११ साउन २०८३, सोमबार
चलखेलको चर्चा

५७ जनाले प्रेम आलेसँग पैसा लिएर अन्तर्घात गरेको उम्मेदवारको दाबीले कांग्रेसमा खैलाबैला

नरनारायण शाहको आरोपमा के भन्छन् प्रेम आले ?
चैत ९, २०८२
काठमाडौं

नेपाली कांग्रेसका ५७ जनाले पैसा खाएको भनेर नेकपा उम्मेदवार प्रेम आलेले आफूलाई सूची दिएको कांग्रेस उम्मेदवारको दाबीले कांग्रेसमा तरंग आएको छ ।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट कैलाली-५ का उम्मेदवार नरनारायण शाह ‘मनु’ले आलेले आफूलाई ५७ जनाको सूची दिएको बताएका थिए ।

‘चुनावमा तेस्रो भएका उम्मेदवार उहाँ स्वयंले आएर मलाई लिस्ट दिनुभयो । तपाईंप्रति मेरो सद्‌भाव छ, तपाईंका यी मान्छेले आर्थिक सहयोग लिएका हुन्, आइन्दा सतर्क रहनु भनेर भन्नु भएको थियो । पैसा खाने ५७ जना पदमा छन्’, मनुले कैलालीको धनगढीमा समर्पण मिडियालाई दिएको एक अन्तर्वार्तामा भनेका छन् ।

विगतमा आरजु देउवा समेत उम्मेदवार बनेको कैलाली ५ बाट रास्वपाका आनन्दबहादुर चन्द विजयी भएका थिए । कांग्रेस उम्मेदवार शाह दोस्रो र नेकपाका आले तेस्रो भएका थिए ।

पार्टीभित्रको अन्तर्घातले २१ स्थानमा चुनाव हारिएको निष्कर्ष कांग्रेसले निकालेको छ । 

यता, प्रेम आलेले पनि यस विषयमा प्रतिक्रिया दिएका छन् । लोकान्तरसँग कुरा गर्दै आलेले शाहको अभिव्यक्ति भ्रामक र कपोकल्पित भएको दाबी गरे । 

उनले यस विषयमा आफूले शाहसँग कुरा गरिसकेको र आवश्यक परे जुनसुकै तहमा समेत पुगेर उपचार खोज्ने बताए । 

‘मैले पैसा दिएको हो भने प्रमाण देखाउनुपर्‍यो होला नि,’ आलेले लोकान्तरसँग भने, ‘यस विषयमा उहाँसँग कुरा गरिसकेँ । माफी माग्छु भन्नुभएको छ । खण्डन निकाल्छु भन्नुभएको छ । उहाँले त्यसो गर्नुभएन भने मैले कानूनी उपचार खोज्नुपर्ने हुन्छ ।’

 

salt training

कमेन्ट गर्नुहोस्