक्ति नै चाहिन्छ भन्ने छैन, केवल नयाँ सोच र नयाँ अनुहार भए पुग्छ।’

इलाम–१ मा कांग्रेसका निश्कल राईले १४ हजार ५ सय ४३ मत ल्याएर विजयी बने। त्यस्तै, इलाम–२ मा एमालेका सुहाङ नेम्वाङले २२ हजार ४ सय २६ मतसहित जित हात पारे। यी दुवै युवाको स्वभावमा एउटा गज्जबको समानता छ– दुवै असाध्यै नरम, धैर्यवान् र गालीगलौजको परम्परागत राजनीतिबाट टाढा रहने प्रवृत्तिका छन्।

कांग्रेसका निश्कल राईको उदय धेरैका लागि एउटा आकस्मिक ‘सरप्राइज’ जस्तो सुनिए पनि उनको जग भने निकै मजबुत छ। काठमाडौँको शंकरदेव क्याम्पसमा साढे चार वर्ष प्राध्यापन गरेका निश्कल शैक्षिक रूपमा निकै अब्बल छन्। उनले व्यवस्थापनमा दुई विषयमा स्नातकोत्तर गरेका छन् र हाल अर्थशास्त्रमा एम.फिल गर्दै छन्।

अब वृद्धहरूलाई विश्राम दिएर निश्कल र सुहाङजस्ता युवालाई अगाडि सार्नु नै पुराना दलहरूका लागि आफ्नो इतिहास फर्काउने अचुक अस्त्र हुनेछ।

उनलाई प्राज्ञिक क्षेत्रबाट खिचेर भूगोलको राजनीतिमा ल्याउन नेता समशेर राईले निकै कसरत गरेका थिए। शंकरदेवमा पढाउँदा–पढाउँदै राजनीतिमा होमिएका निश्कलले यसपटक २०५६ सालमा बेनुप्रसाद प्रसाईँले जितेको त्यो पुरानो कांग्रेसी विरासतलाई पुनः ब्युँताइदिएका छन्। उनले प्रमाणित गरिदिए कि कांग्रेसभित्र पनि बौद्धिक र युवा नेतृत्वको ठाउँ अझै सुरक्षित छ।

अर्कोतिर इलाम–२ को चुनावी रणमैदान भने अलि भिन्न र चुनौतीपूर्ण थियो। यहाँ सुहाङका अगाडि आफ्ना दिवङ्गत पिता सुवासचन्द्र नेम्वाङको विशाल राजनीतिक विरासत मात्र थिएन, बरु बुबाले बनाएको त्यो उचाइलाई जोगाउने ठूलो जिम्मेवारी पनि थियो।

धेरैले सुरुमा अड्कल काटेका थिए कि सुहाङले केवल ‘सिम्प्याथी भोट’ वा बुबाको नाममा मात्र जित्नेछन्। तर, सुहाङले बुबाको विरासतलाई केवल ब्याजका रूपमा मात्र उपयोग गरेनन्, उनले आफ्नो बुबाको जस्तै शालीन, भद्र र मृदुभाषी शैलीलाई हरेक जनताको घरदैलोमा पुर्‍याए। ‘इलामेली जनताको माया, विश्वास र भरोसाले म विजयी भएको हुँ,’ सुहाङ विनम्रताका साथ भन्ने गर्छन्।

बुबाको निधनपछि भएको उपनिर्वाचन र यसपटकको आम निर्वाचन दुवैमा सुहाङले आफ्नो लोकप्रियता र कार्यक्षमता पुष्टि गरे। उनले चुनावी मैदानमा कहिल्यै आफ्ना विपक्षीलाई तुच्छ शब्दले प्रहार गरेनन्। उनको यही शालीनताले उनलाई पुराना र नयाँ दुवै पुस्ताका मतदाताको साझा रोजाइ बनायो।

null

कोशी प्रदेशको नामाङ्कनको विषयलाई लिएर ‘पहिचान’ को मुद्दा केही समय अगाडिसम्म निकै तातो थियो। एकातिर तराईमा ‘घन्टी’ को प्रभाव र अर्कोतिर पहाडमा हर्क साम्पाङले नेतृत्व गरेको श्रम संस्कृति पार्टीको माहोल। पूर्वमन्त्री समशेर राई स्वीकार्छन् कि पुराना दलहरूको ‘पोलिटिकल इन्जिनियरिङ’ कतै न कतै चुकेको थियो। नामाङ्कन गर्दा सामर्थ्य र पहिचानलाई सँगै लैजान नसक्दाको परिणामले हर्कको पार्टीलाई मलजल गरेको हो।

इलामको नतिजाले एउटा अर्को महत्त्वपूर्ण बहसलाई प्रस्ट रूपमा सतहमा ल्याइदिएको छ– अब ७० कटेका नेताहरूले होइन, ३० र ४० को दशकमा रहेका युवाहरूले नै देशको नेतृत्व गर्नुपर्छ।

बालेन शाह र हर्क साम्पाङजस्ता लिडरहरूको उदय भइरहँदा अब पुराना दलहरूले आफ्नो कार्यशैली बदल्न ढिला गर्नु हुँदैन। नेता समशेर राई एउटा गम्भीर प्रश्न उठाउँछन्, ‘यदि ३५ वर्षका बालेन शाह काठमाडौँको मेयर हुँदै प्रधानमन्त्री बन्न सक्छन् भने त्यही उमेरका, शिक्षित निश्कल राई किन कांग्रेसको संसदीय दलको नेता बन्न सक्दैनन्?’

अब वृद्धहरूलाई विश्राम दिएर निश्कल र सुहाङजस्ता युवालाई अगाडि सार्नु नै पुराना दलहरूका लागि आफ्नो इतिहास फर्काउने अचुक अस्त्र हुने उनको तर्क छ।

जनजातिको छोरो, शिक्षित युवा र भूगोलमा भिजेको अनुहारलाई नेतृत्वमा पुर्‍याउँदा मात्रै परम्परागत दलहरूले आफ्नो अस्तित्व बचाउन सक्ने इलामको नतिजाले देखाएको छ। इलामले घन्टी र माटोलाई केवल रोकेन मात्र, बरु पुराना दलभित्रै नयाँ ऊर्जाको बीउ पनि रोपिदियो। निश्कल राई र सुहाङ नेम्वाङ केवल दुई सांसद मात्र होइनन्, उनीहरू त नेपाली राजनीतिको बदलिँदो रङ र नयाँ पुस्ताको आकाङ्क्षाका सशक्त प्रतिनिधि पात्र हुन्।

इलामको यो गढबाट निस्किएको सन्देश अब देशभर र पार्टीका हेडक्वार्टरहरूमा गम्भीरताका साथ सुनिन जरुरी छ। तत्कालका लागि निश्कल र सुहाङले इलामेली कुहिरोभित्र एउटा स्पष्ट राजनीतिक उज्यालो देखाएका छन्। अन्ततः इलामले प्रमाणित गर्‍यो कि– परिवर्तनका लागि दल नै फेर्नु पर्दैन, केवल पात्र र प्रवृत्ति फेरे पुग्छ।

salt training

कमेन्ट गर्नुहोस्