
अमेरिका, इजरायल र इरानबीच सुरु भएको युद्ध र इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनेईको मृत्युपछि विश्वको ध्यान उत्तर कोरियाली शासक किम जोङ उनतर्फ मोडिएको छ।
इरानसँग दशकौँ लामो सैन्य र मिसाइल साझेदारी रहेको उत्तर कोरियाले यस हमलाको कडा निन्दा गरेको छ। तर, इरानमा भएको क्षतिले किम जोङ उनलाई त्रसित बनाएको छ कि उनको आत्मविश्वास झन् बढाएको छ ? यो अहिले चर्चाको विषय बनेको छ।
बीबीसी हिन्दीको एक रिपोर्टअनुसार सन् २००३ मा इराक युद्धका बेला उत्तर कोरियाका तत्कालीन नेता किम जोङ इल (वर्तमान शासकका पिता) ५० दिनसम्म बंकरमा लुकेका थिए। तर, अहिले इरानमा युद्ध चर्किए पनि र खामेनेई मारिए पनि किम जोङ उन सार्वजनिक मञ्चहरूबाट टाढा भएका छैनन्।
विश्लेषकहरूका अनुसार यसको मुख्य कारण उत्तर कोरियासँग भएको 'परमाणु हतियार' हो।
सन् २०२५ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत उत्तर कोरियालाई पर्याप्त परमाणु हतियार भएको शक्तिको रूपमा स्वीकार गरेका थिए। स्टकहोम इन्टरनेशनल पीस रिसर्च इन्स्टिच्युटको २०२५ को प्रतिवेदनअनुसार उत्तर कोरियासँग करिब ५० वटा परमाणु वारहेड छन्। इरानसँग महत्वाकांक्षी परमाणु कार्यक्रम भए पनि परमाणु हतियार नभएकै कारण ऊ केही कमजोर बनेको किमको बुझाइ हुनसक्ने विज्ञहरू बताउँछन्।
उत्तर कोरियाको भौगोलिक अवस्थिति पनि उसको पक्षमा छ। चीनसँगको सीमा र सन् १९६१ देखिको रक्षा सन्धिले उत्तर कोरियालाई बलियो सुरक्षा प्रदान गरेको छ। चीनले उत्तर कोरियालाई अमेरिका विरुद्धको 'ढाल' मान्दछ। साथै, हालैका वर्षहरूमा रुससँगको बढ्दो सैन्य र आर्थिक सम्बन्धले किमलाई थप शक्तिशाली बनाएको छ। सन् २०२४ मा रुस र उत्तर कोरियाबीच भएको रक्षा सम्झौताले किमलाई ठूलो राहत दिएको छ।
उत्तर कोरियाले आफ्ना छिमेकीहरू दक्षिण कोरिया र जापानलाई एक प्रकारको परमाणु बन्धक बनाएको छ। दक्षिण कोरियाको राजधानी सियोल उत्तर कोरियाको सिमानाबाट मात्र २०० किलोमिटरको दूरीमा छ। कुनै पनि सैन्य कारबाही भएमा दक्षिण कोरिया र जापानमा रहेका हजारौँ अमेरिकी सैनिक र सर्वसाधारणमाथि उत्तर कोरियाले तत्कालै परमाणु हमला गर्न सक्ने क्षमता राख्दछ। यही कारणले गर्दा अमेरिकाले उत्तर कोरियामाथि सिधा सैन्य हस्तक्षेप गर्न निकै सोच्नुपर्ने हुन्छ।
वासिङ्टनस्थित थिंक ट्यांककी एलेन किम भन्छिन्, "खामेनेईसँग परमाणु हतियार नभएकै कारण उनी कमजोर देखिए। किमले बुझेका छन् कि अमेरिकासँगको वार्ताले सत्ता टिकिरहने ग्यारेन्टी दिँदैन, बरु परमाणु हतियारले दिन्छ।"
यद्यपि, उत्तर कोरियाले अमेरिकासँगको वार्ताको ढोका भने पूरै बन्द गरेको छैन। तर, उसले आफ्नो परमाणु शक्तिलाई कुनै पनि मूल्यमा नत्याग्ने सन्देश इरानको वर्तमान अवस्थाबाट लिएको समाचारमा उल्लेख छ ।