२४ जेठ २०८३, आइतबार
आलेख

शक्तिशाली सरकारबाट ताजा शुरूआतको अपेक्षा

चैत ८, २०८२
काठमाडौं
शक्तिशाली सरकारबाट ताजा शुरूआतको अपेक्षा

हामीले थाहा पाएपछिको सबैभन्दा शक्तिशाली सरकार बन्दैछ । विजेता शक्तिको संरचना, उमेर समूह, विज्ञता र पृष्ठभूमिमा पनि विविधता छ । पत्रकारिता, शिक्षा, सार्वजनिक सेवा, कला, साहित्य, अर्थशास्त्र, कानून, व्यापार र राजनीति पृष्ठभूमिका मानिसहरू प्रतिनिधिसभामा रहनुले विविधता र समावेशी व्यवस्थापनमा पनि बैग्ले अर्थ राख्छ । सबैखाले वर्ग, भूगोल, क्षेत्र, सम्प्रदाय, विषय र विधाबाट प्रतिनिधित्व हुँदा सामाजिक लोकतन्त्रको आधार बन्छ । जनताका प्रतिनिधमूलक निकायमा समाजको अनुहार देखिनुपर्छ । भर्खरै सम्पन्न निर्वाचन यस अर्थमा चुनावभन्दा पर आन्दोलनकै रूप थियो । चुनावले नेपाली समाजको विम्ब देखाउन खोजेको छ ।

चुनाव सकिएपछि सरकार बन्ने प्रक्रिया शुरू भएको छ । चुनाव नेताहरूको परीक्षा थियो । परीक्षामा भावनाले जितेको छ । परिवर्तनको चाहना, लामो समयदेखि छेलिँदै गएको रूपान्तरणको अभीष्ट, संस्थापित पात्र र प्रवृत्तिप्रतिको आक्रोश तथा नवीन आकाङ्क्षाले धेरैले नसोचेको परिणाम देखिएको छ ।

अब चेतनाको परीक्षा, निष्ठा र सामर्थ्यको परीक्षा, शङ्का र सन्देहको परीक्षा शुरू भएको छ । लोकतन्त्रमा चुनावभन्दा पनि लोकतान्त्रिक मूल्य र जनआकाङ्क्षा अर्थवान हुन्छन् । चुनावपछिका दिनमा तिनैको परीक्षा शुरू हुन्छ, जुन विगतमा नेता जित्ने र जनता हार्नेमा देखियो ।

जनताका उर्लिएका र मौन प्रश्नहरू उत्तरको प्रतीक्षामा छन्, परीक्षामा छन् । अक्सर उत्तरहरू कार्यबाट दिइन्छन् र नतिजामा पुगेर टुङ्गिन्छन् । अक्षर र शब्दका उत्तरमा जनअपेक्षा मुखरित हुँदैनन् । एउटा प्रवृत्ति के पनि देखिँदै आएको छ भने शक्ति सधैँ अनुदारी हुन्छ, पद हेपालु । स्वार्थ समर्पण नगरेर शक्तिको शीर्षमा रहन सकिँदैन, न त्यो वैध नै हुन्छ, जो देखिँदै आएको छ ।

राजनीति अनुभव नचाहिने क्षेत्र होइन, तर लामो अनुभवले शक्तिको आग्रह जन्माउँछ भन्ने तथ्य पनि नेपालजस्ता राजनीतिक संस्कार नबसेका मुलुकहरूमा देखिएको छ । शुरूमा सङ्घर्ष गर्दा, जवानी उत्सर्ग गर्दा असल देखिएकाहरू शक्तिमा रमाउन थालेपछि भने पदको महत्त्व र जनआकाङ्क्षालाई भुल्दै गए ।

आफू पटकौं जनताका ट्रष्टी भएर गएपनि आफैँले गरेका कामप्रति कहिल्यै विवेचित भएनन् । जनताका बाध्यात्मक विकल्पको लाभ लिँदै आए । आफ्नै त्याग र बलिदानीलाई शक्तिको स्वादले बिटुल्याएकाले यसको खिलापमा जनता जुर्मुराएका हुन् । त्यसैले राजनीतिमा भर्जिनहरूको छुट्टै महत्त्व छ । अनुभव नभए पनि उत्साह हुन्छ, निष्ठा राख्नेहरू सामर्थ्य आर्जन गर्न सक्छन् । ताजा शुरूआत (फ्रेस स्टार्ट) गर्न सक्दछन् ।

के सबै कुराको ताजा शुरूआत गर्न सकिन्छ र भनिएला । उही प्रशासन, उही नीति, उही विधि र उही संरचना । यी गिभेन फ्याक्टरबाट नयाँ नतिजा खोज्ने काम ताजा शुरूआत हो, त्यसो गर्न सकिने कैयन दृष्टान्तहरू छन् । त्यो नीति निष्ठा, न्याय र निष्पक्षताको जगमा गर्न सकिन्छ, ठूलो प्रयत्न पनि चाहिँदैन, तर नैरन्तरिक निष्ठा र न्यायिक मन चाहिन्छ । बिटुलिएका राज्यका संरचनाहरूलाई शुद्धीकरण गरी राज्य नैतिक संस्था हो र यसले सधैँ असल मानिसहरूलाई खोज्छ भन्ने सिद्ध गरिदिए पुग्छ ।

तर, ताजा शुरूआत आत्तिएर वा अति आक्रामक छलाङ्मा गर्दा बुमराङ्गी हुन्छ । समय, सन्दर्भ र तत्परता सहितको शुरूआतले प्रणाली नभत्काइकन प्रणाली परिमार्जन गर्न सकिन्छ । परिस्थिति र सन्दर्भलाई नपक्डिई गरिएको कार्य राम्रो भएपनि प्रणालीले अन्तरबोध नगर्न सक्छ । त्यसैले ताजा शुरूवात परिपक्वतामा चाहिन्छ ।

इतिहास बनाउनेहरूले नराम्राको प्रशंसाबाट मख्खिनु हुन्न । असलहरू आलोचक हुन्छन्, तिनीहरू नजिक आउँदैनन्, तर तिनै इतिहास निर्माणका सच्चा साझेदार हुन् । यो वा त्यो नाममा नजिकिएर प्रशासक, व्यवसायी, पदाग्रही, अवसर लालसीहरू झुम्मिन्छन् । असल आरम्भलाई उनीहरूले थाहै नपाई कब्जामा लिन्छन्, परिवर्तनका कार्यसूचीलाई पाखा लगाइदिन्छन् ।

इतिहास बनाउनेहरूले नराम्राको प्रशंसाबाट मख्खिनु हुन्न । असलहरू आलोचक हुन्छन्, तिनीहरू नजिक आउँदैनन्, तर तिनै इतिहास निर्माणका सच्चा साझेदार हुन् । यो वा त्यो नाममा नजिकिएर प्रशासक, व्यवसायी, पदाग्रही, अवसर लालसीहरू झुम्मिन्छन् । असल आरम्भलाई उनीहरूले थाहै नपाई कब्जामा लिन्छन्, परिवर्तनका कार्यसूचीलाई पाखा लगाइदिन्छन् ।

सँधै प्रश्नमा रहनु, प्रश्नमा शालीन हुनु राजनेताका गुण हुन् । तर, शीघ्र प्रतिक्रिया राजनेताका लागि घातक हो, प्रतिक्रियाविहीनता पनि महाघातक  । अक्सर नेताहरू शक्तिमा पुगेपछि स्वार्थको बलयमा घेरिएर सामाजिक वास्तविकताबाट टाढिन्छन् । सर्वसाधारणका भावना उनीहरूसँग टाढिँदा समस्याले भेन्टिलेसन पाउँदैन । उनीहरूलाई जनभावना र जनताको पहूँचबाट टाढा पुर्‍याउने बलय शक्ति सत्ताको नजिक हुन्छ । जस्तो, पञ्चायतका बेलामा पञ्च–भारदारहरूको घेरा थियो । पछि स्वकीय–सल्लाहकारहरूको नाउमा बनेका घेरा थिए । ती यति शक्तिशाली थिए कि स्वयं मन्त्री, प्रधानमन्त्रीलाई आफ्ना विषयका निर्णयलाई पनि रोकिदिन्थे, मोडिदिन्थे, पन्छ्याइदिन्थे; आजभोलि भनिने डीपस्टेट जस्तै । फेसबुकलगायत सामाजिक सञ्जाल रोक्नु, ललिता निवास प्रकरणमा कार्वाही गर्न नदिनु, बजेट कार्यक्रम तीन–चार जिल्लामा खन्याउनु, नियुक्ति र जिम्मेवारी विनियोजनमा के–केको सौदाबाजी गर्नु, कर्मचारीलाई क्राइटेरियाबाट पर पुर्‍याउनु आदि त्यसैका परिणाम थिए । बराक ओबामाका आईटी सल्लाहकारले आविस्कारमुखी सरकार (इनोभेटिभ गभर्न्मेन्ट) को बाटो देखाए, हामीकहाँ सामिाजिक सञ्जाललाई पनि रोकिदिए । यस्ता कृत्रिम घेराले मन्त्री–प्रधानमन्त्रीलाई दम्भी र सुतुर्मुर्गी बनाइदिन्छ ।

असल आरम्भ भनौं कि ताजा शुरूआतका अर्का अवरोधक स्वकीयहरू हुन्, उनीहरूले मालिकका मन जितेका हुन्छन् । उनीहरू राजनैतिक कार्यकारीका समय व्यवस्थापक हुन्, तर विपरीतमा स्वार्थ संयोजक बन्ने गरेका छन् । कार्यालयमा उनीहरूले स्थान पाउनु अनपेक्षित सक्रियताले स्थान पाउनु हो । सिंहदरबारमा अफिसले उपलब्ध गराएको निजी सचिव छ, ऊ जवाफदेहिताको लूपमा पनि छ । जवाफदेहिताको संरेखनमा नरहेका स्वकीयहरू साथ एक्स्ट्रा लिगल स्वार्थहरू पनि प्रवेश हुन्छन् । अप्रियजस्तो लाग्ने यो विषयले राजनैतिक कार्यकारीको प्रतिष्ठा र लोकतन्त्रको मूल्यमाथि सिधै धावा बोल्न पुग्छ । हिसाब बुझाउनु नपर्नेहरू संस्था र पदाधिकारीको प्रतिष्ठामा कहिले संवेदनशील बन्छन र ?

विजेता शक्तिले मूल्य खोज्दैन, न प्रतिशोध साँध्छ । ज्याक्सोनियन परिपाटीमा विजेताका पक्षमा इनाम खोज्ने कामले अमेरिकामा स्पोइल सिस्टम विकास गर्‍यो । ‘भिक्टर विलङ्स दी प्राइज’ सिद्धान्तले महत्त्वपूर्ण पदमा आफ्नै मान्छेलाई नियुक्ति गरी राष्ट्रपतिलाई शक्तिशाली बनाउन खोजिएपनि त्यो बुमराङ्गी बन्न पुग्यो । र, लामो समयसम्म प्रशासन बेथितिको कब्जामा गयो । राजनीतिकर्मीका लागि कर्म, निष्ठा, समर्पण र निष्पक्षताचाहिँ इनाम हो । इनाम इतिहासले दिन्छ, ‘दल होइन, अब्बल’, ‘जान्नेलाई छान्ने’ भनिएको त्यही निष्ठा र नैतिकताका लागि हो । पटकौं प्रधानमन्त्री, दर्जानौंपटक मन्त्री, माननीय भएकाहरूले इतिहासको इनाम पाए र ? विजेताको पक्षमा इनाम दिने परिणामले हो । नेल्सन मण्डेला दाहोर्‍याएर राष्ट्रपति बने र ? तर, ज्याकुब जुमा र थावो मवेकीभन्दा उनलाई कैयन गुणा इनाम दिएको छ । अवसर बारम्बार पाएर पनि प्रश्न नउठेका पात्र भारतीय पूर्व प्रधानमन्त्री मनमोहन सिंह मात्र हुन्, उनीचाहिँ यस मानेमा अपवाद हुन् । उनले जेजति पद पाए पनि उनलाई अवसरवादी भनिएन, आधुनिक भारत निर्माणमा उनले गरेको योगदान धेरै ठूलो छ । तर, बहुधा व्यक्तिहरू विजयको उन्मादमा शक्तिहीन/कमजोरमाथि शासन गर्न पुग्छन् । विजयपछिका थुप्रै कारण हुन्छन्, खास विजेता मात्र त्यसको कारण होइन । विजय शक्ति कार्यसम्पादनको बल वा जिम्मेवारीको भारी हो, अवसर र इनाम होइन । त्यसो हुँदो हो त पटकौं विजयी भएकाहरूबाट समाजले थुप्रै पाइसक्थ्यो ।

एउटा सामान्य विषय के भुल्नुहुन्न भने सेलिब्रेटीहरू समाजका गहना हुन्, आत्मा होइनन् । पद, त्यो पनि विधि बसाल्ने र कार्यकारी जिम्मेवारीमा रहनेहरू कार्यउत्साहमा रहनु पर्छ, औलादको सेलिब्रेसनमा रहनुहुन्न । त्यसो भए सर्वसाधारण र उनीहरू बीच सीमारेखा स्थापित हुन्छ ।

सेक्रेटसले भनेका थिए– स्वयं परीक्षित नभैकन शुद्धता पाइँदैन । उनी आत्मिक शुद्धतालाई शासनको पहिलो शर्त मान्थे । आत्मिक शुद्धीकरण नभए शासन शासना बन्छ । शक्ति स्वयं परीक्षीत हुनु भनेको आफैँ रुपान्तरणमा पुग्नु हो ।

संघर्षका रूपहरू धेरै छन् । भर्खरै सकिएको चुनाव मत जित्ने संघर्ष थियो । अब मतका भावनालाई जनताका आँसु पुछ्ने स्थानमा पुर्‍याउने काम अर्को संघर्ष हो । परिवर्तनको मौन प्रतिरोधी प्रशासनसँग अर्को संघर्ष बाँकी छ । त्यो संघर्ष आसेपासेसँग पनि गर्नुछ, कोठरी–क्रोनीसँग गर्नुपर्ने छ, आफन्तसँग गर्नुपर्ने छ । त्यो संघर्ष आफ्ना हुन आउने, स्वाँगिला बन्न आउनेसँग गर्नुपर्नेछ । प्रणाली बनाउनका लागि गर्नुपर्ने छ । प्रणाली बचाउनका लागि गर्नुपर्ने छ । योजना माग्न आउनेका लागि गर्नुपर्नेछ, योजना बेच्न आउनेसँग गर्नुपर्नेछ । बजार फौबन्जारीकरण गर्नेसँग गर्नुपर्ने छ, नीति नबन्दै नीतिलाभ हड्प्ने चाख समूहसँग गर्नुपर्ने छ । शिक्षा सुधार्न गर्नुपर्ने छ । कुटनीतिक क्षमताका लागि गर्नुपर्ने छ । नेपालीहरूको बानी छिटै उत्साही हुने, छिटै भुल्ने र छिटै निराश हुने छ । आशा जगाउन पनि संघर्ष गर्नुपर्ने छ । बेथितिमा रमाएकाहरूसँग पनि संघर्ष गर्नुपर्ने छ । सामाजिक आकांक्षाहरू ह्वात्तै बढाउने काम राजनीतिले गर्दै आएको छ, तीनलाई यथोचित सम्बोधन गर्न नसके निराशा र आक्रोश मडारिने छ । यी सबका लागि गरिने संघर्ष चानचुने होइन, चुनाव जितेभन्दा पनि ठूलो र अविश्रान्त गर्नुपर्ने खालको छ । यसका लागि जनादेशको जग, स्पष्ट दृष्टिकोण र निष्ठा चाहिन्छ । निष्ठाले दिने नैतिक बल निकै शक्तिशाली र अर्थवान हुन्छ । यसैको जगमा ताजा शुरूआत गर्न सकिन्छ । (@mainaligopi)

salt training

कमेन्ट गर्नुहोस्