नेपालकै पुरानोमध्येको एक दल नेपाली कांग्रेसमा पुनः अन्तरकलह शुरू भएको छ । पार्टी आँखाले देख्दा एकै देखिए पनि व्यवहार र गतिविधिले दुई भागमा विभाजित भइसकेको छ ।
२७ देखि ३० पुससम्म भएको विशेष महाधिवेशनले गगनकुमार थापालाई सभापति बनाएको थियो । तत्कालीन महामन्त्री थापा विश्वप्रकाश शर्मासहितका नेताहरूको सहयोगमा विशेष महाधिवेशन गरेर नेतृत्वमा स्थापित भएका थिए ।
त्यसबखत तत्कालीन सभापति शेरबहादुर देउवा र उनको समूह नमज्जाले किनारामा पुगेको थियो । तत्कालै चुनावमा होमिनुपरेकाले केही समय सतहमा नदेखिएको कांग्रेस विवाद पछिल्लो समय जोडतोडले प्रकट हुन थालेको छ ।
यतिबेला कांग्रेस आधिकारिकताको विवाद सर्वोच्च अदालतमा विचाराधीन छ ।
निर्वाचन आयोगले विशेष महाधिवेशन र त्यसबाट चुनिएको नेतृत्वलाई आधिकारिकता दिएपश्चात् असन्तुष्ट बनेको शेरबहादुर देउवा पक्ष अदालत पुगेको हो, जसलाई नेता शेखर कोइराला समूहले पनि साथ दिएको छ ।
भलै‚ ६ माघमा प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउन नेताहरू शेखर कोइराला‚ विमलेन्द्र निधि, एनपी साउद‚ महेन्द्र यादव लगायतले गगनको हस्ताक्षरमा टिकट लिएका थिए ।
उनकै हस्ताक्षरको टिकटमा निर्वाचन लडे पनि ती नेताले गगनलाई सभापति स्वीकारेको देखिँदैन ।
शेरबहादुर देउवा‚ पूर्णबहादुर खड्का लगायतका नेताहरूले त आफैं रिट निवेदक भएकाले पनि अहिलेको कार्यसमितिलाई स्वीकार गरेकै छैनन् । त्यसैले यी दुई समूहबीच विवाद निकै पेचिलो बनेको हो ।
माघ ६ बाट २१ फागुनसम्म निर्वाचनको कार्यक्रमले गर्दा ठूलो विवाद सतहमा देखिएको थिएन । तर‚ निराशाजनक चुनावी नतिजासहित कांग्रेस ३८ सिटमा खुम्चिएपश्चात् विशेष महाधिवेशनबाट बिदाइ भएको देउवा-कोइराला समूह जुर्मुराएको हो ।
आइतबार बिहानमात्र धुम्बाराहीमा बैठक बसेर यो समूहले विशेष महाधिवेशनअघिकै केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको छ ।
बैठकले कारबाही गरिएका तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई भने नबोलाउने निर्णय गरेको छ ।
सो समूहका नेता मीन विश्वकर्माले लोकान्तरसँग कुरा गर्दै बैठकको तिथिमिति चाँडै टुंगो लाग्ने बताए । यस्तै, यो समूहले संसदीय दलको नेतामा पनि उम्मेदवार उठाउने र सर्वसम्मत हुन नदिने निर्णय गरेको छ । समूहका अर्का एक नेताले दिएको जानकारी अनुसार अदालतले जे निर्णय दिए पनि पार्टीको १५ औँ महाधिवेशनलाई लक्षित गरेर समूह अघि बढेको छ ।
एक ढिक्का भएर जान सके पुनः आफूहरू नै नेतृत्वमा आउने गरी तयारी भइरहेको छ । शेखर वा पूर्णबहादुरमध्ये एकलाई नेता मानेर महाधिवेशनमा लाग्ने तयारीमा यो समूह रहेको ती नेताले दाबी गरे ।
यता‚ शुक्रबारबाट बसेको कांग्रेस केन्द्रीय समिति बैठक सभापति गगन थापाको राजीनामा कसरी रोक्ने भन्ने विषयमै बढी केन्द्रित रह्यो ।
उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा बसेको बैठकमा चुनावी हारको प्रारम्भिक समीक्षा पनि भएको छ । गगनले तत्काल नेतृत्व छाडे पुरानो संस्थापन पक्ष हाबी हुने, पार्टी झन् कमजोर हुने लगायतका तर्क केन्द्रीय सदस्यहरूले राखेका छन् ।
प्रवक्ता देवराज चालिसेका अनुसार हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा कम्तीमा २१ वटा क्षेत्रमा अन्तर्घातका कारण पराजय भोग्नुपरेको निष्कर्ष निस्किएको छ । चालिसेले ५ देखि ३ हजारभन्दा कम मतान्तरले हारिएका क्षेत्रहरूमा मुख्यतः आन्तरिक कारण जिम्मेवार रहेको देखिएको जानकारी दिए ।
यसको सोझो अर्थ विशेष महाधिवेशन नरुचाएका र आफूहरूले विधान अनुसार नै हटाएको पुरानो संस्थापन समूहको असहयोगका कारण चुनाव हारिएको निष्कर्ष बैठकले निकालेको छ ।
यस अर्थ अहिले कांग्रेसभित्र केही परिदृश्य देखिएको छ
पहिलो - विशेष महाधिवेशनबाट चुनिएको नेतृत्व भर्सेज पुरानो नेतृत्वको लडाईं ।
दोस्रो - समानान्तर गतिविधि गर्ने । पार्टी विभाजनसम्मकै सन्देश दिने ।
तेस्रो - एकले अर्को समूहलाई कमजोर बनाउन जुनसुकै हदसम्म गिर्न तयार हुने ।
चौथो – पार्टी कमजोर भएको दोष अर्को समूहलाई थोपरेर दुवै समूह आफ्नो जिम्मेवारीबाट पाखा लाग्ने ।
पाँचौं – संस्थापनले आफू बलियो देखिन सभापतिको राजीनामा फिर्ता गराउने । असन्तुष्टले भने वर्तमान सभापतिलाई असक्षम करार गर्ने ।
अस्तित्वको लडाईंले पार्टीभित्र समानान्तर गतिविधि गर्दा कतै कांग्रेस विभाजित हुने त हैन भन्नेसम्मको प्रश्न उठ्न थालेको छ ।
एकअर्काको अनुहारमा कालो पोत्ने होडमा पार्टीलाई रसातालमा पुर्याउने भय कांग्रेस वृत्तमा देखिन्छ । कांग्रेसीहरूको आफ्नै गतिविधिका कारण असहज परिस्थिति सिर्जना भइरहेको स्थिति छ ।
त्यसैले पार्टीलाई एक राख्ने भए अदालतको आदेश पर्खँदै चाँडोभन्दा चाँडो नियमित महाधिवेशनको कार्यतालिका ल्याएर ‘पार्टी एकतालाई सम्बोधन गर्ने गरी १५ औँ महाधिवेशन’ गर्नुको विकल्प देखिँदैन ।
हेर्नुहोस्, भिडियो :